उर्जाको बैकल्पिक उपाय खोजी भइरहेको बेला कोशी प्रदेशमा पहिलो पटक झापाको शिवसताक्षीमा १० मेगावाटको सौर्य उर्जा उत्पादन सुरु भएको छ । पूर्वपश्चिम मुख्य सडककको दूधे बजारबाट करिब १० किलोमिटर दक्षिण ग्रामीण क्षेत्रमा परियोजना शुरु गरिएको हो ।
हुन त सौर्य उर्जा सरल पनि छ । एउटै इलेक्ट्रोनिक्स मिटरमा विद्युतीय ऊर्जा लिने र दिने खपत युनिट ‘रिड’ गर्न सक्ने भएकाले प्राधिकरणको विद्युत् कति खपत भयो र व्यक्तिले कति युनिट उत्पादन गरेर प्राधिकरणलाई दियो भन्ने स्वचालित हिसाब देखिने भएकाले यस्तो सुविधाको उपयोगमा धेरै समस्या झेल्नु नपर्ने भएकाले उपभोक्तालाई आकर्षित गर्न सकिने देखिन्छ । तरपनि, सर्वसाधारणले तत्कालै यस्ता कुरामा विश्वास गर्नेे आधार देखिरहेका छैनन् ।
कसरी ऊर्जा उत्पादन गर्ने, कसरी ग्रिडमा जोड्ने, प्राधिकरणले भनेअनुसार पैसा आउने हो कि होइन भन्नेमा पूर्ण रूपमा ग्राहक जानकार र विश्वस्त नभएसम्म घरायसी ऊर्जा उत्पादन र यसको किनबेच उल्लेख्य रूपमा बजार लिनमा भने कठिनाइ पनि हुने देखिनेछ । तर, व्यापक प्रचार–प्रसार र यसका फाइदा बेफाइदाबारे जानकारी दिएर वैकल्पिक ऊर्जामार्फत विद्यमान विद्युत् अभाव न्यूनिकरण गर्न सकिनेछ ।
ग्राहकलाई आफूले खपत गरेको प्राधिकरणको बिजुली र उत्पादन गरेको घरेलु ऊर्जा बेच्दा समग्र रूपमा सस्तो पर्ने प्रत्याभूति दिन नसक्दासम्म यसको आमप्रयोग हुन सक्दैन । साथै, घरघरबाट ग्रिडमा तार जोड्दा हुन सक्ने विद्युत् जोखिमबारेमा उपभोक्तालाई स्पष्ट र विश्वस्त बनाउन पनि त्यत्तिकै आवश्यक छ ।
निजी क्षेत्रकातर्फबाट शिवसताक्षी नगरपालिका ४ सालमारामा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाले सोलार प्यानलमार्फत उत्पादित १० मेगावाटको विद्युत नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा जोडिएको छ । यहाँबाट उत्पादित बिजुलीको नमूना परीक्षण सकिएर निरन्तर उत्पादन सुरु भइसकेको छ, यो सकारात्मक सन्देश हो ।
नेपालमा हाल २९ मेगावाट सौर्य विद्युत् उत्पादन भइरहेको र सन् २०३० सम्ममा यसलाई बढाएर एक हजार मेगावाट पु¥याउने राष्ट्रिय लक्ष्य रहेको छ । सौर्य ऊर्जा प्राधिकरणको ग्रिडमा पठाउन मिल्ने प्रावधानसहितको कार्यविधि दुई वर्षअघि स्वीकृत भएपछि विभिन्न निकाय र उद्योगले यस्तो सेवा उपयोग गर्न थालिसकेका भए पनि सर्वसाधारणलाई यसबारे पर्याप्त जानकारी नहुँदा ठूलो परिमाणमा ऊर्जा किनबेच हुन भने सकेको छैन । जब कि यस्तो सुविधा लिन बाइ डिरेक्सनल मिटर (नेट मिटरिङ) आवश्यक पर्ने र बजारमा सहजै रूपमा उपकरण उपलब्ध हुने भएकाले ऊर्जा बेच्न चाहने व्यक्ति वा कार्यालयले ठूलो आर्थिक लगानी र झन्झट बेहोर्नुपर्ने देखिँदैन ।
यो बैकल्पिक उर्जाले मुलुकको आर्थिक समृद्धिका लागि जनसहभागितामा आधारित यस्ता परियोजनाले ठूलो योगदान पु¥याउने देखिन्छ । प्रचारको अभावमा सर्वसाधारणलाई धेरै जानकारी भएको नपाइएकाले यसबारे पर्याप्त प्रचार–प्रसारको आवश्यकता देखिएको छ । उर्जा उत्पादन आफैंमा सकारात्मक र बैकल्पिक आधार भएकाले यसको उत्पादनमा बृद्धि गरी थप विकास र प्रवद्र्धन अहिलेको आवश्यकता हो ।
