नेपालमा आगामी फागुन महिनामा गराइने आम चुनावको लागि जोरशोरसँग तयारी सुरु भईसकेको छ, र सम्पूर्ण संसारको ध्यान नेपालमा भइरहेको राजनीतिक परिवर्तन प्रति केन्द्रित भई पनि रहेको छ । नेपालको आगामी निर्वाचनबाट नेपालमा स्थिरता, विकास, शान्ति, समृद्धि तथा राजनीतिक स्थायित्व कुन रूपले अगाडि बढ्छ भन्ने कुरामा विश्वको ध्यानाकर्षण र चासो बढ्दै गइरहेको छ । परिवर्तन अवश्यम्भावी छ । लोकतन्त्रले परिवर्तनलाई महिमा मण्डित गर्दछ । लोकतन्त्रकै शीतल छहारीमा जनताले आफ्नो मनको पीडा र दुःख सुखका अनुभूतिहरु संवादका माध्यमहरुबाट जनप्रतिनिधिहरुलाई जानकारी गराउने गर्दछन् । लोकतन्त्रमा जनतालाई ठूलो अधिकार प्रदान गरिएको हुनाले सबै खाले भुरेटाकुरे शक्तिहरू भन्दा जनमतको शक्ति भारी हुन्छ । जनमतको शक्तिलाई कसैले पनि तिरस्कार र अस्वीकार गर्न सक्दैन । जनताले इतिहासको कठिनभन्दा कठिन अवस्थामा पनि आफ्नो लागि आफै सही मार्ग छनोट गर्न पाउने ठाउँ चाहिँ आम निर्वाचन नै हो । जातपात, भाषा, भेष, धर्म, क्षेत्रको विचारभन्दा माथि उठेर देशको स्वाभिमानलाई माथि उठाउने गरी जनताले कुनै निर्णय बहुमतबाट गरेमा ठूलाठूला तानाशाहहरू पनि पग्लिने गर्दछन् र जनता जनार्दनको अगाडि सिर निहुराउने गर्दछन् । लोकतन्त्रमा सरकारको अग्नि परीक्षा निर्वाचनबाट नै हुने गर्दछ । निर्वाचनबाट खारिएका जनप्रतिनिधिहरूले आफ्नो विचारधारा र आफूले जनताप्रति गर्ने निर्वाह गर्ने उत्तरदायित्वहरुलाई जनसमक्ष ल्याएर जनताको अभिमत आफ्नो पक्षमा ल्याउने प्रयास गर्दछन् । चुनावमा कुनै दल हार्छन् भने कुनै दल जित्छन् र जनप्रतिनिधि भएर सरकारमा जाने सुअवसर प्राप्त गर्दछन् । राजकाज सञ्चालन गर्ने जिम्मेवारी जनप्रतिनिधिहरूकै काँधमा परेपछि जनप्रतिनिधिहरूले निष्ठापूर्वक जनताप्रति अगाध माया राखेर देशलाई सर्वोपरि ठानेर आफ्नो राजनीतिक क्रियाकलापहरूलाई सञ्चालन गर्नुपर्ने हुन्छ । नेपाली जनताहरूको लोकतन्त्रप्रतिको चाहना विश्वमा नै प्रशंसनीय रहेकोले लोकतन्त्रलाई झुक्याएर, दबाएर, मनोमानीपूर्ण तरिकाबाट राज्यसत्ता सञ्चालनमा कसैले पनि दायाँ बायाँ गर्न पाउँदैन र सक्दैन पनि । तर कोही कोहीले यस्तो गर्न खोज्यो भने त्यसको पतन निश्चित नै हुन्छ । यही नै लोकतन्त्रको पहिचान हो ।
समय सन्दर्भ र परिस्थिति अनुसार नेपालमा राजनीतिक परिवर्तनको मूलधारमा नै सुनामी लहर चलेको हो कि भन्ने भविष्यवाणी बारे पूर्वानुमान त गर्न सकिँदैन, तर जुन किसिमबाट जेनजी समूहहरूबाट स्थापित सरकार विरुद्ध उग्र विरोधको घन्टी बजाइएको थियो, त्यो घन्टी अहिले यस अघिका सत्ताधारी दलहरुको लागि खतराको घन्टी बन्न सक्दैन कि भन्ने कुरामा देशै भरि थरिथरिका कुराहरु सुन्न सकिन्छ । कुनै पनि देशमा युवा शक्तिहरूले देशलाई ठूलो हाँक दिन सक्छन् । युवा शक्तिलाई पन्छाएर कुनै पनि दलले पनि लामो समयसम्म देशलाई आफ्नो विचारको पछाडि कुदाउन सक्दैन । सार्वभौम जनताले के सही र के गलत भइरहेको छ भन्ने कुराबारे आफ्नो मन र मस्तिष्कलाई पुरै खुल्ला राखेकाले अनुकूल वा प्रतिकूल जस्तोसुकै अवस्थामा पनि जनता