मुख्य स्वास्थ्य

दमकमा एकै परिवारका ५ जनामा हात्तीपाइले

दमक, २९ वैशाख । हात्तीपाइले विरुद्धको आम औषधी सेवन अभियानका क्रममा दमक ९ मा एकै परिवारका ५ जनामा हात्तीपाइले रोग फेला परेको छ । विभिन्न वडामा गरी हालसम्म ७ जना नयाँ रोगी फेला परेका छन् ।

औषधी सेवन गराउन घर घरमा पुगेका स्वास्थ्यकर्मीको टोलीले शुक्रबार दमक ९ को एकै परिवारका ५ जना हात्तीपाइलेका नयाँ विरामी फेला पारेको दमक नगर स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले जनाए । उनले यसअघि वडा नम्बर १ मा एकजना र ३ मा १ जना नयाँ विरामी फेला परेको बताए । ‘सवैले मेलैसँग औषधी नखाएसम्म यसलाई निर्मूल गर्न समस्या रहिरहन्छ । तसर्थ सवैले औषधी सेवन गर्न बारम्बार हाम्रो अनुरोध छ । यो दमक सहित झापालाई हात्तीपाइले मुक्त बनाऔं ।’– उनले आव्हान गरे ।

दमकमा लुकेर रहेका हात्तीपाईलेका रोगीको संख्या दर्जनौं हुनसक्ने उनको अनुमान छ । गत वर्ष ७ जना पुराना रोगी फेला परेको उनले जनाए । वडावडामा रहेको स्वास्थ्य केन्द्र, नगर अस्पताल सहितमा औषधी खुवाउने तथा घर घरमा गएर औषधी खुवाउने कार्यक्रम सञ्चालन भइरहेको जनाउँदै घर घरमा जाने क्रम शुक्रबारदेखि दोहोर्याइएको बताए । ‘छुटपुट रहेका भए उनीहरुकालागि दोहोर्याएर घर घर पुगेर औषधी खुवाउने ३ दिनको अवधिका लागि कर्मचारी खटिएका छन् ।’– उनले भने ।

दमकमा हात्तीपाइले विरुद्धको औषधी सेवन गर्ने लक्षित जनसंख्या १ लाख ६ हजारमध्ये बिहीबारसम्ममा ७० प्रतिशतले सेवन गरेको तथ्यांक पनि उनले जानकारी गराए । नगरभित्र रहेका ४४ जना महिला स्वास्थ्य स्वयमसेविकामा तत्कालका लागि ८ जना थप गरी ५२ जना बनाइएको र अन्य स्वास्थ्यकर्मी सहित कुल १०६ जनाले वडा वडामा घर घरमा गएर औषधी सेवन गराउने काम गरिरहेका छन् ।

जिल्लाको बिर्तामोडमा ५ जना सहित अन्य पालिकामा समेत गरी २ दर्जन हाराहारीमा हात्तीपाइलेका नयाँ रोगी फेला परेका छन् । कोशी प्रदेशमा झापा जिल्ला मात्र हात्तीपाइले रोग मुक्त हुन बाँकी रहेको छ । यसअघि हात्तीपाइले रोग देखिएपछि झापाका ८ जनालाई वैदेशिक रोजगारबाट फकाईएको तथ्य बाहिर आएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताए । झापामा गत वर्ष करिव १४१ जना हात्तीपाइलेका रोगी रहेका थिए । यस वर्ष निकै विरामी थपिने अनुमान गरिएको छ ।

कोशी प्रदेशका १४ वटा जिल्लामध्ये १३ वटा जिल्ला हात्तीपाइलेको संक्रमणबाट मुक्त भइसकेका छन् । तर, झापा भने विगत १३ वर्षदेखि हात्तीपाइले रोगसंग लड्दै आएको छ । अधिकांशले औषधी सेवन नगरेका कारण झापामा सन् २०१२ देखि सुरु हात्तीपाईले रोगबिरुद्धको आम औषधी खुवाउने अभियान अझै जारी छ । सरकारले झापा सहित ७ जिल्लामा वैशाख १६ बाट ३० गतेसम्मका लागि हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियान सञ्चालन गरिरहेको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइले विरुद्धको आम औषधी सेवन अभियान सञ्चालन भइरहेको हो ।

हात्तीपाईले (फाईलेरिया) रोग मानिसलाई शारीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्गता गराउने सरुवा रोग हो । हात्तीपाइले रोगको संक्रमण भएका व्यक्तिहरुमा खुट्टा सुन्निने समस्याका साथै हाइड्रोसिल र अपाङ्गतासमेत देखापर्ने गरेको छ । यो एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीको संक्रमणले गर्दा हुन्छ । यो रोग क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सार्दछ । मानिसको शरीरमा यस रोगको परजीवी प्रवेश गरेको ८ देखि १६ महिनामा मात्र यस रोगको लक्षण देखिन्छ ।

यसअघि सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्ने सरकारी लक्ष्य थियो । यद्यपि, अझै केही जिल्लामा यसको जोखिम कायमै रहेपछि सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य अनुरुप औषधी सेवन अभियान सञ्चालन गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जनाएका छन् ।

हात्तीपाइले रोग विरुद्धको औषधी सुरक्षित रहेकाले सबैले नियमित रुपमा सेवन गर्न सरकारले अपिल समेत गरेको छ । उमेर तथा उचाईका आधारमा औषधीको मात्रा फरक पर्नेगरी खुवाइने गरिएको छ ।

Author

You may also like