भूपेन्द्रराज तिम्सिना
दमक | ‘टाइटल’ अनुसारको ‘उदास’ मान्छे त भेटिएन भन्छन् सबैले । हो, उदासीपन देखिदैन पनि । त्यसपछि उनको नामको पछाडि झुण्डिएको ‘टाइटल’ प्रति प्रश्न तेर्सिन्छ ।
उनको हँसिलो अनुहारभित्रको आत्मियताले सवैलाई लोभ्याउँछ । यिनी कसरी उदासी भए भन्ने लाग्छ । तर उनको टाइटल उदासी राख्नुको उनको आफ्नै ‘लजिक’ छ । कुरो यस्तो परेछ,ः उनको नाम कृष्णप्रसाद मात्र होइन थर शिवाकोटीसँग पनि मिल्दो नामथरका मानिस अरु पनि भएपछि आफुलाई फरक हिसावले चिनाउँन मन लागेछ । उनकै आफन्तको नामथर पनि उही भएको र तन्नेरी अवस्थामा आफन्त दाईको नाममा आएको प्रेमपत्र आफ्नोमा आएपछि आमाबुबाको सामु उनलाई वित्याँस पर्यो । अनि आफ्नो नाम फरक पार्ने हिसावले उनले सोच्न थालेको अवस्थामा उर्लाबारी झरेपछि ०६४ मा आफ्नो पहिलो कृति ‘दाईजो’ उपन्यास निकाल्ने क्रममा साहित्यकार रमेश भट्टराईले ‘टाइटल’ उदासी राखिदिएपछि उनी ‘कृष्ण उदासी’ नामले चिनिन थाले । ‘म उदास मान्छे भएर होइन, कुनैपनि राजनीतिक बादहरुसँग सामेल नहुने अर्थात त्यसप्रति उदास हुने मेरो स्वभाव । त्यही अर्थमा रमेश सरले उदासी राखिदिनुभयो । मलाई पनि मन पर्यो ।’– सधैं हाँसो मिसाएर बोल्नेक्रममा उनले पूर्वसन्देशसँग बोले ।
कुनै पक्षसँग नजिक नहुने भनेर उदासी राखेपनि जीवनमै ज्यादै ठूलो कारुणिक अवस्थाबाट भनें अछुतो रहन सकेनन् । माओवादी र सरकारबीचको द्वन्दले चरम रुप लिइरहेको अवस्थामा ०६२ चैत ९ गते उर्लाबारीमा भएको गोलाबारीको घटनामा उनी मरेर बाँचेको अवस्था भोगे । दिनमा उर्लाबारी चोकको वाणिज्य वैंक लुट्न आएका माओवादी पक्ष र उनीहरुलाई लखेट्न आएका सुरक्षाकर्मीबीचको गोली हानाहानमा उनी बीचमा परे । त्यहीँको एफवान कम्प्युटरमा कम्प्युटर सिक्दै अलकापुरी साप्ताहिकमा यसो समाचार लेख्न सिक्दै गरेका उनी त्यो बेला गोलाबारीकाबीच सडक किनारमा थिए । त्यहाँ भएका मानिसहरु घर, पसल भित्र भागेर लुक्न थाले । उनी पनि कञ्चन फोटोको सटरभित्र त पसे, तर उनीसँगै आएका एकजना सानो भाई बाहिर छुटे भनेर उसलाई खोज्न निस्कदा पो उनी ‘ट्रयाप’ (विखलवन्द) मा परे । दोहोरो गोली चलिरहेको अवस्थामा सटर छेउको बाहिरी कुनाको आडमा छेलिन के सम्भव हुनु र । सुरक्षाकर्मीले देखे र उनलाई बन्दुक ताके, उनले आत्मसमर्पणको शैलीमा दुबै हात माथि उठाए । उनकै छेउमा केहीजना माओवादी ढलेको, रगतपच्छे भएको र प्राण त्यागेको दृष्यले उनी म पनि त्यसरी नै मरिसकेको लाग्यो । उनले केही थाहा पाएनन् । सुरक्षाकर्मीले गोलाबारी हुन्जेल १ घण्टा बढी आफैंसँग राखेर माओवादीतिर गोली चलाइरह्यो । उनको साथमा भएको अलकापुरीको परिचयपत्र, प्रहरीले तँ को होस् भनेर सोध्दा ‘म बाँच्न चाहने सर्वसाधारण हुँ’ भन्ने शव्द र उनको मनोविज्ञान सहितको अध्ययनले प्रहरीले बन्दुक तेस्र्याएको हात तल झार्यो र उनी बाँचे । तर उनी मानसिक रुपले विक्षिप्त भए । निन्द्रा नलाग्ने, आफ्ना सामु गोलाबारीमा परेर मरेका मान्छे मात्रै अगाडि आउने गरेकाले उनको निन्द्रा मात्रै होइन मानसिक रुपमै विक्षिप्तता आयो । ‘त्यो बेला म बाँचेको छु भन्ने मलाई लाग्दै लागेको थिएन । अलिपछि आफु जिउँदै चाँही रछु भन्ने थाहा भयो । अनि ओरेक नेपालले १५ दिन काउन्सिलिङ गरेपछि मात्र म सहज हुन थाँले । अहिले त्यस्तो समस्या छैन । तर पनि पटका पड्किँदा अझै असर गर्छ ।’