विचार/वहस शिक्षा

एकताबद्ध भएर जुटेका छौं

विद्यालय कसरी चलाउनु भएको छ ?
– पहिलो कुरा त हाम्रो विद्यालय शिक्षक र कर्मचारीबीच एकता छ । आ–आफ्नाे जिम्मेवारी सबैले बोध गरेका छौँ, विधिको शासन, आर्थिक पारदर्शिता, कार्य सञ्चालनमा एकरूपता भएका कारण विद्यालय सफलतापूर्वक चलिरहेको छ । हामी यहाँ हरेक काम फरक ढङ्गले गर्ने प्रयास गर्छौं र गराउँछौँ ।
यो विद्यालयमा गुणस्तरीय शिक्षा छ भन्ने आधार के छन् ?
– पछिल्ला केही वर्षहरूका परिणामलाई मात्रै हेर्ने हो भने पनि एसईईमा (फोर जीपीए) ल्याउन सफल भएका छौँ । एसईई र १२ कक्षामा उत्कृष्ट नतिजा छ । पूर्वको मात्र होइन, नेपालकै उत्कृष्ट विद्यालयहरूमध्ये एक नमुनाको रूपमा परिचित गराउन सफल भएका छौँ । अङ्ग्रेजी माध्यमबाट पढाइ भइरहेको छ । किताबी ज्ञानबाहेक बाहिरी र व्यावहारिक ज्ञानमा पनि विद्यार्थी उत्तिकै दक्ष छन् । हरेक तहको परीक्षाफललाई हेर्ने हो भने पनि गुणस्तरीय शिक्षा पुष्टि हुन्छ । यहाँबाट पासआउट भएका विद्यार्थीलाई हेर्नु भयो भने पनि उनीहरूले सरकारी सेवा, बैङ्क, प्राइभेट संस्था र विदेशमा गएर पनि शिक्षामा राम्रो परिणाम ल्याइरहेका छन् । समग्रमा हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादन गरिरहेका छौँ ।
सिकाइमा जागरण कस्तो छ ?
– हामी समय समयमा प्रशासन र शिक्षक स्टाफबिच छलफल गरिरहन्छौं, हरेक महिनामा हुने स्टाफ बैठकबाट आएका कुरालाई सहजीकरण गर्छौँ । उठेका विषयमाथि छलफल गर्छौं । ‘शिक्षकलाई गाली होइन, तालीले प्रेरित गरौँ ।’ भन्ने मान्यतालाई हामीले आत्मसात गरेका छौँ, यसले शिक्षकको मनोबल उच्च राख्ने र जागरण ल्याउँछ । विद्यार्थीले त शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान र प्राविधिक सबै विषय क्षेत्रका लागि हिमाविलाई रोजिरहेका छन् र परिणाम पनि दिइरहेका छन् । विद्यार्थीहरुलाई विभिन्न कार्यक्रम माफ्त सिकाइमा जागरण ल्याउन प्रेरिरत गर्ने गरिन्छ ।
अभिभावक र विद्यालय व्यवस्थापन समितिको सहयोग कस्तो छ ?
– यस विद्यालयमा आफ्ना नानीबाबु पढाउन अभिभावकको घुइँचो नै लाग्ने गरेको छ । अभिभावकको माया, ममता र सद्भाव साथै अभिभावकको लगानीले नै विद्यालय यहाँसम्म आएको हो । विद्यालय व्यवस्थापन समितिको रचनात्मक सहयोग र योजनाले नै हामी सफल हुँदै आएका हौँ । अभिभावक र सञ्चालक समितिको साथ नहुने हो भने एक्लो प्रयासबाट केही गर्न सकिँदैन ।
विद्यार्थीको सिकाइलाई कसरी प्रभावकारी बनाउनु हुन्छ ?
– विद्यार्थीको क्षमता अनुसार कक्षामा समूह विभाजन गरी विद्यार्थीको प्राप्ताङ्कको आधारमा वर्गीकरण गरेर विशेष कक्षा, धेरै भन्दा धेरै विद्यार्थीलाई कोचिङ कक्षाको व्यवस्था र अति न्यून क्षमता भएका विद्यार्थीहरुलाई उपचारात्मक कक्षामार्फत दक्ष बनाउँदै आएका छौँ । यसमा आधुनिक प्रविधिको प्रयोगले पनि सिकाइलाई प्रभावकारी बनाउँदै ल्याएको अनुभव गरेका छौँ र यसतर्फ जोड दिइरहेका छौँ ।
