दमक, १४ कार्तिक
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्या कम गर्नका लागि के गर्न सकिन्छ भनेर पहल गर्ने र त्यसको सन्देश विश्वभरि लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल भ्रमणमा रहेका गुटेरेसले सोमबार बिहान खुम्बु पासाङल्हामु गाउँपालिका-४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको असरका विषयका सम्बन्धमा अन्तरक्रिया गरेका थिए । सो क्रममा उनले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२८) मा स्थानीयका सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने आस्वस्त पारेका थिए । उनले विश्वको प्रदूषण वृद्धिमा धनी देशको भूमिका रहेको तर खुम्बु पासाङल्हामु गाउँपालिकाजस्ता दुर्गम स्थानमा नकारात्मक असर पर्नु दुःखद भएको बताएका थिए ।
स्थानीय समुदायले हिमनदी पग्लिने क्रम बढेको, जलवायुजन्य हानि नोक्सानी बढेको, पानीका स्रोत सुक्दै गएको, स्थानीय बालीनालीमा जलवायुको असर परेको, नाङ्गा हिमालमा पानी पर्दा पहिरो जाने समस्या बढेको जस्ता विषयमा स्थानीयले महासचिव गुटरेसलाई अवगत गराएका थिए । साथै स्थानीयले गाउँमा ऊर्जाको अभाव रहेको र लघु जलविद्युत् आयोजना निर्माणमा सहयोगका लागिसमेत आग्रह गरेका थिए । गुटेरेसलाई स्थानीयले कालो भादगाउँले टोपी समेत लगाइदिएर स्वागत गरेका थिए ।
चारदिने भ्रमण दलमा महासचिव गुटेरेस नेतृत्वमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर-हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी छन् । उनीहरु आइतबार नेपाल आइपुगेका हुन् ।
उनले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथै नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूणर्बहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए । प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रि भोजको आयोजना गरेका थिए ।
उनले मङ्गलबार (आज) अपराह्न सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने समेत कार्यक्रम रहेको छ । भ्रमणका क्रममा उनी सगरमाथा क्षेत्र र पोखराका साथै अन्नपूणर् आधार शिविर र लुम्बिनी जानेछन् ।
-शरणार्थीद्धारा स्वदेश फिर्तीको माग-
गुटेरेसको नेपाल भ्रमणको मौका छोपेर झापामा शरणागत जीवन भोगिरहेका भूटानी शरणार्थीहरुले स्वदेश फिर्तीसहित आफ्ना मागहरु बारे ध्यानाकर्षण गराएका छन् ।
सोमबार दमक ३ स्थित बेलडाँगी शरणार्थी शिविरमा नाराबाजीसहित प्रदर्शन गर्दै उनीहरुले भूटान फर्किन पाउनुपर्ने आफूहरुको माग पूरा गर्न संयुक्त राष्ट्र संघको ध्यानाकर्षण गराएका हुन् ।
शिविर क्षेत्रमा सयौंको संख्यामा निस्किएका शरणार्थीहरुले हात हातमा ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । सो क्रममा शरणार्थीहरुले आफूहरुको समस्या राजनीतिक समस्या भएकाले अन्तराष्ट्रिय जगतबाट राजनीतिक रुपमै समस्या समाधान गर्नुपर्ने माग पनि गरे ।
उनीहरुले आफनो परिवार खण्डित गरेर अहिले आफूहरु घर न घाटको अवस्थामा बाँच्नुपरिरहेको गुनासो सुनाएका थिए ।
शिविर व्यवस्थापन समितिको आयोजनामा भएको प्रदर्शनपछिको संक्षिप्त कोणसभामा शिविर सचिव सञ्चहाङ्ग सुब्बाले विविध कारणले गर्दा परिचय पत्रको अभाव झेलिरहेका शरणार्थीलाई परिचय पत्रको व्यवस्था गर्न र परिचय पत्र भएका शरणार्थीका लागि सन २०१८ देखि रोकिएको सहायतालाई सुचारु गर्न नेपाल सरकार, युएनएचसीआर लगायतका निकायसँग माग गरे ।