राजनीति ! राजनीति !! राजनीति !!! उफ ! अब त अति भो है । सुन्दापनि लाज लाग्ने, गुन्दापनि लाज लाग्ने । राजनीतिको यो गोलचक्रको डामाडोल अवस्था हेर्दा हामीलाई लाजै लागेर आउँछ । नलागोस पनि कसरी ? जहाँपनि जतापनि लाजै लजाउन थालेको छ । नसुनौ भन्दा सुन्नैपर्ने नबोलौ न भन्दा बोल्नैपर्ने यो कस्तो बिडम्बना ? हामी नेपालीले यो सोचेका थिएनौ कि नेपाली राजनीतिले यो बिकराल अवस्था लिन्छ भनेर । ती हाम्रा सहिदका परिवारले यो देखेका थिएनन कि नेपालमा राजनीति खिचातानी बढदै किन गइरहेको छ र यसको अबको समाधान के हो त ? समाधान, खोज अनुसन्धान हामीमै छ र निकास आफैले दिने हो तर निकासबाट फुत्कन हामी आफै भीडभाडमा अल्मलिदैछौ, बेफ्वाकमा, बिनासित्तिमा एकअर्कालाई भाडदैछौ । हामीले आफैलाइ चिन्न सकेनौ, नियाल्न सकेनौ । हामी अरुकै पछिपछि दगुर्दैछौ कि हामीले गन्तव्य कहाँ गएर टुङ्गिने हो ? त्योसम्म अहिलेसम्म बुझेका छैनौ । हतार – हतारमा गन्तव्य खोज्दा बाटो बिराएका छौँ ।
हामीले जीवनमा के भोगेनौ ? के देखेनौ ? के बिराएनौ ? आज जानिजानी पछुताउनु परेको छ । हामीलाई कसैले अहिलेपनि नचाउदैछ, फनफनी घुमाउदैछ । मादल, बासुरी, मुर्चुङ्गा, बिनायो, सारङ्गीको धुनमा हामीलाई हाम्रै नेताहरूले नचाएर फाइदा उठाउदा सम्म उनीहरूको नियतमाथि प्रश्न चिन्ह खडा गर्दैनौ, हामी । किनकि तपाईं हामीलाई वादको भुत चढेको छ । यति चढेको छ कि हामी अन्धभक्त बनेका छौँ । कसैको सुसारे भएका छौँ, चम्चे, हुक्के, झोले भएका छौँ । आफ्ना नेताहरूले कुनै नराम्रो घटना घटाए भने ढाकछोप गर्छौ । सामाजिक संजालमा अनर्गल प्रचारवाजी र टीकाटिप्पणी गर्छौ, किन ? भोलि त्यही ब्यक्ति, समाज, सरोकारवाला निकाय हामीलाई चाहिन्छ, चाहिन्छ । यो सम्म हामी बुझ्दै बुझ्दैनौ । राजनीति गर्नेहरूले गरुन हामीलाई मतलब छैन तर राजनीतिका नाममा अनेकन तिकडम अप्नाउनु हुन्न । जालझेल षड्यन्त्र, खिचातानी भने गर्नै हुन्न । आज यो अवस्था आएको छ कि नेपाली राजनीतिमा इमान, जमान सब लिलाम भए । दलाली गर्नेहरुको भीड बढेको छ, बिचौलियाहरुको भीड राजनीति दलहरुले सृजना गरेका हुन । न्याय हराउन, बिथोल्न उनीहरूलेनै सिकाएका हुन । चुनावी मैदानमा धनका पछाडि कुदाउन, रकम बाढ्न र लिन उनीहरूलेनै सिकाएका हुन । आन्दोलन, तोडफोड, आगजनी गर्न उनीहरूले सिकाएकै हुन । जीवनभर आफ्ना कार्यकर्तालाई कहिलेपनि आदर्शको पाठ सिकाउन नेता र तिनका नेतृत्व अघि लागेको देखिन्न । कसरी आफ्नो पकडमा पार्ने, अरु दलहरुबाट आएकाहरुलाइ पार्टी प्रवेश गराउने ध्याउन्न बाहेक अरु केही काम गर्न सकेको देखिन्न । न पार्टीभित्र जनमतको समीक्षा छ न कोही शुद्धीकरणमा आएका छन । बाचुन्जेल एकै