समाचार

संसदीय अभिव्यक्तिमा मर्यादाको प्रश्न : अमर्यादित अभिव्यक्ति हटाईयो

दमक/ संसद जननिर्वाचित सांसदहरुको सहभागीता रहने सर्वोच्च थलोको रुपमा रहन्छ । यहाँ देशका कानून, नियम तथा राष्ट्रिय(अन्तर्राष्ट्रिय सवालहरुमा गम्भिर र शिष्ट बहस हुनु पर्ने हो । तर गत फागुनको निर्वाचन पश्चात कार्यभार सम्हालेको प्रतिनिधी सभाका पछिल्ला वैठकहरुको अवस्था हेर्दा वास्तविकता यस्तो पाईदैन । सभामुखले पटक पटक शिष्ट र सभ्य भाषाको प्रयोग गर्न आग्रह गर्दा पनि कतिपय अभिव्यक्तिहरु त अभिलेखबाटनै हटाउन निर्देशननै दिएका छन् ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा प्रयोग भएका असंसदीय र आपत्तिजनक शब्दहरू संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम १२१ को खण्ड (घ) बमोजिम सांसदहरूलाई आफ्नो अभिव्यक्तिमा संवेदनशील हुन ध्यानाकर्षण गराएका थिए । नियमावलीले बैठकमा बोल्दा अशिष्ट, अश्लील, अपमानजनक वा सार्वजनिक शिष्टाचार र नैतिकताको प्रतिकूल हुने गरी बोल्न निषेध गरेको छ । साथै, कुनैपनि व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा असंसदीय शब्दको प्रयोग गर्न नपाइने प्रावधानको बारेमा उनले स्मरण गराएका छन् ।
कस्को के अभिलेखबाट हटाईयो ?
नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटेको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रूलिङ गरेका हुन् । सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिन मंगलबार प्रतिनिधि सभाको रोस्टममा उभिएका बादलले थापाले रास्वपाको उदय, जेनजी आन्दोलनका क्रममा देखिएका दृष्य र नेपाली सेनाबारे प्रश्न उठाएका थिए । ‘देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मूकदर्शक बन्यो ?’ उनले भनेका थिए, ‘लिपुलेकमा अतिक्रमण हुँदा बेखबर सेनाले सुकुमवासी बस्तीमा किन परेड खेल्दैछ ?’
देशमा एक्लौटी शासन गर्ने योजनाबद्ध प्रक्रियामा रास्वपा रहेको तर्क गरेका थापाले नीति तथा कार्यक्रमले नसमेटेको टिप्पणी गर्दै थप भनेका थिए, ‘राष्ट्रिय झन्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ ? असंलग्न नीतिको खिल्ली उडाउँदै सशस्त्र टीओबीहरूको ताण्डव नृत्यप्रति यो नीति तथा कार्यक्रम किन चुपचाप छ ?’
रास्वपालाई ‘अराजक भीड’ भन्दै थापाको कडा अभिव्यक्तिप्रति रास्वपा सांसदहरुले आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेका थिए । बुधबारको प्रतिनिधिसभा बैठकमा पनि सत्तारुढ रास्वपा सांसदहरुले थापाको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याएका थिए । त्यसपछि सभामुख अर्यालले थापाको भनाइसंसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रूलिङ गरेका हुन् । यस्तै सभामुख अर्यालले यहि वैशाख २९ गतेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपनेता गणेश पराजुलीले प्रयोग गर्नुभएका केही शब्दहरू नियमावली विपरित रहेको भन्दै हटाउन आदेश दिए । सांसद पराजुलीले आफ्नो सम्बोधनका क्रममा प्रयोग गर्नुभएको ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी’ भन्ने वाक्यांशहरू संसदको गरिमा प्रतिकूल रहेको ठहर गर्दै सचिवालयलाई ती शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिइएको हो । सभामुख अर्यालले आगामी दिनमा आफ्ना धारणा राख्दा संसदीय मर्यादा र नियमावलीको पूर्ण पालना गर्न सम्पूर्ण सदस्यहरूलाई सचेत गराएका छन् ।
नियमावलीमा के छ ?
प्रतिनिधिसभा नियमावलीको नियम २१ मा छलफलमा भाग लिने सदस्यले पालना गर्नुपर्ने नियमहरू छन् । जसलाई छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्दछ ।
जसअनुसार सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने हुन्छ । सभामुखले ‘पद अनुकूल आचरण गरेको छैन’ भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने भनिएको छ । संविधानको धारा १०५ ले बहसमा बन्देज गरेका विषयमा छलफल गर्न नहुने विषय पनि छ । साथै, अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्नेगरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने प्रावधान छ । बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरूपयोग गर्न नहुने विषय पनि नियमावलीमा छ ।

Author

You may also like