मुख्य विविध

आज कुशे औंसी-बुवाको मुख हेर्ने दिनको सांस्कृतिक महत्व

दमक÷ हिन्दू वैदिक परम्परा अनुसार भाद्र कृष्ण औंसीलाई कुशे औंसी वा बुवाको मुखहेर्ने दिन भनिन्छ । यसको अर्को नाम गोकर्ण औंसी पनि हो । यस दिनको पहिलो काम कुशलाई घरमा ल्याउनु हो । नयाँ कुश नभएसम्म कुश प्रयोगमा आउने सबै कर्महरु प्रारम्भ गरिँदैन । यस दिन काटिएको वा उखेलिएको कुशको मान्यता १ वर्ष सम्म रहन्छ ।
कुश के हो ? यसको उत्पत्ति कसरी भयो ?
कुश बाहिरी आँखाको हेराइमा खर (उर्लुक) वा शिरुजस्तै एक प्रकारको घाँस हो । तर आध्यात्मिक दृष्टिबाट यो पवित्रतम् वस्तु हो । यो तराईभागमा प्रसस्त पाईन्छ भने पहाडी भागमा कम मात्रामा पाईन्छ ।
वराहरुपी विष्णुले पृथ्वीको उद्दार गरेपछि यज्ञबराहको रुपमा प्रार्थना गर्दा रौं लाई नै कुशको रुपमा मानेको विश्वास छ भने कतै विष्णुले समुन्द्र मन्थन गर्दा कुशको उत्पत्ति भएको हो भन्ने धारणा पनि रहेको र्पान्छ । यस्तै वृन्दाको श्राप पुरा गर्न भागवान बिष्णुले कुशको रुप धारण गर्नु भएको व्यहोरा श्री स्वस्थानी ब्रतकथा प्रसङ्गमा पाइन्छ ।
कुश घरमा ल्याउने यस पवित्र दिनमा सबेरै उठी, स्नानआदि कर्म सम्पन्न गरी सुद्ध, सफा सेतो वस्त्र लगाई कुश भएको ठाउँमा गई ’ॐु मन्त्र उच्चारण गर्दै कुशलाई स्पर्श गर्ने र सँगै लगेको जौ, तिल, चन्दनले पुजा गर्दै यस मन्त्रले प्रार्थना गर्ने चलन छ ।
कुश उखेल्ने वा काट्ने प्रसङ्गमा फरक–फरक बुझाइ रहेको पाइन्छ । नित्यकर्म–पूजाप्रकाश भन्ने पुस्तकको कुशोत्पाटन–विधि (पेज ४३) मा कुश उखेल्ने विधिलाई स्पष्ट पारेको छ । पितृकार्यका लागि जरै सँगको कुश चाहिने हुँदा यसका लागि कुश उखेल्नु नै श्रेय हुन्छ । कसैले यस्तो कुश पितृ कार्यकै दिनमा उखेली प्रयोग गरेको पाईएको र धेरैले कुशे औंशीका दिन जरै सहित उखेलेको कुश प्रयोग गर्ने गरेको पाइन्छ ।
कतैकतै फेदैदेखि काटिएको कुशलाई पनि प्रयोगमा ल्याएको पाइन्छ । श्राद्धको पिण्डपूजा गर्ने क्रममा शुद्ध माटो माथि जरा सहितको कुश, त्यसमाथि पातमा पिण्ड राखी पुजा गर्ने चलन छ । कुश पितृतिर्थ (बुढीऔंला र चोर औंलाको बिच)बाट उखेल्नु पर्छ । यसलाई व्यवहारिक उदाहरणको रुपमा मकैको बोट उखेल्दा झैं गरी उखेल्ने भनेर बुझ्न सकिन्छ । यसरी उखेल्दा ‘हुँ फट्’ भन्ने मन्त्र उच्चारण गर्ने चलन पनि रहेको पाईन्छ ।
कुशलाई काटेर प्रयोग गर्ने सन्दर्भमा साह्रो माटो, जरै सहित उखेल्न खोज्दा पनि चुँडिने, उखेलिएको खण्डमा अर्को वर्ष कुश उत्पादन कम हुने, उखेल्दा हात काटिन सक्ने तथा एकै झड्कामा उखेल्नु आँफैमा कठिन काम भएर नै प्रार्थना गर्दै हतियार (आसी) लगाई काट्ने व्यवहारिक चलन पनि छ।यसरी केही कुश जरैदेखि उखेली ,बाँकी हतियार लगाई काट्ने परम्परा व्यवहारिक देखिन्छ । कुश उखेल्न वा काट्न बस्दा पूर्व वा उत्तरतर्फ फर्कने चलन पनि छ ।
कुश प्रयोगमा आउने धेरै कर्महरु छन्, ती मध्ये केहीलाई यसरी स्मरण गर्न सकिन्छ । कुनै ब्राह्मणलाई दानदिनु पर्यो तर उनको अनुपस्थिति भएमा उनको प्रतिनिधि पात्र स्वरुप कुशको ब्राह्मण बनाई तहीँ दान दिएर ब्राह्मणका हातमा पुर्याउने चलन छ । त्यस्तै आफ्ना स्वर्गीय वृद्धवृद्धा बुवाआमा तिर्थमा जान ईच्छा प्रकट गर्नु भएको तर जान नसकेको अवस्थामा उहाँहरुको स्मरण गर्दै कुश लिएर तिर्थमा स्नान गर्यो भने उहाँहरुको तिर्थस्नानको ईच्छा पुरा हुन्छ भन्ने विश्वास रहीआएको पाईन्छ ।
बाढी पहिरोमा वा खोलानालामा परी लास प्राप्त गर्न नसकिएका वा सय वर्ष भन्दा बढी समय देखि हराई सम्पर्कमा नआएका आफ्ना स्वजनहरुको क्रिया गर्नु परेमा तिनको मनुस्याकृति (पुत्ला) बनाई दाहसंस्कार गर्ने चलन छ । यस्तो पुत्लामा पनि कुशको प्रयोग गर्ने चलन रहेको पनि पाईन्छ ।
हाम्रो संस्कृतिमा कुशको प्रयोग विभिन्न काममा गरिन्छ । कुश सत्वगुणको प्रतिक पनि मानिन्छ । यसको धारणबाट सत्गुणको वृद्धी हुन्छ भन्ने विश्वास छ । कुशको औंठी लगाई कुश मिसिएको गुन्द्रीमा बसी जप तप आदि अनुष्ठान कार्यमा सरिक हुँदा उर्जा शक्ति घनिभूत भई अनुष्ठान कर्ताको वरीपरीनै रहने हुँदा उर्जाशील ब्यत्तित्व निर्माणमा सहयोग पु¥याउँछ भन्ने मान्यता छ ।
कुशको फेदमा ब्रह्मा, माझमा विष्णु र टुप्पामा शिवजीको वास हुन्छ भन्ने विश्वास छ । कुशको अभावमा यसको विकल्पको रुपमा काँस, दुबो, जौ, सिरु, सुन, चाँदी, तामा पनि प्रयोगमा ल्याउने प्रचलन छ । लगनशील, तिष्ण, मेधावी विद्यार्थीको बुद्धीलाई कुशसँग तुलना गरी कुशाग्र बुद्धी भएको उपमा दिइन्छ । उसले सारतत्व फेलापार्ने क्षमता राखेको छ भन्ने बुझिन्छ ।
कुश सफा शुद्ध ठाउँमा उम्रेको र सर्लक्क परेको हुनु पर्दछ । कुश घरमा ल्याईसके पछि हल्का सुकाई जतनसाथ प्राकृतिकपन नजाने गरी संरक्षण गर्नु पर्दछ र अझ किलो (सहजै पहुच नहुने) ठाँउमा राख्नु पर्दछ ।
बुबाको मुख हेर्ने औँसी-


