‘शिक्षा यस्तो शक्तिशाली हतियार हो, जसको प्रयोगले संसार बदल्न सक्छ ।’ यो भनाइ महान व्यक्तित्व नेल्सन मन्डेलाको हो । वास्तवमा यो भनाइ एकदमै सही हो किनकि शिक्षा जीवनको आलोक हो । शिक्षा भएन भने मानव अन्धकारमा रुमल्लिन बाध्य हुन्छ र ज्ञानको ज्योति एकअर्कामा बाँढ्न सक्दैन ।
शिक्षा मानवलाई बाटो देखाउने एउटा मार्ग हो र यो जीवन ज्यूँने कला पनि हो । शिक्षा मानव जातिको आभुषण हो । यसले समाजमा मानवको इज्जत र मान प्रतिष्ठा बढाउँछ । शिक्षित व्यक्तिको सर्वत्र कदर पनि गरिन्छ । शिक्षा नै हरेक किसिमका उन्नतिको मुहान भएकोले यसैबाट व्यक्ति, समाज, राष्ट्र र विश्वको उन्नति हुन सक्दछ । आजको भौतिक सुविधाले सम्पन्न युगको निर्माण शिक्षाकै कारणले भएको हो । यसले मानवले भौतिक सुख, आत्मिक सुख दुबै प्रदान गर्दछ । शिक्षाले नै राष्ट्रको उन्नतिमा ठूलो टेवा पुर्याउने भएकोले यसको महत्व सबैभन्दा माथि छ । कुनै विषयमा ज्ञान लिनु वा दिनुलाइ शिक्षा भनिन्छ । शिक्षा ग्रहण गर्नका लागि कुनै उमेर, धर्म र संस्कारले छेक्न सक्दैन । मानवले कोक्रोदेखि चिहानसम्म शिक्षा हाँसिल गरिरहेको हुन्छ । पूर्ण रुपले कसैले कहिलेपनि शिक्षा ग्रहण गरेको हुँदैन । शिक्षाकै कारण नै यो संसार चलिरहेको छ । सायद शिक्षा नभएको भए यो संसार अन्धकारभित्र रुमल्लिरहेको हुन्थ्यो होला । शिक्षाले नै मानवलाई सत्मार्गमा प्रेरित गर्छ । यसको सिकाइ सधैं चलिरहन्छ । पढेर, बुझेर, जानेर कहिले सकिन्न । एउटा व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई पनि सुधार्नलाई शिक्षा अपरिहार्य छ ।
एउटा असल व्यक्ति, परिवार, समाज, समुदाय र राष्ट्र बनाउनलाई शिक्षा आवश्यक छ । यदी सबै मानवमा शिक्षा नभइदिएको भए यो भौतिक संसार गोलमाल हुनेथियो, ढुङ्गे युग हुनेथियो । शिक्षाका खम्बाहरु नै हुने थिएनन् । यहाँ जसले जे गरेपनि हुने थियो, बौद्धिकताको खडेरी हुनेथियो । समयले आफैं केही सिकाउँदै आउने भएपनि समाजलाई छिटो छरितो रुपमा डोर्याउने र विकासको गति दिने काम चाँही शिक्षाको अभावले स्थीर सरह हुन्थ्यो ।
शिक्षा जीवनको उज्यालो किरण हो, जसले कसैलाई काखा पाखा नगरी समान रुपमा व्यवहार गरी जीवनको ज्योति बाँढ्छ । हिजोदेखि आजसम्मको शैक्षिक इतिहास हेर्ने हो भने आकाश र पातालको फरक पाउँछौं । हिजोको ढुङ्गे युगमा शिक्षाको चेतना स्तर अहिलेको जस्तो थिएन । भाषाको विकास भएकै थिएन । पढ्ने भाषा, लिपी नै थिएन । सबै जङ्गली वातावरणमा हुर्किदै आएका थिए । जब मानिसहरुको संख्या बढ्दै गयो, तब त्यहीभित्रबाट केहीको दिमागले चेतनाको तहको विकाससँगै नयाँ सोच्न थाले । उनीहरूको चेतनाको स्तर दिनानुदिन बढ्दै गयो, सबैले पढ्नुपर्छ भन्ने चेतना जागृत हुन थालेदेखि अनि मात्र भाषा र लिपी खोज्न थालियो । मानव जीवनको सहजताका लागि विभिन्न खाले उपायहरु ऋाउन थाले । त्यही उपाय नै शिक्षाका रुपमा अघि बढ्न थाल्यो । पढ्ने पढाउने क्रम सुरु भयो । एकले अर्कोलाई कुराकानीद्वारा पढ्न र नजानेको, नबुझेको कुराहरू सोध्न थाले । यसरी नै शिक्षाको स्तर दिनानुदिन बढदै गयो ।
