पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ हो । प्रेस स्वतन्त्रता, सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार र विधिको शासनको पक्षमा निरन्तर खबरदारी गर्ने जिम्मेवारी पत्रकारिताको हो । त्यसैले पत्रकारलाई राज्य र समाजका विकृति नियाल्ने पहरेदार मात्र होइन, संविधानले सुनिश्चित गरेका नागरिक अधिकारको रक्षाकवचका रूपमा पनि हेर्ने गरिन्छ ।
यतिबेला पत्रकार पक्राउको विषयलाई लिएर नेपाल पत्रकार महासंघ आन्दोलनमा छ । पत्रकार पक्राउको विरोध र प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउनु स्वाभाविक र आवश्यक विषय हो । राज्यका कुनै पनि निकायले पत्रकारलाई अनुसन्धान वा कानुनी प्रक्रियामा ल्याउँदा त्यसको आधार, प्रक्रिया र उद्देश्यबारे प्रश्न उठ्नु लोकतान्त्रिक समाजको स्वाभाविक अभ्यास हो । तर यससँगै अर्को पक्षलाई पनि निष्पक्ष ढंगले हेर्न आवश्यक छ, पक्राउ परेका व्यक्ति पत्रकार भएकै कारण उनीमाथिका अन्य आरोप, विवाद वा अनुसन्धानका विषय स्वतः समाप्त हुँदैनन् ।
पत्रकारिता पेसामा आबद्ध व्यक्ति पनि कानुनभन्दा माथि हुँदैन । यदि कुनै पत्रकारमाथि गम्भीर आरोप छन् भने निष्पक्ष अनुसन्धान हुनुपर्छ । तर अनुसन्धानका क्रममा पत्रकारिताको परिचयलाई नै अपराधको प्रमाण बनाउनु पनि उचित हुँदैन। त्यसैले अहिलेको बहस व्यक्ति विशेषको पक्ष वा विपक्षमा भन्दा पनि प्रेस स्वतन्त्रता र कानुनी उत्तरदायित्वबीचको सन्तुलन खोज्ने दिशामा केन्द्रित हुनुपर्छ ।
पत्रकारको पहिलो धर्म सत्य, तथ्य र निष्पक्षता हो । समाचारमा एउटा पक्षको आवाज मात्र होइन, सम्बन्धित सबै पक्षको धारणा समेटिनुपर्छ । कुनै व्यक्ति, दल, संस्था वा शक्तिकेन्द्रको आग्रहअनुसार समाचारलाई आफ्नो अनुकूल बनाउने अभ्यासले पत्रकारिताको विश्वसनीयता कमजोर पार्छ । पत्रकार कसैको प्रवक्ता होइन । पत्रकारको भूमिका प्रश्न गर्ने, तथ्य खोज्ने र समाजलाई सत्य सूचना उपलब्ध गराउने हो ।
तर पछिल्ला वर्षमा पत्रकारिताको क्षेत्रमा आएका केही विकृतिले गम्भीर प्रश्न जन्माएका छन् । सञ्चारमाध्यमको संख्या बढेसँगै पत्रकारितामा प्रवेश गर्ने व्यक्तिको संख्या पनि बढेको छ । यसले अवसर विस्तार गरे पनि व्यावसायिक क्षमता, आचारसंहिता र पत्रकारिताको मूल मर्मबारे पर्याप्त तयारी नगरी सञ्चारकर्ममा आउने प्रवृत्तिबारे बहस आवश्यक बनाएको छ ।
पत्रकार महासंघको सदस्यता पाउनु वा प्रेस कार्ड बोक्नु मात्रै पत्रकारिताको अन्तिम परिचय होइन । पत्रकारिताका लागि अध्ययन, निरन्तर सिकाइ, तथ्य जाँच्ने क्षमता, स्रोतको विश्वसनीयता परीक्षण गर्ने सीप, भाषिक दक्षता र व्यावसायिक आचरण आवश्यक हुन्छ । कसैको चरित्रमाथि प्रश्न उठाउने समाचार प्रकाशित गर्नुअघि त्यसको प्रमाण र सम्बन्धित पक्षको भनाइ लिनु पत्रकारको आधारभूत जिम्मेवारी हो ।
सामाजिक सञ्जाल र युट्युबको विस्तारले पत्रकारिता अझ सहज बनाएको छ । तर सहजतासँगै चुनौती पनि थपिएका छन् । भ्युज, लाइक र सस्तो लोकप्रियताको दौडमा अपुष्ट सूचना, अतिरञ्जित शीर्षक र एकपक्षीय सामग्री प्रकाशित गर्ने प्रवृत्ति बढेमा त्यसको असर केवल एउटा व्यक्तिमा होइन, सिंगो पत्रकारिताको विश्वसनीयतामा पर्छ । पत्रकारिताको उद्देश्य लोकप्रियता होइन, विश्वसनीयता हुनुपर्छ ।
त्यसैले पत्रकारिताभित्र आत्मसमीक्षा आवश्यक छ । पत्रकार महासंघले आफ्ना सदस्यको व्यावसायिक हकहितको संरक्षणसँगै पत्रकारिताको गुणस्तर, आचारसंहिता र उत्तरदायित्वलाई पनि समान प्राथमिकता दिनुपर्छ । सदस्यता वितरण गर्दा राजनीतिक निकटता, व्यक्तिगत सम्बन्ध वा अन्य प्रभावभन्दा पत्रकारितामा वास्तविक संलग्नता, व्यावसायिकता र आचारसंहिताको पालनालाई आधार बनाउन सकियो भने महासंघको संस्थागत गरिमा अझ बलियो हुनेछ ।