जनार्दनले गरेको निर्णयमा सबैको स्वीकृति हुनुपर्दछ । नेपालको राजनीति गम्भीर विचलनको टर्निङ पोइन्टमा पुगेको देखिन्छ । एकातिर जेन्जी भनिने युवा समूहहरू देशैभरि सक्रिय रहेका देखिन्छन् र राजनीतिक परिवर्तनप्रति संगठित र प्रतिबद्ध पनि रहेका देखिन्छन् तथा देशमा फल्दै फुल्दै गइरहेको भ्रष्टाचारको राजनीतिलाई जरैदेखि उखेल्न प्रतिबद्ध रहेको देखिन्छन् । । संविधानको अक्षरसह पालना गर्दै सुशासन, समावेशीकरण स्थिरता र विकासप्रति गम्भीर भएर लाग्न देशका आम मतदाता वर्गहरूलाई उत्प्रेरणा पनि दिइरहेका छन् । तर युवाहरूको भीडबाट नेतृत्व जन्मिनु पनि आवश्यक छ । नेतृत्वबिनाको समूहले सफलता पाउन गाह्रो हुन्छ । राजनीतिमा जसको नीति हुन्छ उसको नेतृत्व हुनुपर्दछ, भन्ने कुरा सर्वमान्य नै भइसकेको छ ।
देशमा विचारधाराको लडाई आजदेखि मात्र होइन धेरै वर्ष अगाडिदेखि भइरहेको छ । पृथ्वीनारायण शाहले गौ रक्षाका लागि प्रतिबद्ध रहेका महान अघोरी साधक मत्स्येन्द्रनाथका शिष्य बाबा गोरखनाथबाट सपनामा दर्शन, आशीर्वाद र वरदान प्राप्त गरेपछि गोर्खा राष्ट्रको विस्तार भएर हिमाल, पहाड, तराईसम्म नेपाल राष्ट्रको रूपमा संगठित भएर देशको अहिलेको स्वरूप र अवस्था प्राप्त भएको थियो। कालान्तरमा पृथ्वीनारायणका सन्तानहरूले करिब २६४ वर्ष सम्म देशमा एकलौटी रुपमा शासन गर्ने र राजशाही कायम गर्ने अधिकार प्राप्त गरेको थियो। विक्रम संवत २०७२ सालमा देशको नयाँ संविधान, नेपालको संविधान २०७२, को नामले देशको संसद्बाट पारित भएपछि राजतन्त्रको उन्मुलन भई गणतन्त्र राष्ट्र नेपालको स्थापना हुन पुगेको थियो । नेपालको इतिहासमा देखिएको त्यो युगान्तकारी परिवर्तनले जनतालाई अपराजय र सार्वभौम सम्पन्न मात्र बनाएनन्, जनतालाई संघीय समावेशी पनि बनाए र सबै जनतालाई समान रुपमा देशको मालिक ठानेर राजकाजमा सबैलाई बराबरीको हैसियत प्रदान गर्ने अधिकार पनि सुनिश्चित गर्यो। समय बित्दै जाँदा राजनीतिका नयाँ नयाँ पाठहरू पनि जनताले सिक्दै गए तथा नयाँ नयाँ नेताहरुले नयाँ नयाँ विचारहरुबाट देशलाई नयाँ ढंगले गतिशील बनाउने प्रयासमा पनि लागेर सक्रिय भए । नेपालको राजनीतिमा दक्षिणपन्थी विचारधाराका नेपाली कांग्रेस लगायत पार्टीहरूको छत्र छायामा लामो समयसम्म देशमा शासनसत्ता सञ्चालन हुँदै गयो, सन्तुष्टि र असन्तुष्टिको सीमा रेखा बीच सरकारहरू पनि परिवर्तन हुँदै गयो तथा नयाँ सरकारहरू सत्तारुढ हुने अवसरहरु पनि प्राप्त गर्दै गए। देशमा विचारधाराको प्रवाह अगाडि अघि बढ्दै गयो । कार्लमाक्र्स र लेनिनको विचारलाई मानेर धेरै जनताहरूले वामपंथी विचारबाट पनि देशलाई हाँक्ने अभियानमा लागे । मनमोहन अधिकारी, मदन भण्डारी, प्रचण्ड, बाबुराम भट्टराई जस्ता क्रान्तिकारी विचारकहरुलाई पनि नेपाली जनताले पत्याए । माउत्सेतुङ्गको नामबाट पनि देशभित्र ठूलो माओवादी जनयुद्ध र जनआन्दोलनको आँधीबेरी देशभित्र चल्यो । परिवर्तनको ठूलो संखनाद माझ नारायणहिटी राजदरबार जनताले हेर्न पाउने राष्ट्रिय सङ्ग्रहालयको रूपमा रूपान्तरण हुन पुग्यो । राजाले लगाउने श्रीपेच र धारण गर्ने राजदण्ड