मुख्य विचार/वहस

भडकिलो बन्दैछ हरितालिका तीज पर्व

ओमप्रकाश गौतम-
“बाबाको बारीमा काकरीको बिरुवा लहलह पात बरिलै
नारी पुरुष बराबर भाषण जति ठोके नि
महिलामाथि कामैकामको खात बरिलै “
यस्तै –यस्तै गीतहरु गुन्जने गर्छन प्रत्येक बर्ष हरितालिका तीज पर्वमा । यो पटक पनि तीज सम्बन्धि गीतहरु नयाँ – नयाँ शब्द र संयोजनमा बजारमा आइरहेका छ्रन् । जिन्दगीलाई आह्लादित बनाउनका निम्ति चेलीबेटीहरु छमछमी नाच्नका निम्ति यी गीत आएका हुन् र आउनुपर्छ पनि । माइती चेलीकोबीचमा गहिरो मायाभाव राख्नका निम्ति प्रत्येक बर्ष आउने गर्छ , हरितालिका तीज । तर यो पटक अलि पछि धकेलिएको छ यो पर्व । जे होस जस्तो होस यो पर्व नयाँ – नयाँ रौनकताका साथ आइरहेको छ । दैवसंजोग यो पर्व अहिले बाबुको मुख हेर्ने दिन र कुशेऔंशी यो पटक एकैदिन आज परेको छ । बिशेषत ः तीज हिन्दु नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिनसम्म मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दु महिलाद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन । यो पर्व मुख्य रुपले नेपालभर मनाइन्छ भने भारतको कुनैकुनै प्रान्तमा पनि मनाइन्छ । नेपालीहरु बसोबास भएका देशहरुमा नेपालीले यो पर्व उस्तै धुमधामकासाथ मनाउने गरेका छन् । आद्यशक्ति भगवान शिवकी अर्धाङ्गिनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस भनी पहिलो व्रत राखेकी थिइन । त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दु नारीहरुले यो पर्व मनाउदै आएका छन भन्ने विश्वास जनजनमा गरिन्छ । यस्तै, तीजको धार्मिक पृष्ठभूमिलाई केलाउने हो भने हिन्दु धार्मिक ग्रन्थानुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान बिष्णुसङ्ग गरिदिने वचन पार्वतीलाइ मन नपरेपछि आफूले मन पराएको बर पाउन जंगल गएर शिवजीको तपस्या गर्न थालिन । पार्वतीले तपस्या गरेको एकसय बर्षभन्दा बढी भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउदा एकदिन शिवलिङ्गको स्थापना गरी पानी पनि नखाइकन निराहार ब्रत बसिन । यसरी पार्वतीको कठोर ब्रतको कारण शिवजी प्रकट भइ “ चिताएको कुरा पुगोस् ’ भनी आशीर्वाद दिएपछि शिव पार्वतीको वैवाहिक जीवन गासियो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । वास्तवमा त्यही तिथिदेखि हिन्दु नारीहरुले यस पर्वलाइ एउटा उत्सवको पर्वको रूपमा मनाउन थाले । हाम्रो समाजमा तीज महिलाहरुले मनाउने एउटा महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुन रुपले ब्याख्या गरिए पनि यो एक पौराणिककालदेखि चलिआएको परम्परा पनि हो । हाम्रो देश आफ्नै रीतिरिवाज , धर्म र संस्कृतिले भरिएको देश हो । हाम्रो समाजमा विविधता कायम भएको छ । र यही विविधतासङ्गै विभिन्न जातजाति र भाषाभाषी बोल्ने १२५ भन्दा बढी जातीहरु छन् सबैको आ– आफ्नै कला, भाष ,संस्कृति, लिपि, धर्म र रीतिरिवाज छन् तर कोहि कसैको मनोभावनामा ठेस नपुर्याइ चाडपर्व मनाइरहेका छन् । तर केही बर्षयता जातीय सङ्कीर्णता मच्चाउने केही दलालहरुले देशको अस्मितामाथि धावा बोल्ने काम भयो तर अहिले सबै शान्तिको कामना सहित धार्मिक सदभावमा एकता छ । यो खुसीको कुरापनि हो । यही विविधताले गर्दा नै नेपाल एउटै फूलको बगैंचा भन्दा थरीथरीका फूल फूलेको बगैंचा नै बढी सुन्दर देखिएको छ । नेपाल विश्वमान चित्रमा एउटा सानो देश भएपनि यो देशमा हरेक क्षेत्रमा नेपालीहरु वीर छन् । कोहि कसैसङ्ग डराउन्नन् । सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले एकताको सुत्रमा बाधिने गरि आ– आफ्नो चाडपर्व मनाइरहेकै छन् । “ विविधतामा एकता, नेपालको विशेषता, राष्ट्रिय एकताको धार अन्तर्राष्ट्रिय एकताको आधार’ भनेझैं हाम्रो देश नेपालमा कोहि कसैमा कटुताको भावना छैन । सबैमा मेलमिलाप छ । त्यही भएर होला यो हरितालिका तीज पर्व पनि अहिले विभिन्न संघसंस्थाहरुले एकताको भावका साथ मनाइरहेको देखियो यो पटक । सबै दिदीबहिनीहरु मिलेर एकताको भावसङ्गै हिजोका दिनसम्म हरितालिका तीज पर्व मनाए । आगामी दिनमा यसरी नै सदभावकासाथ यो पर्व अझै राम्ररी मनाउदै जाउन् हाम्रा चेलीबेटीहरुले । तर हिजो जसरी यो तीज पर्व मनाइदै आएको थियो आज हिन्दु महिलाहरुको महान पर्व तीज धार्मिक आस्था र साँस्कृतिक महत्वका साथ मनाइने भएपनि आधुनिकताका नाममा नचाहिदो तडकभडक, पार्टी प्यालेसदेखि पाँचतारे होटलसम्म दरखाने, खुवाउने र बहुमूल्य वस्तुको प्रदर्शन गर्ने होडवाजी चल्न थालेपछि तीज पर्वको वास्तविक मौलिकता हराउन थालेको आभाष हुँदाखाने महिलाहरुको छ । केही वर्ष यता विभिन्न संघसंगठन, संस्था, दलहरु र तिनका भातृसंगठनको आयोजनामा सामूहिक रुपमा दर खाने अभियान चलिरहेको स्पष्ट देखियो भने त्यो दलीय सिण्डिकेटमा अरु कुनै अर्को दलका महिलाहरुलाइ मिसिन नदिइकन कार्यक्रम चलाइरहेको देखियो । साँचो अर्थमा यो हुनुहुँदैनथ्यो तर यो क्रम यो एकमहिना अघिदेखि महिला दिदीबहिनीहरु नाचेको भिडियो बाहिरिएको छ । कुनैपनि चाडपर्व आफ्नो हैसियत अनुसार मनाउनुपर्छ । धर्म संस्कृतिको सम्बद्र्धन तथा प्रवद्र्धन सबैले गर्नुपर्छ । केही हदसम्म समय क्रम अनुसार परिवर्तन गरेर जानुपर्ने हो तर युवा पिँढीहरुले यो पटक टिकटकमा अर्धनग्न तस्वीर लगाएर नचाहिदा उच्छृङ्खल गीतहरुमा नाचेका भिडियो भाइरल भए । त्यतिमात्रै होइन मदिरा सेवन गरेर घर जादा सासुससुरा र श्रीमान समेतलाई गालीगलौज गरेर हप्कीदप्की गरेका नचाहिदा भिडियोहरु भाइरल भए । तीज पर्वमात्रै नभइ अरु सवै चाड – पर्वलाई राज्यले नियमन नगर्ने हो भने समाजले ठूलो संकट ब्यहोर्नु पर्छ यसमा दुइमतै छैन । समाज र संस्कृतिलाइ बजारले पूर्णरुपमा थिचिसकेको र बजारको सीमा असीमित हुने भएकाले त्यसलाई मानिसको आम्दानीले थेग्न नसक्दा दुर्घटना निम्तिने निश्चित प्रायः छ । वास्तवमा भन्ने हो भने संस्कृति परिवर्तनशील छ तर परिवर्तन कतातिर उन्मुख छ भन्ने महत्वपूर्ण विषय हो । तीजको नाममा भएपनि महिलाहरू घरबाट निस्किएका छन् । यो हाम्रो लागि अवसर हो । पर्व मनाउदा मितब्ययिता र अनुशासन चाहिन्छ । तर यसैलाई लिएर बर्बादै भयो भन्ने कोहिकसैले सोच्नु हुन्न । अन्त्यमा , अबको पुस्ताले तीजलाई नाँच्ने र गाउने चाडको रूपमा नलिइ परम्परा र संस्कृति धान्ने चाडका रूपमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले लिनुपर्छ ।

omgautam497@gmail.com

Author

You may also like