ब्यक्ति जो “घरले जाजा र बनले आइज आइज” भन्ने पिण्डरोगीहरुको वर्चस्व रहिरहेको हुनाले कुनैपनि पार्टीले युवा नेतृत्व निर्माण गर्न सकेका छैनन । आखिर किन बयोबृद्द नेतामात्रै सभापति र अध्यक्ष भै रहन्छन त सबै पार्टीमा । उनीहरूको विरासत तोड्नका निम्ति सम्पूर्ण युवाशक्ति एकजुट हुन सकेनन, प्यानल–प्यानलका झुण्ड मुसुण्डहरुको समूह सक्रिय रहे, त्यो क्रम अहिलेपनि जारी छ । अब त यो दृश्य अनि परिदृश्य हेर्दा हिजोमात्रै जन्मिएको नयाँ पुस्ताहरुले इतिहास, सामाजिक बिषयमा पुराना राजनीति र नयाँ परिस्थितिको अवस्था बिचरण गरेरै होला गत भाद्र २३ र २४ गते जेन – जीहरुको अकल्पनीय आन्दोलन पछिको नयाँ राजनीतिक मोडबाट बनेको जेन – जीहरुले बनाएको यो सरकारको मोडालिटि हेर्दा लाग्छ ।
नेपाली राजनीतिमा अझैपनि कठिन मोड नआउला भन्न सकिने अवस्था भने रहेन । यो घामझै छर्लङ्ग छ , यसलाई कसैले रोक्न र छेक्न सक्ने अवस्था रहेन । बर्तमान सरकारबाट तमाम नेपालीहरुले आशा गरेकै थिए त्यो निरासामा बदलिएको छ । सुशीला कार्की नेतृत्वले उल्लेखनीय काम गर्न सकेन, आज । आगामी फागुन २१ गते चुनाव गराउने माइन्डेट बोकेको यो सरकारमा अहिले उथलपुथल देखिन थालेको छ । आन्दोलित हिजोका जेन – जीहरु समेत खुसी भएनन, यो सरकारसङ्ग । योसम्म बुझ्दा यतिबेला – राजनीति हराएको छ, मौन बसेको छ, हत्या, आतंकले सीमा नाघेको छ । यहाँ त केवल लोकप्रियतावाद, अतिवाद, गुटनीति, शङका, गालीगलौज, घृणा, मनोमानी, आरोप – प्रत्यारोप , नैराश्यता आदिआदि मात्रै जन्मिदै गएको बेला हो, यो । हामीले आफैले – आफैलाइ प्रश्न गर्न थाल्यौ भने मात्र छुट्टयाउन सक्छौं कि कहाँ राजनीति छ कहाँ छैन ? राजनीतिलाई द्वन्द ब्यबस्थापन, समस्या समाधान र बहुविध पात्रको सह– अस्तित्व खोजिको रूपमा परिभाषित गर्न सबै दलहरुको सह– कार्य हुनुपर्ने हो त्यो सम्म हुन सकेन अहिले । आज जताततै ÷ जतासुकै राजनीतिनै राजनीतिले गाजेको छ । राजनीतिले नगाजेको र नछोएको क्षेत्र कुनैपनि रहेन । तपाईं हामी घरदेखि बाहिर जुनसुकै क्षेत्रमा जाउ त्यहाँ राजनीति नलागेको कुनै क्षेत्र पाउनुहुन्न । यसले गर्दा यो नेपाली समाजमा नैराश्यता फैलाउने एक प्रमुख अभिव्यक्ति हो । मुलुकका हरेक क्षेत्र र अनेकन निकायहरूमा राजनीतिले स्थान पाइराख्नु भनेको राम्रो भने पटक्कै होइन । राजनीति, राजनीति, राजनीति, शब्द यो वाक्यांश आफैमा सबै क्षेत्रमा लादिनु भनेको राम्रो चाहिँ होइन । हामी नेता नबुझेको को छ र ? हामीले सबैलाई पढिसक्यौ, जोखिसक्यौ, चिनिसक्यौ । हामीले नचिनेको निकाय कुनै छैन ।
