अनुगमन सुशासनको महत्वपूर्ण अस्त्र हो । अनुगमनले नै सबै क्षेत्रलाई ठिक ठाउँमा ल्याउन र सहि ढंगले चल्न मद्दत गर्दछ । बढी मात्रामा बजार अनुगमनलाई प्राथमिकतामा राखेर गर्ने गरिएको छ । अनुगमनले बजारमा हुने गरेका विकृति र विसंगतिलाई सहि ढंगबाट परिचालन गर्न र उपभोक्ताको हित,संरक्षण र अधिकारका विषयमा उजागर गर्ने गर्दछ । अनुगमन गर्ने निकायहरु धेरै छन् । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका विभिन्न निकायबाट मात्र नभएर उपभोक्ता हित र संरक्षणका निम्ति जनस्तरबाट बनेका विभिन्न संघसंस्थाबाट समेत अनुगमन गर्ने गरिएको छ ।
विगतमा अनुगमन केन्द्रीय स्तरबाट मात्र हुने गरेकोमा स्थानीय सरकार आए पछि आ–आफ्नो स्थानीय तह क्षेत्रभित्रको अनुगमन गर्न स्थानीय सरकारका उपप्रमुखको नेतृत्वमा हुने गरी नीति तथा योजना बनेका छन र सोही अनुसार अनुगमन हुने गरेका छन । बजारमा देखिने अखाद्य वस्तुको भण्डार घटेको छ । मिति सकिएका, सढेगलेका उपभोक्ताको स्वास्थ्य प्रतिकूल हुने खालका सामग्रीको विक्रीवितरण निकै कम भईसकेको छ । तथापि अनुगमन मौसमी मात्र बन्नु भएन भन्ने माग पनि बढ्दै गएको छ । प्रायः देशभरको अनुगमनको प्रक्रिया र प्रवृत्ति मौसमी हुने गरेको छ । कुनै विशेष अवस्थामा मात्र अनुगमन गर्ने र बीचमा छोडिदिने गर्नाले अनुगमनको प्रभाव वा त्यसले दिने प्रतिफल गुम्न सक्ने र प्रगति नदेखिने चुनौति पनि त्यतिकै छँदैछ । समय हुँदा चुपचाप बस्ने अनि जब कुनै विशेष परिस्थिति वा चाडपर्व आउँछन अनि अनुगमनलाई भ्याइनभ्याई कुद्ने प्रवृत्ति पनि त्यति उपर्युक्त देखिदैन । १२ महिना अनुगमनले निरन्तर काम गरेको खण्डमा मात्र लक्ष्यलाई समाउन सकिन्छ ।
यतिखेर चाडपर्वको समय पनि भएको छ । दशैं, तिहार, छठ लगायतका ठूला पर्वहरु नजकिइरहेका छन् । चाडपर्वमा उपभोक्ता गठिँदै आएको इतिहास लामो पनि छोटो छैन । तरपनि हिजोका दिनमा उपभोक्ता ठगिने अवस्थाबाट आज उपभोक्ता माथि उठिसकेको र धेरै कुरामा आफै सजग र जानकार भईरहेको सन्दर्भमा स्थानीय सरकार वा अन्य निकायबाट हुने अनुगमनले उपभोक्तामा थप बल र उर्जा थप्दै अझ सचेत हुन मद्दत पु¥याउँछ ।
अनुगमन र मूल्याङ्कन अनि दण्ड, जरिवाना र पुरस्कृतको नीति लिएर बजार अनुगमनमा निस्कन पनि आवश्यक देखिन्छ । विशेष परिस्थितिको फाइदा उठाउँदै केही व्यापारीहरु छिटै लाभ प्राप्त गर्ने गरी कालोबजारीको बाटोमा अग्रसर हुने र बजारमा वस्तुको अभाव देखाएर बढी मूल्यमा सामान बिक्री गर्ने प्रवृत्ति पनि नदेखिएको होइन । स्थानीय उत्पादनलाई छायाँमा पारेर बढी मुनाफा आर्जन गर्ने हेतुले बाहिरबाट सामान आयातित गर्ने परिपाटी पनि छँदैछ । यसर्थ अनुगमनका क्रममा स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर बजारीकरणको व्यवस्थापनमा लाग्न सक्ने अनुगमनको रिपोर्ट निस्कन सक्नु पर्दछ । तसर्थ अनुगमन उपभोक्ता नठिने र व्यापारीहरुलाई सहि टूयाकमा ल्याएर उनीहरुको व्यापार व्यवसायमा पनि असर नपारी व्यापार गर्न सक्ने वातावरण बनाउनु पर्ने दायित्व र जिम्मेवारीबाट पनि अनुगमनकर्ता पछाडि हट्न मिल्दैन । आफ्नो दायित्व, काम, कर्तव्य र अधिकारको रक्षा गर्दै पदीय जिम्मेवारी र मर्यादा अनुसार अगाडि बढ्नु पर्ने देखिन्छ । खास गरेर बजार अनुगमनले उपभोक्ता र व्यापारीको हितमा केन्द्रीत रहेर बजारलाई उपभोक्तामुखी बनाउने दिशामा लाग्नु नै श्रेयस्कर ठहरिनेछ ।