२३ साउन, दमक । जोखिमको कुनै प्रवाह नगरी दैनिक रुपमा लागुऔषध कारोबार गर्ने र प्रयोग गर्नेहरुले आफुसँगै हजारौं युवायुवतीको जीवन मात्र बर्बाद् पारेका छैनन समाज र राष्ट्रकै लागि अपराधिक क्रियाकलापमा हात हालेका छन् ।
खास गरेर पूर्व क्षेत्रको मात्र कुरा गर्ने हो भने पछिल्लो समयमा यसको प्रयोग र काराबोर बढ्दै गएको तथ्याङ्कले देखाउँछ । भारतसँग एक सय ४४ किलोमिटर खुल्ला सीमाना भएको झापाका काँकरभिट्टा, बिर्तामोड, भद्रपुर, दमक जस्ता शहरहरुमा दिनहुँ प्रयोगकर्ता र कारोबारी पक्राउ परिरहेका छन् । तर, त्यसको न्यूनीकरण हुन नसक्दा प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न समेत चुनौति थपिएको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको तथ्याङ्कमा गत तीन वर्षमा ६४ जना त भारतीय लागुऔषध कारोबारी मात्र पक्राउ परेको देखिन्छ ।
भारतमा सस्तोमा पाइने त्यस्ता वस्तु नेपालमा ल्याएर महंगोमा बेच्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । लागूऔषधको दुरुपयोगको समस्या प्रत्येक वर्ष बढ्दै गएपछि झापा प्रहरी आक्रामक शैलीमा प्रस्तुत भएपछि कारोबारीहरु पक्राउ पर्ने क्रम पनि बढेको तथ्यांकले देखाउँछ । परिवार, समाज र राष्ट्रकै लागि घातक सिद्ध हुने र ठूलो संख्यामा युवायुवतीकोे भाग्य र भविष्य डामाडोल बनाउने क्षेत्र नै लागूऔषध दुव्र्यसन बनेको छ । यसले देशको शान्ति सुरक्षा र अमनचयनमा समेत चुनौति थप्दै विभिन्न अपराधिक गतिविधि बढाउने गरेको छ । यस्तो सम्वेदनशिल क्षेत्र लागूऔषध नियन्त्रणमा अहिलेसम्मको सरकारी तथा गैरसरकारी पक्षबाट गरिएका प्रयास पनि प्रभावकारी देखिएको छैन ।
लागूऔषध एउटा सीमित क्षेत्र र भूगोलको समस्या नभएर देशभरिको समस्या पनि हो । नेपालमा विगतको तुलनामा लागूऔषध कारोबारी र सेवनकर्ता बढिरहेका हरेक दिनका विभिन्न मिडियामा आएका समाचारले पनि पुष्टि गर्दछ । यस्ता दुव्र्यसनीको संगतबाट बालबालिका जोगाउन अभिभावकहरु निकै चुनौति थपिएको छ । स्कुल र कलेज, गाउँ, सहर, चोक, गल्लि सबैतिर दूव्र्यनीहरु छ्याप्छ्याप्ती बढ्न थालेपछि अभिभावकलाई चासो र चिन्ता बढेको छ ।
अभिभावक मात्र नभएर देशमा लागूऔषधको तस्करी, कारोबार र सेवनलाई रोक्नका लागि विभिन्न सरकारी तथा गैरसरकारी स्तरबाट भएका प्रयास समेत निस्प्रभावी भईरहेका छन् । अहिलेसम्म यो दुव्र्यनीको अवस्था के छ र यसलाई न्युन् गर्न वा समाप्त पार्ने आवश्यक रणनीति कुनै सरकारी निकायसँग छैन । खाली जनचेतनाको नाममा ठूलो रकम खर्च भईरहेको देखिन्छ ।
शनिबार मात्र दमकमै ब्राउनसुगरसहित दमक–५ मा डेरा गरी बस्ने इलाम चुलाचुलीका २६ वर्षीया अगम राई र कमल गाउँपालिका–५ का ३६ वर्षीया जीवन लिम्बु पक्राउ परे । उनीहरु दूई जनामध्ये एकजना प्रयोगकर्ता र एक जना कारोबारी रहेको बयानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसलाई प्रतिनिधिमूलक घटनाका रुपमा लिन सकिन्छ । यस्ता घटना दैनिक दर्जनौं भईरहेका हुन्छन् ।
