जेनजी आन्दोलनपछि भड्किएको शान्ति सुव्यवस्था, अनुशासनहिनता, लापरवाही र बढ्दो आपराधिक क्रियाकलापबारे बुधबार दमकमा गम्भिर छलफल भएको छ ।

दमक/ नगरमा शान्ति सुव्यवस्थाका लागि प्रशासन, सुरक्षाकर्मीलगायत सरोकारवाला संघसंस्था बीच दमक नगरपालिकाको हलमा एक छलफलको आयोजना गरिएको थियो । स्थानीय तहको समन्वय र सहकार्यमा लागुऔषध नियन्त्रण सम्बन्धी चेतनामूलक कार्यक्रम नामाकरण गरिएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधि, सामाजिक क्षेत्रका अगुवा तथा संघसंस्थाका प्रतिनिधिसमतेको सहभागिता रहेको छलफलमा जनतालाई सुरक्षाको अनुभूति दिन अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न आ–आफ्नो क्षेत्रबाट सक्रिय रहने निस्कर्ष निकालिएको छ ।
दमक नगरपालिकाभित्र देखिएका आपराधिक क्रियाकलाप नियन्त्रणमा सुरक्षा संयन्त्र साथमा रहने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलालले बताएका छन् ।
झापा जिल्ला प्रशासन कार्यालयको आयोजना तथा दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा बोल्दै प्रजिअ गेलालले शान्ति सुरक्षाप्रतिको जनअपेक्षालाई जिल्लाका सबै सरकारी, निजी, यद्यमी, व्यवसायी, नागरिक समाज, संघसंस्थाको समन्वय र सहकार्यमा अगाडि बढाउँदा प्रभावकारी र नतिजामुखी बन्ने औंल्याए ।
उनले आन्दोलनको पृष्ठभूमि हेर्दा देखिएका कमीकमजोरी सच्याएर आम नागरिकलाई सेवा प्रवाहमा मितव्यीयता, जिम्मेवारी, जवाफदेहिताका साथ अगाडि बढ्न आग्रह पनि गरे । अब पनि नागरिकले कर्मचारीबाट हेपिएको, ठगिएको जस्ता हिनताबोध र निराशजनक अवस्था बोक्ने वातावरण कहिँ कसैबाट हुन नहुने र सुशासनयुक्त सेवा प्रवाहमा भ्रष्टाचारमुक्त बनाउन पनि गेलालको आग्रह थियो । उनले सम्बन्धित निकायका प्रमुखहरुलाई निर्देशन दिँदै सेवा प्रवाहमा सरल, सहज र जवाफदेही ढंगबाट अगाडि बढाउन आग्रह गरे ।
नागरिक ठोक्किने पहिलो खुट्किलो वडा कार्यालय भएको हुनाले त्यहाँबाट दिइने सेवा र सिफारिस हुने हुँदा कामको विषयमा प्रशिक्षित गराएर पठाउन समेत आग्रह गरे ।
दमकको खोलाजन्य सागम्री गिटी, वालुवामा भएको अनाधिकृत चोरी निकासी (उत्खनन) लाई व्यवस्थित गर्न आवश्यक रहेको र स्थानीय सरकारकै क्षेत्राधिकारभित्र रहेकोले वैधानिक रुपमा प्रक्रियागत रुपमा ठेक्का लगाउने सन्दर्भमा प्रशासनको आवश्यकता परेको खण्डमा दमककै साथमा प्रहरी प्रशासन रहेको उल्लेख गरे ।
विभिन्न पालिकाका वडाहरुमा अझै पनि शान्ति सुरक्षाको मजबुत हुन नसकेको तर्फ इंगित गर्दै उनले स्रोत साधनको आभाव भएकोले केही समय लाग्ने बताए । तथापि जिल्लाको स्रोत र साधनको प्रयोग गरेर पनि आवश्यक स्थानमा प्रहरी चौकी स्थापनाका निम्ति सहजीकरण गर्ने बताए । दमकको वडा नं. ३ जहाँ भुटानी शरणार्थीदेखि हात्तीको आक्रमणसम्मका समस्या झेलेकोमा ध्यानाकर्षण भएको र त्यसलाई समयमै सम्बोधन हुने बताए । उनले लागुऔषधका विषयमा दमक नगरपालिकाले गरेका कार्यको प्रशंसा गर्दै टोल विकास संस्थाका पदाधिकारीहरुले समेत उक्त समस्यालाई जिम्मेवार ढंगले लिएकोमा धन्यवाद दिँदै लागुऔषधको जड परिवार र समाज नै रहेको हुँदा त्यहीबाट यसको निराकरण गर्न सहज हुने बताए ।