स्थानीय, प्रदेश र संघीय सरकारको सहयोग र समन्वय कस्तो छ ?
– शिक्षकहरूको सेवा सुविधा र अन्य आउने अनुदान अधिकांश संघीय सरकारबाट प्राप्त हुँदै आएको छ । प्रदेश सरकारले यो वर्ष खेलकुद मैदान विस्तार शीर्षकमा १० लाख अनुदान दिएको थियो । दमक नगरपालिकाले यसपटक ३ लाखभन्दा बढी अनुदान दिएको छ । तर ढिलाइ भइरहेका भवन निर्माणलगायतका भौतिक निर्माणलाई हेर्दा सम्बन्धित निकायबाट तदारुकता र सहयोग कम नै छ ।
प्र.अ.को जिम्मेवारीमा रहँदै गर्दा करिब दुई वर्षको अवधिका खास उपलब्धीहरू के के हुन् ?
– विशेष कारणवश मैले प्रअको कार्यभार सम्हालेपछि भवन, कक्षाकोठा व्यवस्थापनलगायत भौतिक निर्माणमा महत्त्वपूर्ण काम भएका छन् । त्यसैगरी शैक्षिक उपलब्धिहरू पनि भएका छन् । लामो समयसम्म रोकिएको विद्यालय व्यवस्थापन समिति गठन भएको छ । गुरुगुरुआमाहरू एकताबद्ध भएर आआफ्नो जिम्मेवारीमा लागि पर्ने वातावरण बनेको छ । विज्ञान र प्रविधि विभागतर्फ विद्यार्थी खोज्नु पर्ने अवस्थाबाट अहिले प्रवेश परीक्षाबाट छनोट गर्ने स्थितिमा आइपुगेका छौँ । विद्यालयलाई धुलोरहित बनाउन ग्राफिकल डिजाइनमा इन्टरलक गरिएको छ, चौरमा बाह्रैमास हरियो राखी सितल र धुलोरहित बनाइको छ । सौचालयहरुको स्तरोन्नति गरी अरु सौचालय थप गरिएको छ । आधुनिक फिल्टर जडित प्रसस्तै पिउनेपानीको व्यवस्था गरिएको छ । बालबालिकाको उमेर अनुसारको डेस्क बेन्चहरुको व्यवस्था गरिदै लागिएको छ । कक्षा कोठामा आधुनिक विधि र प्रविधिको प्रयोगहेतु इन्टरयाक्टिभ प्यानल बोर्डको व्यवस्था बढाउदै लगिएको छ । हालसम्म ११ ओटा त्यस्ता बोर्डहरु रहेका छन् भने यस वर्ष १० ओटा जति थप गर्ने योजना रहेको छ । पठनपाठनको तरिकालाई आधुनिक प्रविधिहरु विस्तार गरी प्रविधिमैत्री बनाउदै लगिएको छ । पूmलबारीको व्यवस्था गरिएको छ । शिक्षक कर्मचारीका लागि हरेक महिनाको २८ गते तलव दिने व्यवस्था गरिएको छ । सञ्चयकोषको व्यवस्था नभएका शिक्षक कर्मचारीहरुलाई सञ्चयकोषको व्यवस्था गरिएको छ । विद्यालयलाई सफा सुग्घर राखिएको छ । राम्रो अडिटेरियम हलको व्यवस्था गरिएको छ । विद्यार्थीहरुलाई अतिरिक्त, विशेष र उपचारात्मक कक्षाहरुको व्यवस्था गरिएको छ । विद्यार्थीहरुको सिकाइ बृद्धि गर्न अतिरिक्त कक्षाको व्यवस्था, विशेष कक्षाको व्यवस्था तथा उपचारात्मक कक्षाको समेत व्यवस्था गरेको छ । विद्यार्थीहरुलाई अनुशासित शान्त वातावरण प्रदान गरिएको छ । स्टाफ कक्ष अति व्यवस्थित बनाइएको छ । विद्यालयको सुरक्षाका लागि सि.सि. क्यामेराको व्यवस्थालाई व्यापक बनाउदै लगिएको छ । विद्यार्थीहरुलाई प्रत्यक्ष गरेर सिक्ने वातावरणका लागि परियोजना कार्यमा बढी जोड दिएर प्रयोगमा ल्याइएको छ । सबै भन्दा महत्वपूर्ण कुरा आर्थिक पारदर्शिता सतप्रतिशत बनाउने प्रयास भएको छ जसले गर्दा चुहावट र अनियमितता शुन्य प्राय छ ।

Author

You may also like