अर्थ देश–समाज विचार/वहस स्थानीय

दमकको सफाइ अभियान : पाथवेबाट नेक्स्ट एरासम्म

२०७२ साल पुसको पहिलो साता। दमक क्याम्पस आफ्नो स्थापना दिवस तथा क्याम्पस सभा मनाउने तयारीमा जुटेको थियो। तत्कालीन सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीले स्थापना दिवस उद्घाटन तथा कार्यक्रमको प्रमुख आतिथ्यता स्वीकार गरेपछि क्याम्पस परिवारमा उत्साह थपिएको थियो। क्याम्पस सभा सदस्य, नागरिक समाजका अगुवा तथा सम्बन्धित सबैलाई निमन्त्रणा पठाउनेदेखि कार्यक्रम व्यवस्थापनसम्मका काम तीव्र गतिमा अघि बढिरहेका थिए। अतिरिक्त क्रियाकलाप उपसमिति पनि उत्तिकै सक्रिय थियो। कार्यक्रमको तयारीकै क्रममा क्याम्पस परिसर सरसफाइ गर्ने योजना बन्यो। उपसमितिका संयोजक पदम जवेगुले पाथवे नेपाल प्रालिका प्रमुखलाई बोलाएर सरसफाइसम्बन्धी सल्लाह गर्ने प्रस्ताव राख्नुभयो। त्यसपछि क्याम्पस परिवारको सहभागितामा परिसर सरसफाइ गरियो। अन्ततः २०७२ पुस १६ गते तत्कालीन प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा स्थापना दिवस तथा क्याम्पस सभाको उद्घाटन सत्र सम्पन्न भयो।

त्यो अवसरमा पाथवे नेपालको सक्रिय सहभागिता थियो। त्यतिबेला सायद धेरैलाई थाहा थिएन—दमकमा फोहोर व्यवस्थापनको एउटा नयाँ अध्याय सुरु हुँदैछ भन्ने कुरा। पाथवे नेपाल दमक प्रवेश गर्नुको उद्देश्य नै दमक बजार र आसपासका क्षेत्रको फोहोर व्यवस्थापन गर्नु रहेछ। व्यवस्थित कार्यालय, कर्मचारी र कामदारको संयन्त्रसहित संस्थाले काम सुरु गर्‍यो। केही समयमै दमकको स्वरूप बदलिन थाल्यो। बजारका गल्ली, सडकका कुना–काप्चा, चोक र बिजुलीका पोल आसपास थुप्रिएको फोहोर हट्न थाल्यो। कुनै समय फोहोरले जिस्काएझैँ लाग्ने ठाउँहरू सफा देखिन थाले। दमकलाई व्यवस्थित र सुन्दर बनाउने एउटा अभियानले आकार लिएको अनुभूति हुन्थ्यो।

तर त्यो यात्रा लामो हुन सकेन। पाथवे नेपाल अन्ततः दमकबाट बाहिरियो। किन बाहिरियो ? उसले कस्तो अनुभव लिएर गयो ? घरघरबाट फोहोर उठाएबापत उसले कस्तो आर्थिक र प्राविधिक कठिनाइ भोग्यो ? शुल्क उठाउन सहज भयो कि भएन ? नगरपालिकाबाट कस्तो सहयोग र सहजीकरण भयो ? यी प्रश्नको जवाफ सम्बन्धित पक्षसँग होला। उपभोक्ताले भने एउटा कुरा मात्र देखे—पाथवे गएपछि फेरि दमकका कुना–काप्चामा फोहोर थुप्रिन थाल्यो। त्यसबीच दमक नगरपालिकाले आफ्नै संयन्त्रबाट फोहोर उठाउने प्रयास पनि गर्‍यो, तर त्यसले अपेक्षित निरन्तरता र विश्वसनीयता कायम गर्न सकेन।

यही पृष्ठभूमिमा दमकमा प्रवेश गरेको अर्को संस्था हो—नेक्स्ट एरा इनर्जी। यो संस्थाको उद्देश्य, दृष्टिकोण र अभियान हेर्दा आशा गर्न सकिने ठाउँ देखिन्छ। अहिले वडा नम्बर १० बाहेक दमकका सबै वडामा संस्थाका सवारीसाधन पुग्ने गरेका छन्। आठवटा गाडीले दैनिक दुई टिपका दरले काम गर्दा करिब १६ टिप फोहोर व्यवस्थापन गर्ने क्षमता देखिन्छ। घर वा पसलबाट जे जस्तो अवस्थामा फोहोर दिइए पनि संकलन गर्ने प्रयास भइरहेको छ। त्यसका लागि कर्मचारी खटिएका छन्। प्रविधिको प्रयोग बढाइएको छ। उपभोक्तासँगको सम्बन्ध व्यवस्थित बनाउन डिजिटल प्रणालीको प्रयोग गरिएको छ। यसले एउटा सकारात्मक सन्देश दिएको छ—फोहोर व्यवस्थापन अब केवल कुचो लगाउने र फोहोर उठाउने काममा सीमित छैन; यो प्रविधि, व्यवस्थापन र पुनःप्रयोगसँग जोडिएको अभियान पनि बन्न सक्छ।