प्राचीनकाल, माध्यमिककालदेखि वर्तमान अवस्थाको आधुनिककालसम्म आइपुग्दा बालकदेखि बृद्धसम्ममा शिक्षाको स्तर धेरै नै बृद्धिहुँदै गएको छ । यो एकदमै राम्रो अवस्था हो, जसले गर्दा नेपालीहरु पनि विश्वमा प्रतिष्पर्धामा उत्रिन सक्ने भएका छन् । यसको सबैभन्दा ठूलो उपलब्धि भनेकै विज्ञान र प्रविधिको तीव्र विकास हो । यसको विकासले गर्दा आज शिक्षामा आमूल परिवर्तन भएको छ । नजान्नेहरु जान्ने भएका छन् । शिक्षाको ग्लोबलाइजेसन एउटा कोठाभित्र छ । जसबाट यो संसारलाई सजिलै नियाल्न सकिन्छ । शिक्षाका रुपहरु, अवयवहरु दिनानुदिन रुपान्तरण हुँदै आएका छन् । अहिले नेपालभर कता के भइरहेको छ त्यो क्षणभरमै थाहा पाउने भएको अवस्था छ । यो सबैको जानकारी दिने भनेकै सूचनाका माध्यमबाट नै सम्भव भएको हो । विज्ञानको उच्चतम अविष्कारले गर्दा आशातित परिवर्तन भएको छ । कुनैपनि विषयमा बुझ्न, जानकारी प्राप्त गर्न, अन्वेषण गर्न सजिलो माध्यम भनेकै गुगल, युट्युब लगायत हुन् । टाढा भन्दा टाढा भएपनि जुम मिटिङबाट सजिलै जुनसुकै विषयको ज्ञानबोध गर्न सकिनेसम्मको प्रविधिको विकास हाम्रै देशमा भइसकेको छ ।
तर यतिसम्म हुँदासम्म शिक्षा क्षेत्र अहिले पनि अन्यौल छ, व्यवहारिक शिक्षा कसैले पनि लागू गर्न सकिएको देखिन्न । घोकन्ते विद्या र अव्यवहारिक शिक्षाका कारणले अहिलेका युवायुवतीहरु वैदेशिक रोजगारका लागि विदेश जाँदासम्म सोचेजति आयआर्जन गर्न नसकेको अवस्था छ । खासगरिकन प्राविधिक धार अन्तर्गतको शिक्षा, मेकानिकल, इलेक्ट्रिकल, इन्जिनियर, ओभरसियर, कृषि क्षेत्र अन्तर्गतको शिक्षापार्जन गर्ने विषयमा राज्यले धेरै लगानी गर्न नसकेको अवस्था छ । यही कारणले पनि प्राविधिक जनशक्तिको उत्पादन गतिशील छैन । अर्को कुरा संविधानले आधारभूत तहसम्मको शिक्षा निशुःल्क र अनिवार्य हुने तथा माध्यमिक तहसम्मको शिक्षा निशुःल्क हुने व्यवस्था गरेको छ । तर कार्यान्वयन भनें हुन सकेको छैन । जबसम्म शैक्षिक क्षेत्रमा राजनीति घुसेको हुन्छ , तबसम्म शैक्षिक जगतमा उल्लेख्य परिवर्तन हुन सक्दै – सक्दैन । विभिन्न बहानामा विद्यार्थीसंग शुल्क असुल्ने काम चलिरहेको छ । हरेक देशको शिक्षा निश्चित दर्शन, मूल्य, मान्यता तथा मौलिक सिद्धान्तबाट निर्देशित हुनुपर्छ । तर, नेपालको वर्तमान शिक्षाले न त पूर्वीय मान्यताका असल अभ्यास र परम्परालाई आत्मसात गर्न सकेको छ न त पक्षिमा दर्शनको ब्यबहारिक पक्षलाई नै पहिचान गर्न सकेको छ । नेपालमा कति सामुदायिक विद्यालयहरुमा आधारभूत देखि माध्यमिक तहसम्म पढाइ हुने ऐच्छिक बिषय प्राविधिक धार राख्न नसकेर अर्कौ नयाँ विषयहरु राखेको अवस्थाले गर्दा पनि विद्यार्थीले चाहेको विषयमा ज्ञानबोध गर्न नसकेको अवस्था छ । यसरी समस्यै समस्याले जेलिएको अवस्था विद्यमान छ । सरोकारवाला निकायले यसलाई कसरी सुधार गर्दै लैजाने भन्ने विषयमा समेत अन्यौल छ ।
