मुख्य विचार/वहस

सपना र असिम सम्भावना नटुटुन् बालेन

गणेश कार्की –
प्रतिष्ठित टाइम म्यागेजिनको सय उदीयमान नेताको सूचीमा तपाईको नाम, तपाईको फोटो देख्दा गौरवले छाती एकपटक ढक्क भयो । प्रीय बालेन शाह ! तपाई र हामी सबैलाई बधाई छ ।
र, तपाई मेयरमा निर्वाचित भएबाट मेरो मनमा डर गडेर बसेको छ । त्यो डर पोख्ने आज सहि समय हो भन्ने लागेको छ । जहाँसम्म मलाई लाग्छ, यस्तै डर तपाईलाई समर्थन गर्ने हरेकको मनमा पनि छ ।
डर के हो भने नि, हामीसँग सपना र असिम सम्भावना छन् । ति टुट्लान् कि भन्ने लाग्छ । किनभने नेपाली इतिहासले पटक पटक धेरै सपना र सम्भावना देखाएर पछि फेरि फिस्स पारिदिएको छ ।
यसबारेमा मेरो आफ्नै धारणा पनि छ, जुन तपाईलाई प्रत्यक्ष भनेको पनि छु र सार्वजनिकरुपमा लेख नै पनि लेखेको छु । संयोगवश समयले कसै–कसैलाई मौका दिन्छ, इतिहास लेख्ने वा लेखिएको इतिहासको अगुवाइ गर्ने । तर त्यही समयले क्रूरतापूर्वक त्यही अगुवाको ल्याकत जाँचिदिन्छ । हैसियतभन्दा बढी रहेछ भने त्यो सबै खोसिदिन्छ । राजनीतिको इतिहासभरि यस्ता उदाहरण बग्रेल्ती छन् । समयले दिएको मौकालाई सदुपयोग गर्न सकेका भए धेरै नेता एउटा गुट, एउटा पार्टी मात्रैको ‘कैद’मा हुँदनथे । उनीहरू समाजका हुनेथिए । समयका हुनेथिए । सबैका हुनेथिए ।


तपाई नेपाली इतिहासको त्यो समयमा हुनुहुन्छ, जति बेला नियमप्रति कसैको विश्वास छैन । नियम पालना गर्नु पर्छ भनेर कसैलाई वाध्यकारी छैन । पहुँच र शक्तिका आधारमा नियम फेरिन्छन्, टारिन्छन् । यस्तो समयमा तपाईले नियम के हो भन्ने बुझाउनु पर्नेछ । त्यसमा केहि हदसम्म सफल हुदै पनि हुनुहुन्छ । तर बाँकी त अझै आकाश जति नै विशाल छ । तपाईले त्यो गर्नै पर्छ ।
म तपाईलाई नै पटक पटक भन्छु नि, तपाईलाई मन परे पनि वा नपरे पनि, तपाईसँग ल्याकत भए पनि वा नभए पनि, तपाईले जिम्मेवारी बोध गरे पनि वा नगरे पनि, एउटा केहि अलग्गै तपाईसँगै स्थापित हुन लाग्दैछ । त्यो महान लक्ष्यका लागि तपाईले आफ्नो रहरलाई मार्नु पर्ने हुन सक्छ, स्वभावलाई बदल्नु पर्ने हुन सक्छ, दौडिनु मन लाग्दा रोकिनु र रोकिन मन लाग्दा दौडिन पर्ने हुन सक्छ । विश्वास छ, तपाई त्यसका लागि तयार हुनुहुन्छ ।
अझै धेरै के लेखौँ, कमजोरीसहितको, बेलाबेला मानवीय गल्ति गर्ने तर नदोहोर्याउने, भविष्यको अपार सम्भावना भएको मान्छेकारुपमा तपाईप्रति सप्रेम सम्मान छ । अनि, तपाईका कर्मले म भित्रको डर हटोस् भन्ने स्वार्थपूर्ण तर अनन्त शुभकामना छ ।

Author

You may also like