लागूऔषधको दुव्र्यसन तथा अवैध ओसार–पसार बहुपक्षीय सरोकारको विषय हो । यो समस्या कुनै स्थान, मुलुक वा क्षेत्र विशेषको समस्या मात्र नभई विश्व मानव समुदायकै सामुहिक समस्याका रुपमा प्रकट हुँदै आएको छ । विश्वका सवै जसो राष्ट्र यस समस्याबाट अछुतो रहन सकेका छैनन् । नेपालमा सन् १९६० को दशकको सुरुदेखि हिप्पी संस्कृतिको आगमनका साथै लागूऔषध दुव्र्यसनको समस्या जटिल बन्दै गएको छ ।
दमकको इलाका प्रहरी कार्यालयका प्रनाउ निशान थापाका अनुसार लागूऔषध दुव्र्यसनीको अवस्था दमकमा मात्र नभएर देशकै समस्या रहेको बताए । दुव्र्यसनीको अवस्था रिपोटिङ र तथ्याङ्कको आधारमा बढेको देखिए पनि त्यसलाई बढेको भन्न नमिल्ने बताउँछन् । उक्त इलाका प्रहरी कार्यालयभित्र दुव्र्यसनीको कारोबारमा परेका श्रीमानश्रीमति नै थुनामा रहेको र आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढिरहेको पनि उनले बताए । खास गरेर ब्राउनसुगर, ट्याब्लेट र एम्फुल सुई नै बढी तस्करी, कारोबार र प्रयोग भईरहेको थापाको भनाई छ । थापाले लागूऔषध कारोबारीलाई समाएर ल्याउँदा अभिभावकहरुले वास्ता नगरेको गुनासो पनि गरे । उनले भने यस्तो दुव्र्यसनको माध्यमबाट अपराध न्युनिकरणमा अभिभावक, समुदाय र प्रहरी एकसाथ एकिकृत रुपमा लाग्नुपर्ने थापाको भनाई छ । कारोबार वा सेवनमा विभिन्न उमेर समूहका रहेको पनि उनले बताए ।
इलाका प्रहरी कार्यालय दिएको आर्थिक वर्ष २०८०÷०८१ को तथ्याङ्कका आधारमा भन्ने हो भने कार्यक्षेत्रभित्रबाट सबैभन्दा बढी ११४ जना मानिस पक्राउ परेको देखिन्छ । यो तथ्याङ्क यस अघिका आर्थिक वर्षमा ०७८÷०७९ मा ५८ जना र २०७९÷०८० मा ५२ जना रहेको थियो । यसैलाई हेर्दा पनि लागूऔषध ओसारपसार, विक्रीवितरण र सेवन गर्नेहरुको संख्या बढेको प्रमाणित गर्न सकिन्छ ।
प्राप्त विवरण अनुसार नाईट्रोभेट (चक्की) सबैभन्दा बढी आर्थिक वर्ष २०८०÷०८१ म २६२ ट्याप्लेट बरामत भएको छ । अघिल्लो वर्ष २०७९÷८० मा १५० ट्याप्लेट मात्र बरामत भएको थियो । यसैगरी अन्य लागूऔषध अघिल्लो आर्थिक वर्षमा डाइजेपाम १० एम्पुल, लुपिजेसिक १० एम्पुल, फेनारगन १० एम्पुल, ब्राउन सुगर ३६४ ग्राम १८० मिलि र ट्रामाडोल ५७० ट्याप्लेट बरामत भएको तथ्याङ रहेको छ । यसअघि गाँजा र चरेशसहित मानिस पक्राउ पर्ने र बरामत हुने गरिए पनि अघिल्लो आर्थिक वर्षमा भने गाँजा र चरेश नभेटिएको देखिन्छ । २०७८÷०७९ मा कोरेक्स (बोतल) ७ बरामत भएको थियो भने त्यसपछिका वर्षहरुमा त्यस्तो भेटिएको छैन ।
खास गरेर खुल्ला सिमाना लागूऔषधका ओसारपसारका लागि बरदान सावित भएका छन् । यस्ता लागूऔषध विदेशबाट ओसारपसार हुने भएकोले कारोबारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज, भैरहवा तथा काँकरभिट्टा गरी ४ नाका बढी मात्रामा प्रयोग गरिरहेको सुरक्षा अधिकारीहरु बताउँछन् ।
देशभर दुई लाखभन्दा बढी प्रयोगकर्ता रहेको र कोशी प्रदेशका झापा, मोरङ, सुनसरी यसबाट बढी प्रभावित रहेका छन् । त्यसैले यसलाई नियन्त्रण गर्न छुट्टै डफ्फा बनाएर अभिभावक, समुदाय प्रहरी र स्थानीय सरकारसमेत सहभागितामा कार्यक्रमहरु अगाडि बढाउन आवश्यक देखिन्छ । प्रभावकारी रुपमा यसको न्युनिकरणमा काम गर्न सकिएन भने लागूऔषध दुव्र्यसनले नेपालको परिचय नै बदल्न सक्छ ।