अर्थ मुख्य

नेपालको २५१ मेगावाट विद्युत किन्न भारत तयार

झापा । भारत सरकारले नेपालका १२ वटा जलविद्युत परियोजनाको थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति प्रदान गरेको छ । भारतीय केन्द्रीय विद्युत प्राधिकरणले उक्त विद्युत नेपालबाट निर्यातका लागि स्वीकृति प्रदान गरेको नेपालस्थित भारतीय दूतावासले सोमबार जानकारी दिएको छ । जसअनुसार नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौतामार्फत् विद्युत निर्यात् गर्ने भएको दूतावासको भनाइ छ । यो स्वीकृतिसँगै कुल स्वीकृत परिमाण ६९० मेगावाट (१६ वटा परियोजनाबाट) बाट ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) पुग्ने दूतावासको भनाइ छ ।
पछिल्लो समय भारतबाट २५१ मेगावाट स्वीकृत हुनु अगावै नै गत आर्थिक वर्षमा नेरु. १६.९३ अर्ब रुपैयाँ बराबरको विद्युत बिक्री गरी नेपाल खुद विद्युत निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ ।
सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणा भन्दा बढीले बढेको दूतावासले जनाएको छ । इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरु गरेको थियो । त्यसयता भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ । नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ ।

Author

You may also like