विश्वभरी नै प्रसिद्धी कमाइरहेको हाम्रो वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ले क्यानडाको टोरोन्टोमा आयोजित ३६ बर्ष पुरानो प्रतिष्ठित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिबलमा तीन सय अमेरिकी डलर नगदसहित प्रथम पुरस्कार (उत्कृष्ट सर्ट फिल्म अवार्ड) जितेको छ ।
मेट्रो टोरोन्टो सम्मेलन केन्द्रमा आयोजित अवार्ड समारोहमा फिल्म फेस्टिबलका सहनिर्देशकद्वय युनिभर्सिटी अफ साउर्दन क्यालिफोर्नियाकी एशोशियट प्रोफेसर जेनिफर कुल र युनिभर्सिटी अफ कोलोराडो बोउल्डरका एशोशियट प्रोफेसर क्रिश्चियन ह्यामन्सले पुरस्कार हस्तान्तरण गरिरहँदा भावबिभोर नै बनायो । अवार्ड समारोहमा प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष विश्वम्भर घिमिरे पनि सहभागी हुनुभएको थियो । अमेरिकन एन्थ्रोपोलिजिकल एशोशियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीले ३६ बर्षदेखि हरेक बर्ष अन्तर्राष्ट्रिय सम्मेलनसँगै फिल्म र मिडिया महोत्सव गर्दै आएको छ । अमेरिका र क्यानडासहित विश्वका विभिन्न देशबाट ५ हजार जना मानवशास्त्रीहरुको सहभागितामा यसबर्ष टोरोन्टो सम्मेलन केन्द्रमा सम्मेलनका साथै फिल्म र मिडिया महोत्सव भइरहेको छ । उक्त महोत्सवमा संसारभरीबाट मानवशास्त्र र समाजशास्त्रसँग सम्बन्धित हजारौं चलचित्र तथा वृत्तचित्रहरुको प्रतिस्पर्धामा उत्कृष्ट ठहर गरी नेपालको विशिष्ट परिवेशमा बनेको जीवन्त वृत्तचित्र को–हजबेण्डलाई उत्कृष्ट अवार्ड घोषणा गरिएको थियो ।
विश्वका प्रतिष्ठित प्राध्यापक र मानवशास्त्रीहरुको माझमा पुरस्कार थाप्न पाउँदा निकै खुसी र गर्व लागेको छ । नेपालमा बनेको डकुमेन्ट्री फिल्मले विभिन्न देशका डकुमेन्ट्रीबीच प्रतिस्पर्धामा जित्नु आफैमा गर्वको कुरा हो । अझ त्यसमा पनि अमेरिका र क्यानडाका क्याम्पस र विश्व विद्यालयमा को–हजबेण्डलाई सन्दर्भ सामाग्रीका रुपमा पठनपाठनमा सहभागी गराइदिने भएको कुरा थाहा पाउँदा निकै खुसी लागेको छ । मानवशास्त्रसँग सम्बन्धित अध्ययन गर्ने विभिन्न विश्वविद्यालयहरुलाई एउटा सन्दर्भसामाग्रीको रुपमा सुवर्ण अवसर समेत प्रदान गर्ने उत्कृष्ट सन्दर्भ सामाग्रीको रुपमा राख्ने संस्थाको तर्फबाट घोषणा गरेकोमा आफैमा गौरवान्वित लागेको छ ।
नेपालमा रहेको बहुपति प्रथाको विषयवस्तु रहेको को–हजबेन्डले यसअघि पनि विश्वका प्रतिष्ठित चलचित्र महोत्सवहरुमा अवार्डहरु जितिसकेको छ । तपाईंहरुको निरन्तरको साथ, सहयोग, शुभेच्छाका लागि आभारी छु । अनि, मलाई निर्माणका क्रममा साथ दिने मेरा साथीहरु विशेषगरी नृपराज हमाल, ईश्वर कोइराला, चन्द्रमान डंगोल र अबिनाश लामाप्रति आभारी छु ।
(लमजुङका पत्रकार समेत रहेका पाण्डे को–हजबेन्डका निर्देशक हुन् । )