अर्को कुरा नीतिगत अस्पष्टता छ त्यो के हो भने एकातिर विद्यालय शिक्षा विकासको लागि उपयुक्त नीतिको अभाव छ भनें, अर्कोतिर बनाइएका नीति नियमहरु कार्यान्वयन हुन सकेका छैनन् । सबै अन्यौलग्रस्त छन् । विद्यालय समुदायमा हस्तान्तरण, विधालय व्यवस्थापन समिति गठन, शिक्षक अभिभावक संघको गठन, गाउँ शिक्षा समिति गठन, जिल्ला शिक्षा समिति, विद्यालय क्षेत्र सुधार कार्यक्रम, शिक्षण अनुमतिपत्र तथा प्रधानाध्यापक नियुक्ति विद्यालय संरचनागत तह ( मा.वि. तथा उ.मा.वि.तह ) आदि विषयमा पनि नीतिगत स्पष्टता छैन । यतिमात्र होइन अव्यवहारिक पाठ्यक्रम अहिले पनि ज्यूँका त्यूँ छ । पाठ्यक्रम सिकाइको योजना हो । पाठ्यक्रमले सिकारुको चाहना, समाजको सपना र राष्ट्रको आवश्यकता पूरा गर्नुपर्दछ । राष्ट्रलाई विभिन्न क्षेत्रमा आवश्यक पर्ने जनशक्ति पूरा गर्न उपयुक्त र सान्दर्भिक पाठ्यक्रमको आवश्यकता पर्दछ । विज्ञान र प्रविधिसँग सम्बन्धित, नेपाली माटो अनूकुलको गुणस्तरीय, वैज्ञानिक, व्यवसायिक तथा नेपालमा विद्यमान साधन र स्रोतको पहिचान एवं परिचालन गर्न सक्ने पाठ्यक्रमबाट मात्र राष्ट्रले अपेक्षा गरेको जनशक्ति प्राप्त गर्न सकिन्छ । तर हाम्रा शिक्षालयका पाठ्यक्रमहरु बढी परम्परागत र सैद्धान्तिक प्रकृतिका भएकोले यसले शिक्षा विकासमा खासै योगदान पुर्याउन नसकिरहेको अवस्था छ । स्थानीय आवश्यकता तथा सम्भावनाहरुको समुचित पहिचान गरेर सोही अनुरुपको पाठ्यक्रमलाई निर्विकल्प रूपमा उपयोग गर्नु आवश्यक छ ।
हाम्रा धेरै सामुदायिक विद्यालयसँग पुग्दो जग्गा, भवन र शैक्षिक सुविधा छ, शिक्षक छन् । श्रोत र साधनका हिसाबले अधिकांश विद्यालय राम्रो अवस्थामा छन् । यति हुँदासम्म आम रुपमा यी विद्यालयमा विद्यार्थीको सिकाइ स्तर कमजोर छ । कक्षा ५ पूरा गरेका धेरैजसो विद्यार्थी आफ्नो पाठ पढ्न र लेख्न नसक्ने अवस्थाका पनि छन् । यसको कमजोरी पक्ष के होला ? यो सम्म केलाउने कोही नहुँदा धेरैजसो आधारभूत तह चलिरहेका विद्यालयहरु बन्द हुने अवस्थामा छन् । यसको अर्थ सिकाइको स्तरमा चित्त नबुझाएर अभिभावकहरु निजी विद्यालयमा महंगो रकम खर्च गरेर आफ्ना बालबच्चा पढाइरहेका छन् भनें सरकारी विद्यालयमा बढी मात्रामा राजनीति चल्नु, सोर्सफोर्समा शिक्षक नियुक्ति गर्नु, पठनपाठन प्रभावकारी र नियमित नभएको अवस्था देखिन्छ । यसलाई कसरी सुधारेर लैजानेतर्फ सरोकारवाला निकाय कानमा तेल लगाएर बस्नु पनि अर्काे कमजोरी हो । विद्यार्थीको सिकाइ गुणस्तरमा अपेक्षित परिवर्तन भने आउन सकेन किन होला ? यसको सर्वत्र जनचासो, सरोकारको विषयको व्यापक बहस कोही कसैले चलाउन सकेनन् । शिक्षामा राज्यको लगानी नभएको होइन । तर त्यो लगानी बालुवामा पानी खन्याएझैं सो सरह भएको छ । यतिमात्र होइन हाम्रा सामुदायिक विद्यालयमा शिक्षकहरुबीच सामूहिक भावना र स्कुलप्रतिको अपनत्वको कमी छ । शिक्षक र व्यवस्थापन सदस्य दुबै राजनीतिक आस्थाका आधारमा विभाजित र पूर्वाग्रही छन् । शिक्षकहरुमा ‘हामी सबै एउटै विद्यालयका परिवारका साझा सदस्य हौं’ भन्ने भावनाको कमी अहिलेपनि जस्ताको तस्तै छ । यसलाई आगामी दिनमा परिमार्जित गर्दै लैजान हातमा हात, साथमा साथ र दृढताका साथ हातेमालो आजैबाट गरौं । परिवर्तित शिक्षा आजको आवश्यकता बन्न सकोस् ।
(गौतम, नेपाल राहत शिक्षक झापा जिल्ला उपाध्यक्ष हुन् )