लेख विचार/वहस

बालुवाको आवाज र आजको मान्छे

२०१९ जुलाई ९ अर्थात असार २४ गतेका दिन हामी अष्ट्रेलियाको सिडनी हार्वर, ओपेरा हाउस र मान्ले विच को भ्रमणकालागि सिडनीको लिभरपुबाट दुईतले रेल चढेर सिटीतर्पm लाग्यौं । छोरी ज्वाईका साथमा हामीलाई आतिथ्यता दिने रुपक भाइकी धर्मपत्नी सरला पनि थिइन् ।

हामी हार्वरबाट डुङ्गा चढेर मान्ले विचतिर लाग्यौं । समुद्रको त्यो सानो भागबाट पर क्षितिजमा देखिने मान्ले टापुतिर हामी जाँदै थियौं । मानिसहरुको भीड थियो । संसारभरबाट भ्रमण गर्न हाउनेहरुको सङ्गमस्थल रहेछ त्यो ठाउँ । पानीको नीलो गहिराइमा मैले जीवनको गहिराई देखें । कति गहिरो होला यो प्रशान्त महासागरको भंगालो ?

एक जना जर्मन युवा मेरो छेउमा बसिरहेका थिए । बर्लिनको कुरा झिक्दा नरमाइलो माने । होलोकोष्टको कुरा गर्न मन भएर पनि निकालिंनँ । सायद उनी यहुदी थिए होला । सोध्ने आँट आएन । उनीलाई मन पर्ने कुरा गर्नु पर्ने भयो । यस्तै महसुस गरें । र, फुटबलको कुरा गरें । छोरीतिर देखाउँदै भनें, ‘शी इज माइ डोटर । हर फेबरेट टीम इज जर्मन ।’ उनले मुस्कुराए र भने, ‘इट्स माइ प्लेजर ।’ मेरी छोरीको मन पर्ने फुटबल टिम जर्मनी हो भनेपछि उनी मुस्कुराए ।

कहाली लाग्दो इतिहास उनीहरु सम्झन चाहँदारहेनछन् । त्यो इतिहास जताततै फलाक्ने चिज पनि होइन रहेछ भन्ने लाग्यो । हामी मान्ले विच पुग्यौं । बजार रहेछ किनारा पुग्नु भन्दा पहिले । अष््ट्रेलिया लेखिएका क्याप र भेष्ट किन्नुभयो ज्वाईंले । भीड थियो कि कुनै न कुनै सामानमा लोगोको रुपमा ‘अष्ट्रेलिया’ लेखिएको होस । सारा भीड त्यही नामको पछि लागिरहेको थियो । हजारौं मान्छेले त्यो देशको नाम अङ्कित भेष्ट, टोपी, स्टिकर, नेल पोलिस आदि खरिद गरे । उनीहरु देशको नाम बेचेरे पैसा कमाइरहेका थिए । तिनको देशको नाम किन्न मान्छेको भीड थियो । हामीले आप्mनो देशको नाम र गरिमा कहाँ पु¥यायौं ? यो देशको नाम फेरेर यसको इतिहास मेट्ने प्रस्ताव ल्याउनेहरुलाई हामीले देवता मानेको हो कि होइन ? तर मैले त्यहाँ तिनले देशको नाम र त्यसको हिज्जे बेचेर अरवौं डलर कमाइरहेको देखें । मलाई जलन भयो, खरो भयो । स्वास रोकिएला जस्तो भयो ।

एक जना टीनएज केटी सुमधुर गीत गाइरहेकी थिइन सडकको छेउमा साउण्ड सिस्टम मिलाएर । कुनै कलाकारको भन्दा कम थिएन प्रस्तुति । हिड्नेहरु पैसा राखिदिदै हिड्थे । माग्ने पनि सभ्य तरिकाको । काइदाको । त्यसपछि हामी पर्तिर समुद्रको किनारमा पुग्यौं । छाल उठिरहेको थियो । यद्धपि त्यो चीसो मौसम थियो, धेरै मानिसहरु सर्फिङ्ग गरिरहेका थिए छालसंगै । छाल उर्लिएर आउँदा वर बगरसम्म पानी आइपुग्थ्यो । पानीको भीमकाय छालले त्यहाँको बालुवालाई (ढुङ्गा नभएकोले गर्दा) बेस्सरी हान्थ्यो । हिर्काउँथ्यो । पखाल्थ्यो । अनि फर्किएर जान्थ्यो । छाल फर्किएर गएपछि ती बालुवाका कणहरुले ठूलो स्वास फेर्थे । राहतको महसुस गर्थे । तर निमेषमै फेरि छाल आउँथ्यो र त्यो बगरको बालुवालाई बेस्सरी हिर्काउँथ्यो । लछाथ्र्यो । रगेड्थ्यो । टुत्र्mयाउँथ्यो ।