अहिले हामी पनि यति आजित भयौ कि नेता चिन्ने कुरामा सबैलाई तराजुमा जोखिसक्या छौँ । को असल ? को त्यागी ? को क्रान्तिकारी ? को लोकतन्त्रवादी ? को समाजसेवी ? को अभियन्ता ? हामीले सबैलाई चिनिसक्या छौँ । यहाँ कोहि कसैले यति बर्ष जेलनेल बसियो, यस्तो संघर्ष गरियो भनेर धक्कु नदिए नि हुन्छ । भारतलाई हेर्ने दृष्टिकोणमा उ बिस्तारवादी र अमेरिका साम्राज्यवादी मुलुक हुन भनेर कुनै नेताहरुले हामीलाई आँखामा भ्रम नछरे हुन्छ, अब । यी देशलाई अनेकन आरोप – प्रत्यारोप नलगाए पनि हुन्छ, अब । को सक्कली रै छ को नक्कली रै छन भन्ने कुराको बोध हामीले गत भाद्र २३ र २४ गतेका दिन अकास्मात जेन – जीहरुको आन्दोलनमा हाम्रा राजनीतिक दलका शीर्ष नेतृत्वहरु मुसा दुलाभित्र पसेपछि “चु” सम्म नबोली बसेकैबाट प्रतीत हुन्छ कि यहाँ पानीमाथिको ओभानो कोहि नभए हुन्छ । हामी एकपछि अर्को राजनीतिक नेताहरूका पात्रहरुको परीक्षण गर्ने पङतिमा बसेर नियालिरहेका छौँ । यतिसम्म नियालिरहयौ कि नियाल्ने बाटाहरु कस्ता थिए र ती बाटाहरुबाट “र” लगायतका गुप्तचर निकायले नेपालमै गोप्य रुपले हाम्रा नेताहरूसङ्ग गरेको गोप्य निर्णयको पर्दाफास भएबाटै प्रतीत भएको छ । हाम्रो देशमा जताततै राजनीति भएको होइन , धेरै सामाजिक क्षेत्रको दलीयकरण मात्रै भएको हो ।
समाजमा धेरै क्षेत्रमा बहुसंख्यक सदस्यहरु दलीय पहिचानका आधारमा विभाजित छन । उदाहरणका लागि – गाउँको खानेपानी उपभोक्ता समितिको निर्वाचनमा कुन दलको गठबन्धनले जित्यो, त्यो राष्ट्रिय समाचार बन्छ भने सामुदायिक बिधालयमा बिधालय ब्यबस्थापन समितिको अध्यक्षमा मनोनित गर्दा दलीय सिण्डिकेटकै आधारमा कोटाका आधारमा निर्वाचित र मनोनित हुनुपर्ने अवस्था दलहरुलेनै ल्याएका हुन । खासमा राजनीति के हो ? राजनीति र अन्य नीति बिचको के भिन्नता छ ? राम्रोसङ्ग राजनीति हुँदा र नहुँदाको स्वरुप कसरी फरक हुन्छन ? नेपाली समाजमा यस्ता तमाम आधारभूत सैद्धान्तिक प्रश्न उपरको छलफलको आवश्यकता हिजोपनि नैराश्य थियो र आजपनि छ । हामी विविधतालाइ मनभित्रबाटै स्वीकार गर्दैनौ । हरेक विषयक पात्रको एकै स्वरुप खोजेपछि दुःख त हुनेनै भयो । त्यसैले राजनीतिको पनि एउटै परिभाषा खोज्ने प्रयास गरिन्छ । अबका दिनमा यो दुष्चक्रबाट सबै दलहरु आउन सकेनन भने देश विषम परिस्थितिमा गुज्रिने निश्चित प्रायः छ । म एक सचेत नागरिक हु भनेकै राजनीतिक हो र के गैर राजनीतिक हो स्पष्ट छुट्ट्याएर आफ्नो धारणा सबैले राख्न त्याग गर्नसक्नुपर्छ । यतिबेला राजनीतिक इतिहास निकै जटिल मोडमा छ । जनता राजनीति सम्झिदा मात्रै पनि झसङ्ग – झसङ्ग तर्सिन थालेका छन । कता – कता आक्रोशमा उदण्ड बढ्दै गयो किन होला ? दलहरु अब सच्चिने कि सक्किने ? सोचमग्न हुन जरुरी छ । सबलाइ चेतना भया ।

Author

You may also like