कुशे औँसीलाई बुबाको मुख हेर्ने औँसी पनि भनिन्छ । आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गरियो । गुरु पूर्णिमामा गुरुको सम्झना गरियो भने आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन । संसारमा हरेक बिहान बिस्तारै गएर एउटा साँझमा रूपान्तरित हुन्छ । बिहान उदाएका सूर्य अस्ताउने रीत छ । यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुबा त कहिले छोरा, कहिले आमा त कहिले छोरीको भूमिका निर्वाह गर्ने क्रम चलिरहन्छ ।
चाहे जुनसुकै धर्म या सम्प्रदायका भए पनि बुबाको हात समातेर तोते बोली बोल्दै लरबराएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौँ । त्यसरी ताते–ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिन–रात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुबा । सायद, शब्दले व्याख्या गर्न सकिन्न । तिनै बुबाहरूको बुढेसकालको बलियो लाठी बन्न हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौँ होला ! जे होस् आमा–बुबा नै यस जगत का देख्न सकिने भगवान् हुन् । आजका दिन पृथ्वी लोकका सम्पूर्ण पिताहरूलाई स्मृति गर्दै कोटी–कोटी नमन गरौँ ।
‘यी छोराछोरी बढ्लान् । कमाई गर्लान् र दूध भात देलान् मलाई’ भनेर हरेक आमा–बाबुले आफ्ना छोराछोरीसँग अपेक्षा राखेका हुन्छन् । सानामा आफूले थाङ्ना धोएर, को खाई को खाई गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरूले पछि हुर्किएर आफूलाई दूध भात अर्थात् मिठो पोसिलो खानेकुरा देलान् र माया गरेर राख्लान् भन्ने आशा हुन्छ ।
कुशे औँसीका दिन पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्छन् भने भौतिक रूपमा अस्त भइसकेका पिताहरूलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न धार्मिक पीठ, देवालयमा गएर पनि बुबा आमालाई सम्झिने चलन छ ।

Author

You may also like