काठमाडौं/ पार्टीभित्रको आन्तरिक विवाद चर्कदै जाँदा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेससँग सम्बन्ध विस्तारको प्रयास गरेका छन् ।
शनिबार ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई बोलाएर भेटवार्ता गरेका छन् ।
भेटवार्ता बारे दुवै पक्षले औपचारिक जानकारी नगराएको भए पनि काङ्ग्रेसको स्रोतले ओली र देउवाबीचमा भेट भएको जनाएको छ ।
स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले नेकपा विभाजनको अवस्थामा आफ्नो सरकारलाई निरन्तरता दिने विषयमा काङ्ग्रेसको साथ खोजेका छन् । तर, देउवाले भने प्रधानमन्त्री ओलीलाई साथ दिने वचन नदिएको देउवा निकट एक नेताले बताए ।
नेकपाभित्र विवाद चर्कंदै जाँदा अहिले राजनीतिक दल विभाजनका लागि सहज हुने गरी अध्यादेश ल्याउन सक्ने विश्लेषण गरिएको छ ।
सो अवस्थामा नेकपा विभाजन भए ओलीलाई सत्तामा टिकिरहन प्रमुख प्रतिपक्षी दलले साथ दिएमा सहज हुने बुझाइमा ओली देखिएका छन् । त्यसका लागि उनले काङ्ग्रेससँग छलफल अघि बढाएका हुन् ।
काङ्ग्रेसभित्र ओलीको सरकारलाई साथ दिने कि नदिने विषयमा दुई वटा मतहरु छन् ।
सभापति देउवा र ओलीबीच पटक–पटक यसअघि पनि भेटवार्ता हुँदै आएको छ ।
स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पनि काङ्ग्रेसका नेताहरुसँग संवाद अघि बढाएकी छन् ।
सभापति देउवा निकट रहेका र आफ्नो नातेदार पर्ने ज्ञानेन्द्रबहादुर कार्कीसँग भण्डारीले संवाद गरिरहेको स्रोतको दाबी छ ।