यसको अर्थ पत्रकार पक्राउ पर्दा मौन बस्नुपर्छ भन्ने होइन । बरु पत्रकार पक्राउको विषयमा महासंघले अझ प्रभावकारी र विश्वसनीय भूमिका खेल्नुपर्छ । पक्राउको कानुनी आधार के हो, अनुसन्धान निष्पक्ष छ कि छैन, पत्रकारितासँग सम्बन्धित विषयमा राज्यले अनुचित दबाब दिएको हो कि होइन र व्यक्तिको कानुनी अधिकार सुरक्षित छन् कि छैनन् भन्ने प्रश्न उठाउनु महासंघको दायित्व हो । तर कुनै पत्रकारमाथि अनुसन्धान भइरहेको छ भन्दैमा त्यसलाई स्वतः प्रेस स्वतन्त्रतामाथिको आक्रमण भनेर निष्कर्ष निकाल्नु पनि विवेकपूर्ण हुँदैन ।
पत्रकारिता समाजको दर्पण हो । समाजमा भएका विकृति, भ्रष्टाचार, अन्याय र बेथितिलाई उजागर गर्ने काम पत्रकारिताले गर्छ । पहुँचविहीन नागरिकको आवाज राज्यसम्म पु¥याउने, सार्वजनिक पदमा रहेका व्यक्तिलाई जवाफदेही बनाउने र जनताको सूचनाको अधिकार सुनिश्चित गर्ने काममा पत्रकारिताको भूमिका अतुलनीय छ ।
सरकार गठनदेखि सार्वजनिक नीतिको समीक्षा, भ्रष्टाचारको अनुसन्धानदेखि सामाजिक न्यायका सवालसम्म पत्रकारिताले निरन्तर खबरदारी गर्न सक्छ । राज्यका शक्तिशाली निकायलाई नागरिकप्रति उत्तरदायी बनाउन स्वतन्त्र सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । त्यसैले स्वतन्त्र पत्रकारिताको संरक्षण लोकतन्त्रको संरक्षणसँगै जोडिएको विषय हो ।
तर पत्रकारिताको शक्ति जति ठूलो छ, त्यसको जिम्मेवारी पनि त्यति नै ठूलो छ । कलमले कसैको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ भने असावधानी वा पूर्वाग्रहले कसैको प्रतिष्ठामा गम्भीर असर पार्न सक्छ । त्यसैले पत्रकारले आफ्नो कलमलाई तथ्य, विवेक र नैतिकताले निर्देशित गर्नुपर्छ ।
आजको आवश्यकता पत्रकारलाई कमजोर बनाउने होइन, पत्रकारितालाई अझ बलियो बनाउने हो । राज्यले प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्छ । पत्रकारले पनि संविधान, कानुन र पत्रकार आचारसंहिताको सम्मान गर्नुपर्छ । यी दुई पक्षबीचको सम्बन्ध टकरावको होइन, लोकतान्त्रिक उत्तरदायित्वको हुनुपर्छ ।
पत्रकार राष्ट्रको बर्दीविनाको सिपाही हो भनिन्छ । तर त्यो सिपाही कुनै दल, व्यक्ति वा समूहको होइन, सत्य, संविधान, नागरिक अधिकार र सार्वजनिक हितको पक्षमा उभिनुपर्छ । पत्रकारको कलम सत्ताको डरले रोकिनु हुँदैन, तर व्यक्तिगत आग्रह, राजनीतिक पूर्वाग्रह वा स्वार्थले पनि चल्नु हुँदैन ।
त्यसैले अहिलेको परिस्थितिलाई पत्रकारिता र राज्यबीचको द्वन्द्वका रूपमा मात्र होइन, दुवै पक्षले आत्मसमीक्षा गर्ने अवसरका रूपमा लिनुपर्छ । राज्यले पत्रकारको स्वतन्त्रता र कानुनी अधिकार सुनिश्चित गरोस्, पत्रकारले पनि आफ्नो पेशागत मर्यादा, सत्यता र उत्तरदायित्वलाई सर्वोच्च प्राथमिकता दिऊन् ।
पत्रकार पक्राउको विरोध गरौँ, तर अनुसन्धानको अधिकारलाई पनि सम्मान गरौँ । प्रेस स्वतन्त्रताको रक्षा गरौँ, तर पत्रकारिताको विश्वसनीयता पनि जोगाऔँ । पत्रकारलाई संरक्षण गरौँ, तर पत्रकारिताको नाममा हुने गैरव्यावसायिक गतिविधिप्रति पनि प्रश्न उठाऔँ ।
अन्ततः पत्रकारिता कसैको पक्षमा होइन, सत्यको पक्षमा हुनुपर्छ । पत्रकार संविधानका रक्षाकवच तब मात्र बन्न सक्छन्, जब उनीहरूको कलम स्वतन्त्रसँगै जिम्मेवार, निर्भीकसँगै निष्पक्ष र शक्तिशालीसँगै उत्तरदायी हुन्छ ।