मुख्य

शेयर सदस्यहरूनै चनाखो हुनुपर्नेमा जोड

दमक/ निक्षेपकर्ताको रकम फिर्ता दिन नसकेर कतिपय सहकारी संस्थाहरु बन्द भइरहेका बेला कारोबार गर्दा सुझबुझका साथ गर्नुपर्ने कुरामा सम्बन्धित सरोकारवालाहरुले जोड दिएका छन् । शनिबार हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्था दमक सेवा केन्द्रले दमक–९ स्थित कन्काई पार्टी प्यालेसमा आयोजना गरेको सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन्  । कार्यक्रममा प्रमुख अतिथि रहेका दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले पालिकाभित्र मात्र कार्यक्षेत्र बनाएर कारोबार गरिरहेका सहकारीहरु बाहेक अन्य जिल्ला, प्रदेश र केन्द्रीय स्तरका सहकारी संस्थाहरुलाई नियमन र अनुगमन गर्ने जिम्मा आफूहरुलाई नभएको भन्दै सबैभन्दा बढी सचेत स्वयं शेयर सदस्यहरु हुनुपर्ने बताए । उनले जम्मा गरेको रकम फँसिसकेपछि त्यसलाई फिर्ता गराउन सक्ने कानुनी आधार र अधिकार पनि प्रष्ट नभएको बताए ।
त्यस अवसरमा नगर प्रमुख थापाले दमकमा रहेका ८१ वटा सहकारीहरु मध्ये २ दर्जन सहकारीहरुले कर्मचारीलाई तलव खुवाउन समेत नसकेको र बेलैमा होस पु¥याएर कारोबार र व्यवहार नगरे ठूलो दुर्घटना हुने तर्फ सजग गराए  । उनले अहिले देशनै आर्थिक समस्या र संकटको अवस्थाबाट गुज्रिरहेको अवस्थामा तरलता देखापर्नु र वित्तीय समस्या देखा परेको भन्दै त्यसलाई न्यूनीकरण गर्न सबै पक्षहरु बसेर छलफल गरी समाधानको उपाय खोज्नुको विकल्प नभएको धारणा राखे । वचत गरेको रकम फिर्ता हुन नसकेपछि निक्षेपकर्ताहरु नगरपालिकामा आउने गरेको भन्दै त्यस्तो स्थिति आउन नदिन सहकारीको व्यवस्थापन र कार्यव्यवहार कस्तो छ भन्नेमा ध्यान पु¥याउन कार्यक्रममा सहभागी सबैलाई उनले आग्रह गरे । उनले भने– ता कि पछि कसैले पनि हारगुहार गर्दै नगरपालिकामा आउनु नपरोस् । हामी संग समस्या समाधानका लागि लाग्नलाई स्पष्ट कानुनी व्यवस्था पनि छैन ।’ विशेष अतिथि दमक–६ का वडाध्यक्ष टेक बहादुर थापाले सहकारी संस्थाहरु कतिपय नियतवश त कतिपय नजानेर समस्यामा फँस्दै गएको भन्दै यसबाट बच्न शेयर सदस्यहरुलाई जानकारीमूलक कार्यक्रम गर्नुपर्ने आवश्यकता औंल्याए  । उनले नियतवश समस्यामा परेका सहकारी संस्थाका संचालहरुलाई निक्षेपकर्ताको वचत फिर्ताका लागि आवश्यक कारवाही गरी रकम असुल उपर गर्न लागीपर्नु पर्ने बताए । अहिले कतिपय सहकारी संस्थाहरुले चेकको भुक्तानी समेत दिन नसकेको अवस्था रहेको भन्दै कसैले पनि बढी व्याजको लोभमा परेर सहकारीमा रकम जम्मा गर्न नहुने तर्फ पनि सजग गराए । कार्यक्रमको अध्यक्षता गरेका झापाको विर्तामोड–४ मा केन्द्रीय कार्यालय रहेको हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भवानी प्रसाद दंगालले आफूहरुको सहकारीमा हाल ३२ हजार ३ सय शेयर सदस्य र ७ हजार बाल वचतकर्ता रहेको जनाउँदै अहिलेसम्म कसैले पनि वचत रकम फिर्ता नपाउने अवस्था नरहेको प्रष्ट पारे  । उनले हाम्रो नेपाल सहकारी व्यवस्थित, पारदर्शी र चुस्त दुरुस्त ढंगले अघि बढेको र वचत रकम उल्लेख्य भएकाले कसैले पनि शंकाको दृष्टिले हेर्नुपर्ने अवस्था नरहेको बताए ।
सो सहकारीले स्थापनाको १० वर्षको अवधिमा झापा, मोरङ र इलामका ३० वटा सेवा केन्द्र मार्फत् कारोबार गरिरहेको छ । संस्थाको शेयर पुँजी १९ करोड, वचत १ अर्व ५ करोड, ऋण लगानी १ अर्व ७७ करोड, नाफा ५२ लाख र कुल कारोबार २ अर्व ५ करोड बराबरको रहेको जानकारी गराइएको छ । दमकमा छोटो अवधिमै उल्लेख संख्यामा शेयर सदस्य बनाउन र कारोबार गर्न सफल भएको पनि त्यस अवसरमा जानकारी गराइयो । लेखा तथा सुपरिवेक्षण समितिका संयोजक कृष्णराज कटुवालले ऋण लिएपछि किस्ता तिर्नुपर्दैन भन्ने भ्रमका पछि नलाग्न र एक दुई सहकारी बिग्रँदा सबै खराब भनेर नबुझ्न पनि सहभागी शेयर सदस्यहरुलाई आग्रह गरे । उनले दमकमा हाल २ हजार ४ सय शेयर सदस्य र ६ सय बाल वचतकर्ता रहेको तथ्यांक प्रस्तुत गर्दै हाम्रो नेपाल सहकारी प्रदेश नम्वर १ भरिमै सुरक्षित कारोबारका लागि छैठौं ठूलो सहकारी भएको भएको बताए । संस्थाका उपाध्यक्ष राजेन्द्र गौतमले कार्यक्रमको औचित्य र उद्देश्यका बारेमा बोलेकोमा सो सहकारी संस्थाको विगत र वर्तमानको अवस्थाका बारेमा कार्यक्रम संचालक तथा सहकारीकी तालिम विभाग प्रमुख ज्योति पराजुलीले श्रव्य दृश्य सामग्री प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य दमक सेवा केन्द्र प्रमुख गिता दाहालले राखेकी थिइन् । कार्यक्रममा सो सहकारीका संचालक, कर्मचारी, शेयर सदस्य र संचारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा दमक सेवा केन्द्रका संयोजक गणेश कार्की, संचालक सदस्यहरु विष्णुमाया थापा भट्टराई, यामबहादुर अधिकारी, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जिवन कुमार गौतम, नेप्स्कुन विर्तामोडका प्रमुख विनोद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।
सोही क्रममा प्रमुख अतिथ दमक नगर प्रमुख थापा र सो सहकारीका अध्यक्ष दंगालले ज्येष्ठ शेयर सदस्यद्वय सरस्वती बराल र कुल बहादुर घिमिरे, उत्कृष्ट वचतकर्ता कुमार कटुवाल र उत्कृष्ट उद्यमी सदस्य कुमारी कुमाललाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका थिए  ।

Author

You may also like