गौरादह। झापाको गौरादह निवासी एक सामाजिक व्यक्तित्वले आफू जीवित हुँदा समाजलाई दिएको वचन स्वर्गारोहण भएपश्चात् धर्मपत्नी तथा छोरा÷बुहारीबाट पूरा भएको छ ।
गौरादह–१ निवासी प्रेमबहादुर दाहालले कूलपूजा तथा सामाजिक प्रयोगका लागि दाहाल प्रतिष्ठानलाई २ कठ्ठा जग्गा र धार्मिक प्रयोजनका लागि १५ धुर जग्गा दिने वचन दिएका थिए । तर, आफ्नो वचनलाई पूरा गर्न नपाउँदै उहाँको स्वर्गवास भयो । यता आफ्ना पिताको वचनलाई पूरा गर्न छोराहरु टिकेन्द्र, गजेन्द्र, ललित र एकिन्द्र दाहाल दृढ संकल्पित रहे । यसैको परिणामस्वरुप जेठा छोरा टिकेन्द्र दाहालको नाममा रहेको २ कठ्ठा जमिन दाहाल प्रतिष्ठान उपशाखा गौरादहका नाममा पास गरी प्रतिष्ठानको चौथो वार्षिक साधारणसभाको अवसरमा चैत्र २१ गते धनीपूर्जा हस्तान्तरण गरिएको छ ।
सो अवसरमा उपशाखाका तर्फबाट जग्गादाता परिवारलाई हार्दिकतापूर्वक सम्मान गरिएको थियो ।
यस्तै धार्मिक प्रयोजनका लागि उपलब्ध गराइएको १५ धुर जमिनमा भने रामजानकी पाञ्चायन मन्दिर, कीर्तन घर निर्माण गरी स्व. दाहालको वार्षिक पुण्यतिथिको अवसरमा पूजा लगाई पाञ्चायनदेवी देवताको मूर्तिहरुको प्राणप्रतिष्ठा गरी मन्दिरसँगैको छुट्टै जमिनमा निर्मित स्व. प्रेमबहादुर दाहाल र उहाँकी जेठी श्रीमती विष्णुमाया दाहालको शालिक समेत परिवारबाट संरक्षण तथा सञ्चालनका लागि नव जागृति कीर्तनमण्डली तथा श्री गुप्तबासी जाल्पादेवी मन्दिर संरक्षण संंस्था गौरादह–१, झापालाई हस्तान्तरण गरिएको छ ।