
दमक/ भदौ २४ गतेको विध्वंसबाट क्षतिग्रस्त भएको दमक नगरपालिका र इलाका प्रहरी कार्यालयका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । दमक नगरपालिकामा एक कार्यक्रमबीच शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त अन्तर्गतको संस्था लुथरन विश्व महासंघको तर्फबाट मोटरसाइकलसहित कार्यालय सहयोगी सामग्रीहरु हस्तान्तरण गरिएको छ । एलडब्लुएफ (लुथरन)को तर्फबाट सत्यनारायण विश्वासले दमक नगरपालिकालाई ४ थान मोटरसाइकल, १० थान डेक्सटप कम्प्युटर, २ थान प्रिन्टर, अफिस टेवल १० थान र अफिस कुर्सी १० थान दमक नगरपालिकालाई हस्तान्तरण गरे भने ५ थान मोटरसाइकल, ६ थान
डेक्सटप कम्प्युटर, १ थान प्रिन्टर, ४ थान अफिस टेवल र ४ थान अफिस कुर्सी इलाका प्रहरी कार्यालयलाई उपलब्ध गराएका छन् ।
दमक नगरपालिकाको तर्फबाट नगरप्रमुख रामुकमार थापासहितलाई हस्तान्तरण गरियो भने इलाका प्रहरी कार्यालयको तर्फबाट प्रमुख किशोर लम्साललाई हस्तान्तरण गरिएको थियो । उनीहरुले सोही मध्येबाट ट्राफिक प्रहरी कार्यालयलाई १ थान मोटरसाइकल उपलब्ध गराउने गरी इलाका प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको बताए ।
कार्यक्रममा उपप्रमुख रेगिना भट्टराई प्रसाई, कर्मचारी, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, ट्राफिक प्रहरी, प्रहरी जवान, समाजका बुद्धिजिवि, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रामकुमार थापाले विषम परिस्थितिमा आएको उक्त सहयोगलाई धन्यवाद दिएका थिए । उनले लुथरनले मानविय सेवामा निरन्तर काम गर्दै आएको पनि उनले उल्लेख गरे ।