नेक्स्ट एरा इनर्जीको अर्को महत्वपूर्ण पक्ष फोहोरलाई स्रोतका रूपमा उपयोग गर्ने सोच हो। कुहिने फोहोरबाट निस्किएको झोल मल प्रयोग हुन थालेको छ। हिमालय चिया कमानका चियाका बोटमा त्यसको प्रयोग भइरहेको बताइन्छ। प्राङ्गारिक मल उत्पादन गरेर बजारमा पुर्‍याउने तयारी पनि छ। अर्थात्, हिजो सडकमा समस्या बनेर थुप्रिएको फोहोर आज किसानका लागि मल बन्न सक्छ। यहीँनेर ‘फोहोरबाट मोहर’ निकाल्ने अवधारणाले अर्थ पाउँछ। भविष्यमा फोहोरबाट ग्यास उत्पादन गरी पाइपमार्फत घरका भान्सासम्म पुर्‍याउने लक्ष्य पनि राखिएको थियो। त्यो योजना अझै मूर्तरूप लिन सकेको छैन। यसको कारण प्राविधिक हो, आर्थिक हो वा सरकारी तथा स्थानीय तहको पर्याप्त सहजीकरणको अभाव हो—यसको छुट्टै अध्ययन आवश्यक छ।

दमक सफा हुँदै गएकोमा उपभोक्ता खुसी हुनु स्वाभाविक हो। नेक्स्ट एराको कामप्रति सन्तुष्टि व्यक्त गर्नु पनि स्वाभाविक छ। तर कुनै संस्थाको सफलतालाई केवल सडक सफा देखिएको आधारमा मात्र मूल्यांकन गर्नु पर्याप्त हुँदैन। हामीले पाथवे नेपालको अनुभवबाट पनि सिक्नुपर्छ। कुनै संस्था दमकमा आउँछ, लगानी गर्छ, कर्मचारी राख्छ, घरघरबाट फोहोर उठाउँछ र केही वर्षपछि बाहिरिन्छ भने त्यसको कारण के हो ? त्यो प्रश्न आज नेक्स्ट एराका सन्दर्भमा पनि उत्तिकै महत्वपूर्ण छ। संस्थाले समयमै सेवा शुल्क उठाउन पाएको छ कि छैन ? उपभोक्ताको भुक्तानी प्रणाली सहज छ कि छैन ? नगरपालिकाले आवश्यक पूर्वाधार र प्राविधिक सहयोग दिएको छ कि छैन ? फोहोर व्यवस्थापनको दीर्घकालीन योजना के हो ? प्रशोधन केन्द्र सञ्चालनका लागि आवश्यक वातावरण कस्तो छ ? यी सबै प्रश्नको उत्तर खोजिनुपर्छ। किनभने सफा दमकको जिम्मेवारी कुनै एउटा निजी संस्थाको मात्र होइन।

फोहोर व्यवस्थापनमा दमक नगरपालिका र सेवा प्रदायक संस्थाबीचको सम्बन्ध स्पष्ट, व्यावसायिक र दीर्घकालीन हुनुपर्छ। नीति बनाउने, अनुगमन गर्ने, आवश्यक पूर्वाधार निर्माण गर्ने, प्राविधिक तथा संस्थागत सहजीकरण गर्ने काम स्थानीय सरकारको हो। घरघरबाट फोहोर संकलन गर्ने, वर्गीकरण गर्ने र संकलित फोहोरको उचित व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित सेवा प्रदायकको हो। दुवै पक्षले आफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गरे मात्र प्रणाली टिकाउ हुन्छ।

