दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई यसबेला चुनाव लागेको छ । संस्थाको नेतृत्व गर्ने योजनाकासाथ स्थानीय उपभोक्ता चुनावी मैदानमा उत्रिएका छन् । चैत २३ मा हुने निर्वाचनकालागि यसबेला घर घरमा पुगेर भोट माग्न भ्याइनभ्याई छ ।
आआफ्नैखाले प्रतिवद्धता जनाएर मत तान्न व्यस्त देखिन्छन् । आम मानिसको जीवन बचाउने प्रमुख तत्व मध्येको अति महत्वपूर्ण ‘खानेपानी’को व्यवस्थापनका क्षेत्रमा आवश्यक र गर्न सकिनेखाले प्रतिवद्धता जाहेर गरेर प्रतिवद्धतालाई व्यवहारमा लागू गर्नु पर्ने हुन्छ । निर्वाचनमा १२ पदकालागि ४१ जनाको मनोनयपत्र दर्ता भयो । ६ वटा क्षेत्रमा विभाजित दमक नगरपालिकाको प्रत्येक क्षेत्रबाट १/१ जना सदस्य तथा खुला महिला सदस्यबाट ३ जना निर्वाचित हुनेछन् । त्यसरी चुनिएका ९ जनाबाट पदाधिकारी तथा कार्यसमिति सदस्यहरु निर्वाचित हुने प्रावधान रहेको छ । यसबाहेक संयोजक सहित ३ जना लेखा समितिमा निर्वाचित हुनेछन् । नेतृत्व छान्न विभिन्न ६ वटा क्लष्टरका ६ हजार २ सय ८२ मतदाताहरुले मतदानमा भाग लिने छन् ।
प्रत्यक्ष रुपमा दलहरुका उम्मेदवार नभनिएपनि दलीय सहयोग र समर्थनमा ३ वटा समूहमा विभाजित भइ नेतृत्व हात पार्न उम्मेदवारहरु लागिपरेका छन् । उनीहरुलाई दलका नेताहरुले पनि आआफ्नो समूहमा समर्थन मात्र होइन भोट मागेर हिड्ने काममा पनि सघाएका छन् ।
नेपालकै एउटा विकासको गतिमा फड्को मार्दै गएको सहरका रुपमा दमक नगरको सवैतिर सुद्ध पानी वितरणमा हुँदैगरेका प्रयासहरुमा साथमासाथ र हातमा हात मिलाएर पानीको दर्विलो व्यवस्थापनमा अवको समिति अझ सक्रिय वन्नुपर्ने आवश्यकता देखिन्छ । बढ्दो सहरीकरणसंगै बढ्ने जनसंख्याको चापलाई व्यवस्थित रुपले खानेपानी वितरण गर्नुपर्ने हुन्छ । पानीका स्रोतहरु मासिँदो अवस्थामा पुगेको छ, त्यसलाई पनि संरक्षण गर्नु यस्ता संस्थाको काम हुन आउँछ । अहिले मानिसका अति आवश्यकीय क्षेत्रमा पर्ने खानेपानी स्थानीयलाई निःशुल्क उपलब्ध गराउनु पर्ने आवाज पनि उठ्न थालेका छन् । त्यसमा स्थानीय सरकारले कति व्यवस्थापन गर्न सक्छ भन्ने अर्काे पाटोको कुरा हो । तर हालको अवस्थामा सहज रुपले सुद्ध र नियमित रुपमा खानेपानी उपलब्ध गराउने, पानीको संरक्षण, चुहावट, सुद्ध खानेपानीको सचेतना सहितका पक्षमा व्यवस्थापन चुस्त बनाउन दल भन्दा माथि उठेर साँच्चैको समाजसेवाको भावनाबाट नेतृत्व चुनिएर काम गर्नु आवश्यक छ ।