– जीवनको हालसम्मको अत्यन्तै पीडादायी दिन सुनाउँदै भने । ‘मैले त्यो बेला त प्रहरीले मलाई त्यस्तरी यातना दियो भन्ने मात्रै सोचें । तर उनीहरुको ज्यान पनि त्यो बेला उस्तै खतरामै थियो । प्रहरीले युद्धकै बेलामा पनि म माओवादी समेत हुनसक्ने मान्छेलाई नमारी गोलाबारीबीचमै पनि मलाई बुझेर ममाथि गोली चलाउन रोक्नु भनेको ज्यादै विवेकपूर्ण अवस्था रहेछ भनेर पछि बुझें ।’– उनले वस्तुस्थिती दर्शाउँदै विश्लेषण गरे ।
उनी पाँचथरको तात्कालिन फलैंचा गाविस, हालको याङवरक गाउँपालिका २ मा जन्मिएका उदासी सानैदेखि अरु बच्चा भन्दा फरक स्वभावका थिए । अर्थात उनी के के सायरी, तुक्का जस्ता श्लोकका अंशहरु लेखेर सुनाउँथे । हुँदाहुँदै देउसी लेखेर बचाएको पैसामध्ये १० रुपैयाँ तिरेर साब्लाखुबाट निस्कने हवाई पत्रिका ‘इन्द्रावती’ मा सायरी छापिएपछि उनको त्यो बालापनको खुसीले अर्काे मोड लियो । १ घण्टाको अप्ठेरो बाटो हिँडेर आफु पढ्ने गरेको च्याङथापुको विष्ण माविका शिक्षक मुक्तिनाथ रिमालले त्यो पत्रिका पढे अनि सवैलाई कृष्णप्रसाद शिवाकोटीको सायरी सुनाइदिएनन् मात्र कवि भनेर घोषणा गरेर त्यही उपमाले बोलाउन थाले । पत्रिकामा सायरी छापिँदा आफु ज्यादै ठूलो मान्छे भएको अनुभूतिमा गद्गद् भएका उनलाई कवि नै बनाएर सम्मानसाथ माया दर्शाएपछि उनीभित्रको सृजनशीलता निकै सल्बलायो र बाल मष्तिष्क नै भएपनि यस्तै र अझ राम्रा, नयाँ कुरा लेखिरहन्छु भन्ने अह्रायो । त्यही प्रोत्साहन र सम्मानको बीउले अहिले उनलाई लगभग राष्ट्रियस्तरको बृक्षको चिनारी दिलाउन सफल भयो ।
एसएलसी सकेर उच्चशिक्षा पढ्न ०६० मा उर्लाबारी झरेका थिए । उनीसँग उत्साह बोकेर झरेको थियो उनीभित्रको कवित्व प्रष्फुटित हुने उर्जाशील मन । उर्लाबारी क्याम्पस पढ्दै के के लेख्दै गर्न थाले । ०६२–०६५ सम्म ‘प्रारम्भिक’ भित्ते पत्रिकाको प्रधान सम्पादक भएर पत्रिका निकाले । ०६६–०६८ मा सम्बन्ध द्वैमासिक साहित्यिक पत्रिकामा सम्पादक भए । गजल, कविता, गीत लेखे । कम्प्युटर सिकेर आधुनिक प्रविधिसँग व्यवसायिकता जोड्ने क्रममा ०६६ मा उर्लाबारीमा ‘फलैंचा छापाखाना’ खडा गरे । दर्जनौं पुस्तकहरु डिजाइन र छपाईको काम गरे । साहित्यकारहरुसँगको संगत बढ्दै गयो । ०७० सम्म गजल लेखनमा समर्पित भए । गजल अभियानको संगठन गरे, वाचनमा ठाउँ ठाउँ पुगे । प्रभाव जमाए । ०६६–०६८ मा उर्लाबारी गजल मञ्चको तेस्रो कार्यकालको अध्यक्षका रुपमा नेतृत्व गरे । नेपाली साहित्य समाजबाट गतिविधि बढाए । त्यसबाट ‘सिर्जना अनुशीलन’ कार्यक्रमको टीममा सक्रिय बने । ०७० यता कविता लेखन र व्यवसायिक गीत लेखनमा सक्रिय बनेका छन् । यही सक्रियताकाबीच उनलाई गीत लेखनले राष्ट्रियस्तरको प्रतिभाका