यहाँ अर्को सम्भावना पनि छ—टोल विकास संस्थालाई फोहोर व्यवस्थापनसँग जोड्ने। घरघरबाट फोहोर उठाउने काममा टोल विकास संस्थाको सहजीकरण हुन सकेमा उपभोक्ता र सेवा प्रदायकबीचको दूरी घट्न सक्छ। त्यस्ता संस्थालाई टोल सरसफाइसँगै स्थानीय तहका अन्य सेवामा समेत क्रमशः जोड्न सकिन्छ। घर निर्माणको नक्सा व्यवस्थापन, जन्म तथा मृत्यु दर्ता, बसाइँसराइ, विवाह दर्ता, टोल सरसफाइ तथा स्थानीय सूचना प्रवाहमा टोल विकास संस्थालाई प्रभावकारी बनाउने हो भने स्थानीय सरकारको पहुँच अझ बलियो हुन सक्छ।

नेक्स्ट एरा इनर्जीले ठूलो योजनासहित काम गरिरहेको देखिन्छ। उसको प्लान्ट, प्रविधि, जनशक्ति र व्यवस्थापनमा भएको लगानीको नाफा–घाटा संस्थाकै विषय हो। तर त्यो संस्था सफल हुनु वा असफल हुनुको प्रत्यक्ष असर दमकको वातावरणमा पर्छ। त्यसैले स्थानीय सरकारका लागि यो केवल एउटा निजी संस्थालाई सहयोग गर्ने विषय होइन; सहरको दीर्घकालीन फोहोर व्यवस्थापन प्रणालीलाई टिकाउने विषय हो। नगरपालिकाले संस्थाको काममा अनावश्यक हस्तक्षेप गर्नु आवश्यक छैन। तर आवश्यक नीति, पूर्वाधार, समन्वय, अनुगमन र सहजीकरण भने गर्नैपर्छ। उपभोक्ताले सेवा शुल्क तिर्ने वातावरण बनाउनेदेखि फोहोर वर्गीकरण, प्रशोधन र पुनःप्रयोगका लागि आवश्यक संरचना निर्माण गर्नेसम्म स्थानीय तहले आफ्नो भूमिका स्पष्ट गर्नुपर्छ।

आज दमकका सडक, गल्ली र चोक सफा देखिनु सुखद कुरा हो। तर सफाइको यो दृश्य क्षणिक नहोस् भन्ने चिन्ता पनि उत्तिकै जायज छ। नेक्स्ट एरा इनर्जी कमजोर भयो, उसको संयन्त्र ढल्यो वा संस्था नै यहाँबाट बाहिरिनुपर्ने अवस्था आयो भने फेरि दमकका गल्ली, घुमाउरा बाटा, बिजुलीका पोलमुनि र अँध्यारा कुनामा फोहोर थुप्रिन थाल्ने हो कि ? यदि त्यसो भयो भने समस्या केवल एउटा कम्पनीको असफलता हुनेछैन। त्यो दमकको फोहोर व्यवस्थापन नीतिको असफलता हुनेछ।

त्यसैले आजै सोच्नुपर्ने बेला आएको छ—पाथवे किन गयो ? त्यसबाट के सिक्यौँ ? नेक्स्ट एरालाई कसरी दिगो बनाउने ? र भोलि कुनै एउटा संस्था गए पनि दमकको फोहोर व्यवस्थापन नरोकिने प्रणाली कसरी बनाउने ? सहर सफा हुनु राम्रो कुरा हो, तर सफा सहरलाई दिगो बनाउनु अझ ठूलो कुरा हो। दमकलाई सफा बनाउने जिम्मेवारी नेक्स्ट एराको मात्र होइन, नगरपालिकाको मात्र पनि होइन—फोहोर उत्पादन गर्ने हरेक घर, पसल, व्यवसाय, संस्था र नागरिकदेखि स्थानीय सरकारसम्म सबैको साझा जिम्मेवारी हो।

आज फोहोर उठिरहेको छ। भोलि त्यसबाट मल, ऊर्जा र आम्दानी पनि निकाल्न सकिन्छ। त्यसका लागि चाहिन्छ—दूरदृष्टि भएको स्थानीय सरकार, जिम्मेवार सेवा प्रदायक र आफ्नो फोहोरप्रति सचेत नागरिक। नत्र हामीले फेरि एउटा संस्था आउने, सहर सफा हुने र केही समयपछि त्यही संस्था जानेसँगै दमकका गल्लीमा फोहोर फर्किने पुरानै चक्र दोहोर्‍याइरहनेछौँ। दमक सफा राख्ने अभियान कुनै संस्थाको मात्र परियोजना होइन, यो समग्र दमकको साझा सभ्यता र जिम्मेवारी हो।

Author

You may also like