सो कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नगरप्रमुख थापाले भदौ २३ र २४ पछिको परिस्थितिलाई सम्झेर मात्र नहुने भएकाले समग्र नगरपालिका भित्रका तमाम समस्या निराकरणमा कसरी अगाडि बढ्ने भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए । उनले पूर्वका नगरपालिकामध्ये पहिलो दमकमा २३ करोडको क्षतिभएको भएका २ वटै भवन प्रयोग गर्न नमिल्ने बनेको, सबै सवारी साधन आगजनी भएको एम्बलुन्स र दमकसमेत नछोडिएको प्रसँग उल्लेख गर्दै अब यहि विषयलाई लिएर नागरिकलाई सेवा विहिन बनाउने छुट पनि नभएको उल्लेख गरे । उनले यसका बाबजुद २ महिनाको अन्तरालमा व्यवस्थापन गरेर सेवा प्रवाहलाई अगाडि बढाइएको समेत उल्लेख गरे । समस्यासँग जुध्न सरोकारवाला सबैको सहमति, सहकार्य र एकताबाट मात्रै सम्भव हुने देखिएकाले पनि यो कार्यक्रम राख्नुपरेको बताए ।
थापाले नगरपालिकाको आयस्रोतको रुपमा रहेको खोलामा गुण्डागर्दी शैलीमा अनाधिकृत रुपमा खोलाजन्य सामग्री उत्खनन भईरहेकोतर्फ ध्यानाकर्षण गराएका थिए । उनले दमक नगरपालिकाले निर्णय गरेर लागु गरिएका कतिपय निर्णय कार्यान्वयनमा समेत सुरक्षाका कारणले नसकिएको एकतार्फी पार्किङ, तरकारी बजार व्यवस्थापनमा अहिले कठिनाई भईरहेको र कोही कसैले कसैलाई नटेर्ने अवस्था सिर्जना भएकोले पनि प्रशासनको सहयोग आवश्यक रहेको उल्लेख गरे ।
प्रहरी नभएको अवस्थामा नागरिक तहबाट सुरक्षा प्रदान गरिएको तर अहिले इलाका प्रहरी कार्यालय पनि पुर्नस्थापित भइसकेको अवस्थामा पनि विभिन्न वडाहरुमा चोरीचकारी, दूव्र्यसनीको जगजगी भएको उल्लेख गरे । जेनज आन्दोलनपछिको पहिलो प्रयास सुरक्षा निकाय पुनस्र्थापना गर्नु थियो त्यो भइसक्दा पनि शान्ति सुरक्षामा प्रभावकारी कार्यान्यन हुन नसकेको उनले बताए । थापाले अब हिजोको सिकाईबाट सम्बद्ध सबै कार्यालयको सेवा प्रवाहमा निकै सुझबुझका साथ सेवाग्राहीसँग प्रस्तुत हुनुपर्ने पनि बताए ।
यसैगरी उपप्रमुख रेगिना भट्टराई प्रसाईले स्वागत मन्तव्य राख्दै दमक क्षेत्रभित्रका विभिन्न सरकारी निकायहरुमा नयाँ व्यक्तिहरु जिम्मेवारीमा आएकाले पनि सम्बद्ध सबैसँग एकअकापसमा परिचय, समन्वय र सहकार्यको खाँचो रहेको औंल्याईन । उनले त्यसै पनि झापा जिल्ला अन्य जिल्ला भन्दा फरक दृष्टिकोणबाट हेरिने भएकाले पनि जेनजी आन्दोलनपछि परिस्थितिमा सम्हलिएर जिम्मेवार, जवाफदेही ढंगबाट अगाडि जानुपर्ने दायित्व रहेको पनि उल्लेख गरिन् ।
उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले बजारमा शान्ति सुरक्षाको अभावमा व्यवसायीहरुलाई समस्या भएको बताए । उनले सुरक्षाको प्रत्याभुत नभएकै कारणले राती १० बजेसम्म खोल्नुपर्ने पसलहरु ५–६ बजे नै बन्द गर्न बाध्य भईरहेको उल्लेख गरे । यसैगरी उनले एसियन हाइवे निर्माणमा निर्माण कम्पनीले समेत सुरक्षाको प्रत्याभुत खोजिरहेको र त्यो नहुँदा निर्माण कार्यमा समेत सुस्तता आएको उल्लेख गरे ।