रुपमा चिनायो । रेडियो नेपालले आयोजना गरेको ०८० सालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा ‘म घुम्टो उघार्छु’ बोलको गीतले प्रथम स्थान हाँसिल गर्यो । पथरी शनिश्चरेका पूर्वै रमाइलो गाएर चर्चा कमाएका गायक गौरव दर्पणले उनकालागि पहिलो गीत गाएका थिए भनें रेडियो नेपालको प्रतियोगितामा उनै गौरवको संगीतमा मिलन परियारले गाएको सो गीत प्रथम बनेको थियो । गीतसंगीततर्फ आकर्षित गर्ने विन्दुका रुपमा रहेको उनको बाँसुरी बजाउने शोख तराई झरेपछि छुट्यो । गाईगोठमा छुट्टीमा गाई दोहिसकेर थकान मेट्दा होस् या घाँस दाउरा जाँदा बजाउने बाँसुरी अहिले गीतसंगीतको तरंग सिर्जना गराइदिएर उतै बास बसेको भान हुन्छ उनीलाई ।
राजनराज शिवाकोटीको संगतबाट गीत लेखनमा बढी आकर्षित भएका उनका हालसम्म ५ दर्जन गीत रेकर्ड भएकाछन् । जसमध्ये उनले २० वटा गीत पारिश्रमिक लिएर लेखेका छन् । धेरैजसो आधुनिक छन् । गौरवले गाएको ‘तिमी फूल भएर फुल्नु’ ०६३÷६४ मा पहिलो रेकर्ड भएको गीत हो । उनका धेरैजसो गीत गौरवले नै गाएका छन् । त्यसकासाथै मेलिना राई, एलिना चौहान, रचना रिमाल, रमेश प्रसाईं, त्रिलोक राणा, शान्तिम कोइराला, कविता विमली, किरण विमली लगायतले गाएका छन् । चलचित्र ‘भष्मेडन’ मा मेरो शिव गीत उनको हो । प्रदर्शनमा आउन बाँकी रहेको ‘मेयर’ मा व्यूँझ व्यूँझ बोलको गीत छ । उनलाई लेखनका हिसावले कविता चेसको घोडा जस्तो लाग्छ । आफुले जे भन्न खोजिन्छ, त्यो आनन्दसँग गीतमा भन्न सकिने र सवैले सहजै सुन्न सकिने भएकाले गीत लेखनमा अझ लगाव बढेको सुनाउँछन् ।
उनका गजल र कविताका सामुहिक वाचन कार्यक्रम भएका छन् । उर्लाबारी गजल मञ्च सहितबाट सम्मानित उनी ‘गाउँ र मेरी आमा’ शिर्षकको अन्तराष्ट्रिय कविता प्रतियोगितामा उत्कृष्ठ १० मा पर्न सफल भए । कारितास नेपाल दमक, दिपज्योति युवा क्लब मिक्लाजुङ, साहित्य कला संगम दमक सहितका संघ संस्थाबाट कवितामा प्रथम स्थानका रुपमा पुरस्कृत भएका छन् । विगत ५ वर्षदेखि फलैंचा इन्टरटेनमेन्ट युट्युव च्यानल सञ्चालन गर्दै व्यक्तित्वहरुको वायोग्राफी भिडियो निर्माणमा पनि सृजनशीलता खन्याएका छन् । ‘छापाखानाले घरको किस्ता तिर्दैछ, युट्युव च्यानलले यसो सामान्य खर्च टार्दैछ । गीतले त खास खर्च टार्न सक्ने अवस्थामा पुगिसकेको छैन ।’– दमक ४ तारावारीस्थित सम्वन्ध टोलमा घर जोडेका उनले सृजना र व्यवसायिक तारतम्यको वेलिविस्तार छोट्याउँदै भने । उनकी जीवनसंगीत वविता घिमिरे साहित्य क्षेत्रकै भएकाले उनीहरुको सहयात्रा थप सृजनशील बन्न पाएको छ । ववितासँगको संयुक्त कथा संग्रहका रुपमा ०७० मा ‘म हराएको साँझ’ ल्याए । पहिलो कृति ०६४ मा उपन्यासका रुपमा दाइजो ल्याए । ०६७ मा गजल संग्रह ‘दोभानपारी बाबरी’ प्रकाशित गरे । कुनै पनि साहित्यका वहसमा मात्र नभएर व्यवहारका अन्य प्रसंगमा पनि प्रष्टसँग भन्न रुचाउने उनी कतिपय अवस्थामा हँसिलो र मिजास शैलीका कडा आलोचक लाग्छन् । जे भएपनि उनी उदास चाँहि छैनन, सधैं उत्साहित छन् साहित्य, जीवन र जगतकालागि ।