Banner अन्तर्राष्ट्रिय कला साहित्य मनोरञ्जन

अर्जुन प्रधानको ‘नेपाली मन म्यूजिक शो’

दमक, १३ कार्तिक

अमेरिकामा रहेर पत्रकारिता समेत गर्दै आएका सृजनशील युवा अर्जुन प्रधानले ‘नेपाली मन म्यूजिक शो’ कार्यक्रम सञ्चालन सुरु गरेका छन् ।
भूटानी शरणार्थीका रुपमा दुइ दशक बढी समय झापामा रही अमेरिकामा पुनर्वास गराइएकामध्ये प्रधानले नेपाली मन र नेपाली पनसँग सदैव नजिक रहनका लागि प्रत्येक हप्ताको बुधबार र शनिबार सञ्चालन गरिने कार्यक्रममा भूटानी कलाकारहरुको कथा, ब्यथा, संगीत र साहित्यमा योगदान र सम्मानका विषयमा विशेष चर्चा गर्नेछन् ।
सो कार्यक्रम सोसल मिडिया यूट्यूब, फेसबुक, टिकटक लगायतमा प्रशासरण हुने साथै नेपालको झापाको दमकबाट सञ्चालित सप्तरङगी एफएम १०१.६ मेगाहर्ज मार्फत महिनाको एक साता प्रशारण हुने प्रधानले जनाए ।
प्रधान भूटानी समाजका एक सकृय सञ्चार संयोजकका रुपमा नेपाली सञ्चारक्षेत्र र अन्तर्राष्ट्रीय सञ्चारमाध्यममा निरन्तर काम गर्दै आएका छन् । स्वदेश फर्किने अभियानमा मेची पुलमा पुगेका भूटानी शरणार्थीमाझ रहेको अवस्थामा उनी पनि भारतीय सुरक्षाकर्मीको आक्रमणमा परी घाइते भएका थिए । प्रहरीले लखेटेर कुट्दा उनी मेची पुलबाट तल खसेर दीर्घ रुपमा शरीरमा समस्या आइरहेको समेत सुनाउँछन् । उनले भने ‘हामी भूटानीहरुलाई स्वदेश फर्किन नदिइ पीडा दिएर हाम्रो माटोसँग टाढा बनाइरहेको अवस्थाले मुटु दुखिरहन्छ । हाम्रा यी दुःख पीडाका कथा व्यथाहरु सबैसँग प्रष्ट्याउन समेत यो कार्यक्रमले राम्रै मद्धत पुर्याउने ठानेको छु ।’ उनी साहित्यिक गतिविधि र समाजसेवामा समेत क्रियाशील छन् ।

You may also like