दमक, १९ चैत /
नेपाली गीत संगीतका धरोहर रनजित गजमेरको सम्मानमा अमेरिकामा जुन २२ अर्थात ०८१ असार ८ गते ‘रनजित गजमेर उत्सव’ हुने भएको छ ।
मेनुका मेमोरियल फाउण्डेशन र भुटनिज नेपाली आर्टिष्टको सहकार्यमा नक्षत्र फाउण्डेशनले अमेरिकाको कोलम्बस ओहियोमा गजमेरको सम्मानमा उत्सव हुने शनिवार त्यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । जिन्दगानी दर्पणछायाँका रुपमा गजमेरको आरोह अवरोहको यात्रा सहित प्रस्तुत गरिने जनाइएको छ ।
अमेरिका लगायतका ८ मुलुकमा पुनर्वास भएका भुटानी सर्जकहरुमा समेत संगीत भरेर नेपाली गीतसंगीतको आकाशलाई फराकिलो बनाउन मद्धत गरेको भन्दै गजमेरलाई सम्मान गर्न लागिएको त्यहाँबाट पत्रकार अर्जुन प्रधानले जनाए । सांगीतिक सहितको कार्यक्रमकालागि नेपालीभाषीहरुले सहयोग जुटाएर नेपालीपनको सम्मानमा एकजुट भएको गायक किशोर शिवाकोटीले उल्लेख गरे । गजमेरको संगीत रहेका प्रख्यात गीतहरुलाई त्यहाँ रविन शर्मा, किरण गजमेर सहितका गायक गायिकाले प्रस्तुत गर्नेछन् । भारतमा बसोबास गर्ने गजमेर नेपालीका साथै भारतीय गीतसंगीतका उचाईका सर्जक हुन् ।
सन् १९८१ मा ‘बाँसुरी’बाट नेपाली चलचित्रमा समाहित गराएका गजमेरले सयौं गीतमा संगीत भरेका छन् । ‘सम्झना’, ‘कुसुमे रुमाल’, ‘बासुदेव’, ‘साइनो’, ‘लाहुरे’, ‘चिनो’, ‘दुई थोपा आँसु’, ‘कोसेली’, ‘दर्पण छाया’ जस्ता चलचित्रका गीतमा उनी एकछत्र छाए ।

१९६७ मा गजमेर काठमाडौं आएर रेडियो नेपालमा स्टुडियो संगीतकार पनि बनेका थिए । पछि उनी मुम्बई (बम्बई)मा संगीतिक करियर बनाउन आरडी बर्मनको सहकार्य गर्न पुगेका थिए । उनले थुप्रै भारतीय चलचित्रमा पनि संगीत भरेका छन्, नेपाली मादल घन्काएका छन् । सन् १९८२ मा उनले आशा भोसलेको लागि नेपाली संगीतको व्यवस्था मिलाइदिएका थिए ।

Author

You may also like