दमक/ झापाका विभिन्न स्थानका कोभिड अस्पतालहरुमा केही दिन यता संक्रमितहरुको भीड बढेको छ । विज्ञहरुले कोरोनाको तेश्रो लहर आउने चेतावनी दिइरहेका बेला जिल्लाका अस्पतालहरु भरिभराउ भएका हुन् । जिल्ला भित्रका अधिकांश कोभिड विशेष अस्पतालहरुमा यतिखेर उपचारका लागि संक्रमितहरुको भीड लागेको हो । तर दमक नगरपालिका मातहतको बेलडाँगीस्थित कोभिड अस्पतालमा भने संक्रमित आउने क्रम केही दिन अघिको तुलनामा घटेको सो अस्पतालले जनाएको छ ।
जिल्लाको सदरमुकामस्थित मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शैयाको कोभिड उपचार केन्द्र रहेकामा ६० जना संक्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा. टंक बाह्रकोटीले जानकारी गराए । अस्पतालको ६० वटा शय्यामा मात्र अक्सिजनको सुविधा उपलब्ध छ । ती सबै शय्या भरिएका छन् । अक्सिजन ‘सपोर्ट’ चाहिने नयाँ बिरामीलाई अन्य अस्पतालमा पठाउन थालिएको छ । पाँचवटा आइसीयु कक्षमध्ये तीनवटा कोभिडका बिरामीको उपचारका लागि छुट्याइएकामा सबै शय्या भरिएको उनले जानकारी दिए । झापामा सबैभन्दा बढी १०० शय्या कोभिड संक्रमितको उपचारका लागि छुट्याएको विर्तामोडको बीएण्डसी अस्पतालमा ७४ जना बिरामीको उपचार भइरहेको छ ।
अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार कोभिडका लागि अस्पतालले ३२ शय्याको आइसीयु व्यवस्था गरेकामा सबै शय्या बिरामीले भरिएका छन् । ‘एक सातायता कोभिडका बिरामीको चाप ह्वात्तै बढेको छ,’ गिरीले भने , ‘बिरामीको चाप बढ्दै गयो भने अरू शय्या थप्न तयार छौँ । बिरामीले उपचार नपाई फर्किने अवस्था सिर्जना हुन दिँदैनौँ ।’ अस्पतालमा दैनिक २०० सिलिण्डर अक्सिजन खपत भइरहेको जनाउँदै उनले ५० सिलिण्डर अक्सिजन अस्पताल आफँैले दैनिक उत्पादन गरिरहेको बताए ।
पछिल्लो समय बालबालिकामा कोभिडको संक्रमण जोखिम बढेको विज्ञहरुले बताएका कारण अस्पतालले २५ शय्याको एनआइसीयु र १५ शय्याको पीआइसीयु बच्चाहरुको कोभिड उपचारका लागि व्यवस्था गरिएको गिरीले जानकारी दिए ।
विर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा कोभिडका लागि छुट्याइएको सबै आइसोलेशन वार्ड, आइसीयु र भेन्टिलेटर भरिएको छ । अस्पतालका प्रशासन प्रमुख विनोद बस्नेतले कोभिड उपचारका लागि ५३ शय्याको आइसोलेशन, नौ शय्याको भेन्टिेलेटर र १२ शय्याको आइसीयु व्यवस्था गरिएको बताए । ‘उपलब्ध सबै शय्या, आइसीयु र भेन्टिलेटर संक्रमितले भरिइसकेका छन् ।’, बिर्तासिटीका प्रशासन प्रमुख बस्नेतले भने , ‘अब आउने नयाँ बिरामीलाई पाल टाँगेर अस्पताल परिसरमा उपचार गर्नुपर्ने अवस्था आइसकेको छ ।’
एक सातायता कोभिडका संक्रमित उपचारका लागि आउने क्रम बढेर अस्पताल नै भरिएको उनले बताए । अस्पतालले संक्रमितको उपचारलाई प्राथमिकतामा राखेर ओपीडी सेवा हाल बन्द गरेको जनाएको छ । यस्तै चाप रहे प्रसूति सेवा पनि बन्द गर्ने अवस्था आउन सक्ने उनले बताए ।
एक साता अघिसम्म २४ घण्टामा १०० अक्सिजन सिलिन्डरले पुग्ने गरेकोमा हाल दैनिक १०० सिलिण्डर खपत भइरहेको बस्नेतले जानकारी दिए । ‘एम्बुलेन्स र सिटीसफारीहरुले बिरामी ओसारेका ओसारै छन् ।’, उनले भने, ‘ओपीडी बन्द गरेर विशेषज्ञ चिकित्सकहरुलाई नै कोभिडका बिरामीको उपचारमा परिचालन गरेका छौँ ।’
दमकको बेलडाँगीस्थित कोभिड विशेष उपचार केन्द्रसहित दमकका तीन अस्पतालमा पनि ३० बेड रहेकोमा बुधबारसम्म २७ जना संक्रमित उपचारार्थ रहेका थिए । त्यसमध्ये ७ जनालाई डिष्चार्ज गर्न लागिएको सो अस्पतालकी फोकल पर्सन देवकुमारी दंगालले जानकारी गराइन् । बुधबारदेखि हाल जारी निषधाज्ञाका कारण होला ओपीडी भर्ना र संक्रमितको भर्ना दरमा कमी आएको उनले बताइन् । तर दमककै निजी एड्भान्स अस्पतालमा भने बिरामीहरु भरिभराउन रहेको र सिकिस्त विरामीहरु आउने थालेको सो अस्पतालका एक संचालक चैतन्य बरालले जानकारी गराए । संक्रमणको चेन ब्रेक अझै भइसकेको छैन । त्यसैले एड्भान्समा अझै पनि १९ जना संक्रमित उपचारमा रहेको उनले बताए । तर सामान्य विरामीहरु अस्पताल आउने क्रम भने घटेको उनले बताए । चिकित्सकहरुका अनुसार अचेल सिकिस्त भएपछि मात्र संक्रमितहरु अस्पताल आउन थालेका छन् । बेलडाँगीसहित दमकको एड्भान्स, आम्दा र लाइफलाइन अस्पतालमा कोरोना संक्रमितको उपचार हुँदै आएको छ । आम्दा अस्पतालका बेडहरुमा संक्रमितहरु भरिभराउ रहेको सो अस्पतालका डा. नविन ढकालले बताए ।