पनि संग्रहालयको एउटा ऐतिहासिक धरोहर र वस्तुको रूपमा रुपमा जनताले हेर्न पाउने अवसर पनि प्राप्त गरे। जनताका गाँस बाँस कपास शिक्षा स्वास्थ्य रोजगारी र आधारभूत आवश्यकताका वस्तुहरूलाई पूरा गर्ने कुराहरूमा सरकार प्रतिबद्ध भएको पनि देखियो । दलविहीन राजनीति भन्दा दलीय राजनीतिमा देश अगाडि बढ्ने संकल्पका साथ निर्वाचन निर्विघ्न रूपमा निर्वाचन सम्पन्न हुँदै गयो । देशको कार्यपालिका, न्यायपालिका र विधायिकाले आफूले भ्याएसम्म जनतालाई न्याय निसाप दिने कुरामा आड भरोस् दिँदै गयो, तर भनेजस्तो सबै कुरा हुन नसक्दा नै असन्तुष्टिको ठूलो तुवालो पनि विस्फोटक बन्दै गयो, र सामान्य रुपमा चलिरहेको देश असहज अवस्थामा पुग्न गयो। आज देशमा सङ्घीय गणतन्त्र र समाजवाद ल्याउने राजनीतिक दलहरू सरकारमा छैनन् । तर चुनावमा भाग लिने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । नयाँ राजनीतिक समीकरणले पनि देशलाई नयाँ ढंगबाट नयाँ उचाइमा पु¥याउन सक्छ भन्ने कुरामा पनि जनताबीच संवादहरू हुन थालेको छ । परम्परागत राजनीतिक दलहरू र नयाँ जेन्जी समूहहरूबीच राजनीतिक रूपमा प्रतिस्पर्धा गरिने कार्यहरू हुन थालेको छ । तर सतहमा देखिएको अशान्तिको बादल चाहिँ देशको लागि शुभ संकेत पक्कै पनि होइन, भन्ने कुरामा जनता भित्रभित्रै उकुसमुकुसमा पनि परेका देखिन्छन् । राजनीतिक दलहरू खुला प्रतिस्पर्धामा उत्रिनु पर्दछ र जनताको बीच जानुपर्दछ । जनतासँग संवाद गर्नुपर्दछ ।जनतासँग आफ्नो विचार साझा गर्नुपर्दछ। सरकारले यसको लागि समुचित वातावरण मिलाउनु पर्दछ । देशभित्र अशान्ति मचिँदै गयो भने, द्वन्द बढ्दै गयो भने, हिंसा चर्किँदै गयो भने, जनअभिमत पनि अराजक र अस्पष्ट हुन सक्ने सम्भावना प्रबल हुन सक्छ । त्यसकारणले देशलाई अराजक हुन दिनु भन्दा देशलाई समन्वयात्मक रूपले अगाडि बढाउनुपर्ने आवश्यकता छ । नेपालमा समाजवाद, साम्यवाद, गान्धीवाद, रामराज्य ल्याइदिने जस्ता वैचारिक राजनीतिक भीजनहरु एउटा विचार मात्र हुन् जसलाई जस्ताको त्यस्तै व्यावहारिक रुपमा उतार्नु कठिन छ । विश्वको परिवर्तित परिवेशमा राष्ट्रले व्यावहारिक राजनीतिको पाटोलाई अंगीकार गरे भने देशले एउटा नयाँ निकास पाउन सक्छ। नेपालको वैभव, नेपालको अतित, नेपालको समृद्धि र नेपालको सपना देशका राजनीतिक दलहरूका दिशा र दशाबाट नै निर्धारण हुने भएकोले देशलाई के गर्ने भन्ने कुरामा राजनीतिक दलहरू अझ स्पष्ट हुनु जरुरी छ । एकअर्काको भावना बुझी त्यस अनुरुप सहकार्य गर्नु जरुरी छ । देशभित्र स्थिरता र विकासको उज्यालो फैल्याउनु जरुरी छ । लोकतन्त्र जनताको व्यवहार र विचार बाट झल्किने एउटा विशिष्ट प्रकृतिको मानव जीवनशैली हो। सम्पूर्ण देशलाई आध्यात्मिक सांस्कृतिक शक्ति बल र भावनाले बाँधेर देशको कठिनभन्दा कठिन परिस्थितिमा पनि सबैले एकजुटता देखाउनु जरुरी छ। जनताको भविष्यसँग खेलबाड गरेर कुनै पनि तन्त्र विश्वमा दिगो बन्न सकेको छैन, तसर्थ सबै जनतालाई आत्मबोध हुनु जरुरी छ।देशका जनताहरुले निर्दलतन्त्र, दलबल तन्त्र, निर्बल तन्त्र र लोकतन्त्र बीचको अन्तर बुझ्नु जरुरी छ ।