अहिलेको युग प्रविधिको युग हो । अर्थात मानव जीवनलाई थप उपयोगी तथा प्रभावकारी बनाउन तथा नयाँ नयाँ तरिकाले सिकाई उपलब्धि हाँसिल गर्न प्रविधिको सहारा आवश्यक छ । प्रविधिलाई सहि तरिकाले उपयोग गरेर धेरै गुणा बढी सिकाई उपलब्धी हाँसिल गर्न सकिन्छ । प्रविधिको फड्कोसँगै आफूहरु फड्किन शिक्षालयहरुले गुणस्तरीय र अन्तर्राष्ट्रिय रुपमै प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता बनेको छ ।
यस्तै परिवेशकाबीच झापाको दमक बहुमुखी क्याम्पसमा विद्यार्थीहरुका लागि आइतवारदेखि विद्युतीय पुस्तकालय (ई–लाईव्रेरी ) सँगै स्मार्ट टिभीबाट पढाई सञ्चालन गरेर प्रविधिको सहज उपयोगबाट गुणस्तरीय सिकाईको आयाम थपेको छ ।
क्याम्पसको पुस्तकालय तथा प्रयोगशाला व्यवस्थापन उपसमितिले एक कार्यक्रमको आयोजना गरी इ–लाईव्रेरीको उद्घाटन गर्यो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डिराज भण्डारीले इ–लाईव्रेरीको उद्घाटनका क्रममा शिक्षण सिकाईलाई प्रविधियुक्त संगै प्रभावकारी बनाउन यस कार्यले सघाउ पुरयाउने विश्वास व्यक्त गरेको भनाई राखेका थिए । सुरुको चरणमा पाँच वटा कम्प्यूटर राखेर इ–लाईव्रेरीको सञ्चालनमा ल्याइएको छ । आवश्यकता अनुसार थप विस्तार गदैं लैजाने लक्ष्य क्याम्पसले राखेर यो काम थालेको छ । इ–लाईव्रेरीबाट विद्यार्थीहरुले केन्द्रीय पुस्तकालयको समन्वयमा इरिसोरेर्स लगायतका शैक्षिक अध्ययन गर्न प्रत्यक्ष सुविधा पाउने भएका छन् ।
क्याम्पसले यसअघि भने अध्यापकहरुका लागि इ–लाईव्रेरी स्थापना गरेको थियो । हालको लाईव्रेरी कक्षको भवन भने पर्याप्त नभएकाले छुट्टै भवन निर्माणका लागि प्रदेश तथा संघीय सरकारसंग आवश्यक बजेटको पहल भइरहेको छ ।
त्रिभुवन विश्व विद्यालयमार्फत अन्तर्राष्ट्रिय गुणस्तर सहितको मान्यताप्राप्त क्यूएए कार्यक्रम अन्तर्गत प्रवेश गरेको क्याम्पसले अवदेखि सवै कक्षामा स्मार्ट टिभीको आधुनिक प्रविधिमार्फत शिक्षण कार्यको सुरुवात गरेको छ ।
विज्ञान र स्नातकमाथिका कक्षामा मात्र मल्टिमिडियामार्फत पठनपाठन गराउँदै आएको क्याम्पसले अव भने आफ्ना सबै कक्षामा स्मार्ट टिभीबाट अध्यापन थालेको हो । आइतवार बीएड पहिलो वर्षमा अध्ययनरत कक्षमा विशेष कार्यक्रम गरी स्मार्ट टिभीबाट पढाई हुने शिक्षण सिकाईको औपचारिक रुपमा शुभारम्भ गरिएको हो ।
प्रारिम्भक चरणमा यस किसिमको पढाई क्याम्पसका २० वटा कक्षमा सञ्चालन हुने क्याम्पस प्रमुख यज्ञराज गिरीले जानकारी गराउँदै कोशी प्रदेशमै गुणस्तरीय शिक्षामा परिणाम देखाउने उद्घोष गरेका छन् । कोशीकै एक ठूलो यस क्याम्पसमा गनिने दमक क्याम्पसले यसखाले प्रविधिलाई आत्मसाथ गरेर क्यूएए प्रमाणपत्रको यात्रामा यात्रारत रहेर अन्य क्याम्पसलाई पनि उत्प्रेरणा भर्ने काम स्वतः गरिरहेको देखिन्छ ।
मौलिकताको समेत संरक्षण गर्दै प्रविधियुक्त सिकाईबाट बढीभन्दा बढी सिकाई उपलब्धि हाँसिल गर्ने प्रतिष्पर्धाको यात्रामा शिक्षालयहरु एकसे एक बन्न सकुन् । जसले गर्दा शिक्षा, चेतना र सिकाईले मानवलाई पूर्ण बनाउनतर्फ लम्क्याओस् ।