झापा जिल्ला प्रहरी प्रमुख राजन लिम्बुले लागुऔषध कारोबारी तथा दूव्र्यसनीहरुप्रति प्रहरी निर्मम तरिकाले लागेको बताए । उनले पुनस्र्थापनाका निम्ति आवश्यक पूर्वाधारको आभाव रहेको उल्लेख गर्दै सुविधा सम्पन्न र आधुनिक पूर्वाधार निर्माण गर्न आवश्यक रहेको औल्याए । उनले पुनस्र्थापनापछि पनि उनीहरुमाथि चुनौति रहेको उल्लेख गरे उनले भने– परिवार र समाजले उनीहरुलाई हेर्ने र गर्ने व्यवहारमा अन्य समाज हुनुपर्ने पनि बताए । यो बाहेकका अन्य अपराधका घटनामा समेत प्रहरीसँगको समन्वयमा आएका तदारुकताका साथ अगाडि बढ्ने प्रतिबद्धता उनले जनाए ।
सो कार्यक्रममा लागुऔषध दूव्र्यसनका विषयमा स्लाईड समेत प्रस्तुत गरिएको थियो । दमक इलाका प्रहरी कार्यालयका प्रमुख किशोर लम्साल दिएको प्रस्तुतिमा लागुऔषध दूव्र्यसनमा काठमाडौंपछिको झापा र काँकडभिट्टा पछिको दमक अखडा बनेको उल्लेख गरियो । सो प्रस्तुतिका क्रममा लागुऔषध दूव्र्यसनीका विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको भएता पनि जबसम्म टोल विकास संस्थाले आफ्नो टोलमा रहेका घरपरिवार र त्यसभित्रका लागुऔषध प्रयोगकर्ताको लगत निकाल्दैन तबसम्म यसको न्युनिकरण हुन नसक्ने औंल्याइएको छ । घरपरिवार र टोलविकास संस्थाको समन्वयबाट प्रहरी सक्रियता बढाएमा यसलाई न्युनिकरण गर्न सहज हुने पनि बताइयो । दमक नगरपालिकाले भदौ २३ र २४ अगाडि यो विषयमा देखाएको दतारुकताले निकै प्रभावकारी भईरहेको तर अहिले पुनः उहि रुप धारणा गरेको उल्लेख गरियो ।
जेनजी आन्दोलनपछि पनि लागुऔषध दुव्र्यसनीका क्षेत्रमा काम भईरहेको ५५ जनालाई सुधारगृहमा पठाएको र ४८ जनालाई कारवाही गरिएको दमक प्रहरी प्रमुख लम्सालले बताए । लागुऔषध सुरुमा ढाकछोप गर्ने, इज्जतको डर मान्ने र अन्तिम चरणमा पुगेपछि थाहा दिने प्रवृत्ति गलत रहेको उल्लेख गरे । उनले अहिले गाँजा निकै कम भएको तर ब्राउन सुगर बढी प्रयोगमा आएको तथ्याङ्क समेत प्रस्तुत गरे । उनले बाट लागुऔषध दूव्र्यसनी १४ जनालाई मुद्दा चलाइएको र ३८ जना प्रतिवादी रहेको उल्लेख गरे ।
कार्यक्रममा संविधानसभा सदस्य महेन्द्रा सुब्बा, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वरिष्ठ प्रशासकीय अधिकृत यज्ञराज निरौला, रोमनाथ ओली, शेरबहादुर भट्टराई, गोपाल गुरागाई, ढुण्डीराज भण्डारी, रवि केसी, राजु खड्का, देउकुमार लिम्बु, विभिन्न सुरक्षा निकायका प्रमुखहरु, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरु, दमक नगरपालिकाका विभिन्न शाखाका प्रमुख, कर्मचारी, विभिन्न अस्पतालका प्रतिनिधिहरु, सञ्चारकर्मीलगायतको उपस्थिति सो कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रम योजना शाखाका प्रमुख केशव प्रसाद प्रसाईले सञ्चालन गरेका थिए ।