बालुवाको बाहिर आवाज नआए पनि मैले तिनको आवाज सुनें । पीडाको आवाज । लगातार छालले हान्दा ‘एैया’ भनेर चिच्याउँदा चिच्याउँदा लाखौं वर्ष बितेको छ । बेलायती कवि म्यात्थु आर्नोल्डले डोभर नदीको किनारमा पुग्दा त्यहाँ छालले गिटीलाई हिर्काउँदा ती गिटीले निकाल्ने पिडादायी आवाज आप्mनो कविता ‘डोभर विच’ मा उतारेका छन् । ती गिट्टीका कर्कश आवाज आजका मान्छेका पीडाका आवाज हुन रे । आर्नोल्ड त्यसै भन्छन् त्यस कवितामा । मैले ती बालुवाका कणको पीडादायी आवाज सुनें, र देखें डोभर खोलाका गिट्टी । यो प्रशान्त महासागरको छेउका वालुवाका कण र नेपाली जनता एकै रहेछन् । बारबार हिर्काइ खानु पर्ने । कुरुप समयको छालले हानेर थिल्थिलो भएका नेपालीजनहरुको आवाज देखें मैले । कविताका गिट्टी, मान्ले विचको बालुवार नेपालीजनता उस्तै लाग्यो । ती सिर्पm चिच्याउँछन् लगातार । तर कसले सुन्छ तिनको चित्कार ? गिट्टीको चित्कार ती कविले बाहेक कस्ले सुने ? बालुवाको चित्कार मैले बाहेक कस्ले सुने ? नेपाली जनताको चित्कार कस्ले सुन्छ ? कति भयो चिच्याएको ? बन्दुकको विरासत लेख्न गरिएको गराइएको चित्कार कहाँ बिलिन भयो ? आज न्याय माग्दै सडकमा भरिएका मान्छेको चित्कार कसले सुन्छ ? बरु तिनै चित्कार गर्नेहरुलाई थुकिन्छ । हिजोका इतिहासका सबै कालखण्डमा सत्तासिनहरुले सडकमा चिच्याउनेहरुलाई थुकेकै थिए । सत्तरी वर्ष नेपाली जनता सडकमा चिच्याएको कसले सुनेको छ ? यही संझें ।

सर्फिङ्ग गर्नेहरुको भीड हे¥यौं त्यहाँ । सबै प्रकृतिसंग रमाइरहेका थिए । हामी पनि रमायौं । समुद्रसंगको सामिप्यता त्यो नवीन थियो हाम्रा लागि । जानुकाले समुद्रको एक अंजुली पानी उठाएर ल्याइन् र चाखिन । मलाई पनि चटाइन् । अति नुनिलो थियो । हावाले ठेलेर छाल बनिदैं छिनछिनमा ठोक्किंदा ठोक्किंदा तिनका पनि आँशु आएहोलान् । त्यसैले ती नुनिला थिए, आँशु जस्तै ।

सबै प्रकृतिका प्रेम पूजारी । त्यहाँ नरमाउने, नमुस्कुराउने कोही पनि थिएन । त्यो विशाल सागरको पानीसंग खेल्नेहरुको, पानीसंग रम्नेहरुको राजधानी थियो त्यो विच । देखें, केटाकेटी जहांँका पनि उस्तै । प्रकृतिप्रेमी । बालुवामा खेलिरहेका थिए ती केटाकेटी । बालुवाका घर बनाइरहेका । सायद ती तिनका सपना थिए । नियालेर हेरें । क्षणभङ्गुर थिए ती घर । बनाइसक्दा ढलिसक्ने । हाम्रा सपना जस्तै । गणतन्त्रका सपना । संघीयताका सपना । पानीमहात्मय देखें त्यहाँ । पानीको मूल्य थियो त्यहाँ । त्यसै बेदले पानीको पूजा गर्ने भनेको होइन रहेछ ।

फर्किने क्रममा ओपेरा हाउस र हार्वर ब्रिजलाई फोकस गरिरह्यो यो मनले । नहेर्न सकिएन एकछिन पनि । ओपेरा हाउसको वरिपरि फन्को मारेर त्यो विशाल ओपेरा हाउसको आयाम हे¥यौं । यी गिट्टी र बालुवाको आवाज फेरि गुञ्जायमान भयो यो सभ्यतामा । र, देशभरी मान्लेका बालुवा र डोभरका गिट्टी चिच्याइरहेछन् र म सुनिरहेकोछु । मान्ले विचबाट पर क्षितिजसम्म हेरें । नीलो समुद्रको साम्राज्य थियो । तर त्यसले मानव समुदायलाई खुसी र आनन्द दिइरहेको थियो । पानी अमृत हो भनेर बेदमा लेखिएको कुरा संझे । अनि त्याँ पानीको छालले हानेका बालुवाका आवाज सुनें । बशः यही आवाज सुनेर जीवन व्यतित भइरहेछ ।

Author

You may also like