मुख्य

ताेरीमा आत्मनिर्भर बन्दै कोशीका किसानहरु

दमक, १९ पुस। कोशी प्रदेशका धेरैजसो जिल्लाका किसानहरु तोरी खेतीमा आकर्षित हुन थालेका छन् । कोशीका जिल्लाहरु झापा, मोरङ र सुनसरीमा तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ ।

कृषिलाई प्राथमिकतामा राखेर यस बर्षदेखि अध्यक्षसँग कृषक कार्यक्रम ल्याएको झापाको कमल गाउँपालिकाले तोरी खेतीमा किसानहरुको आकर्षण बढाएको छ । बजारमा अघिल्लो बर्ष तोरी र तोरीबाट उत्पादित तेलको मूल्य अचाक्ली बढेको थियो ।

बजारमा तोरीको मूल्य आकाशिएको र आफनै बारीमा उत्पादन भएको तोरीको खानेतेल स्वास्थ्यका दृष्टिकोणबाट समेत स्वस्थ्यकर हुने भएकाले तोरी तेलमा आत्मनिर्भर बनाउन विशेष कार्यक्रम कार्यान्वयन गरेको कृषि ज्ञानकेन्द्र झापाले जनाएको छ ।

झापाको कमल गाउँपालिकाका कृषि शाखा प्राविधिक प्रेम पोखरेलले यस बर्ष गाउँपालिकाले किसानलाई तोरी खेतीमा आकर्षित गर्न हरेक वडाको एक ÷एक टोलमा उन्नत प्रजातिको तोरीको बिउ उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार गाउँपालिकाले पालिकाको ७ वटै वडामा कूल ४ सय केजी बीउ तोरी अनुदानमा उपलब्ध गराएपछि किसानले लगाएको तोरी खेती अहिले लोभलाग्दो देखिएको हो । पोखरेलका अनुसार यो बर्ष कमल गाउँपालिकाका सबै वडामध्ये वडा नम्बर १ मा सबैभन्दा धेरै खेती गरिएको छ । यो वर्ष सबै वडामा गरि करिब ५ सय हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको उनले जानकारी दिए ।

भद्रपुर नगरपालिकाले तेलहन उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ तोरीखेतीमा अनुदान कार्यक्रम लागू गरेपछि यस वर्ष यहाँका किसानले पाँच सय ३३ हेक्टरमा तोरीखेती गरेका छन् । गत वर्ष भद्रपुरमा दुई सय हेक्टरमा तोरीखेती गरिएको थियो । नगरभरिका आठ सय ८९ किसानले पाँच सय ३३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरेको विवरणसहित अनुदानका लागि आवेदन दिएको नगरपालिकाका कृषि शाखा प्रमुख सुमन बिमलीले जानकारी दिए । गाउँपालिकाबाट मूल बिउ तोरी लिएर खेती लगाएका किसान सुरेन्द्र राय यसबर्ष तोरी खेतीको उत्पादन राम्रो हुने आशा गरेको बताउँछन् ।

सरकारी प्रोत्साहनसँगै उत्पादनको उचित मूल्य प्राप्त भएपछि यहाँका किसान तोरीखेतीतर्फ आकिर्षत भएका हुन् । तोरीखेतीलाई प्रवद्र्धन एवम् प्रोत्साहन गर्न स्थानीय तहले अनुदान दिइरहेका छन् भनें संघीय सरकारबाट सशर्त अनुदान आएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।

संघीय सरकारबाट पनि तोरीको प्रवद्र्धनकालागि बुद्धशान्ति गाउँपालिकामा २० लाख र मेचीनगर नगरपालिकामा ३० लाख आएको छ । गत वर्ष पाँच हजार पाँच सय ८० हेक्टरमा तोरीखेती गरिएकामा यस वर्ष पाँच हजार आठ सय ४० हेक्टरमा तोरीखेती गरिएको छ । गत वर्ष झापामा छ हजार सात सय ३० मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष उत्पादन वृद्धि हुने आकलन गरिएको छ । यस वर्ष झापाको हल्दिबारीमा सबैभन्दा बढी तोरीखेती गरिएको छ । त्यस्तै भद्रपुर, कचनकवल, दमक, कमल, मेचीनगर, बुद्धशान्तिलगायतका पालिकामा समेत उल्लेख्य मात्रामा तोरीखेती गरिएको छ । गत वर्षको सुरुआतमै रु पाँच हजार चार सयमा प्रतिमन ( ४० किलोग्राम) बिक्री भएको तोरी यस वर्ष करिब छ हजारको हाराहारीमा पुग्ने अनुमान छ । उत्पादित तोरीको मूल्य उच्च हुनुका साथै अनुदानसमेत पाइने भएपछि किसान तोरीखेतीप्रति आकर्षित भएका हुन् ।

यसैगरी मोरङ जिल्लामा कूल खेतीयोग्य जमिन एक लाख ११ हजार छ सय ९५ हेक्टर क्षेत्रफल छ । गत वर्ष ११ हजार पाँच सय हेक्टर जमिनमा किसानले तोरी लगाएकामा आठ हजार ५० मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष क्षेत्रफल वृद्धि गर्दै १६ हजार चार सय ७४ हेक्टर जमिनमा तोरी लगाइएको केन्द्रले जनाएको छ । जिल्लाको १७ पालिकामध्ये कानेपोखरी गाउँपालिकामा सबैभन्दा धेरै तोरी लगाउने गरेको उक्त केन्द्रले जनाएको छ । यस वर्ष कानेपोखरीमा तीन हजार छ सय हेक्टरमा जमिनमा तोरी लगाइएको छ ।

तोरी उत्पादनका लागि राम्रो हावापानी मानिएको सुनसरीमा तोरीखेती गर्ने कृषकहरुको संख्या बढ्दै गएको छ । पछिल्ला दुई वर्षदेखि जिल्लामा तोरीखेती लगाउने कृषक बढ्दै गएका हुन् । गत वर्ष जिल्लामा नौ हजार १७९ हेक्टर क्षेत्रफलमा तोरीखेती भएकोमा यस वर्ष नौ हजार २७० हेक्टर क्षेत्रफलमा तोरीखेती किसानले लगाएकोे कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले बताए । गत वर्ष १५ हजार तीन सय एक मेट्रिक टन तोरी उत्पादन भएको र उत्पादकत्व १.६७ प्रतिशत रहेको सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले जानकारी दिए । सुनसरीका किसानले विकास, प्रगति, टी नौ, मोरङ दुई जातका तोरीे लगाउँदै आएका छन् । अधिकतर कृषकहरु तेलहन बालीतिर आकषर्ण हुँदा तोरीखेती गर्ने कृषक बढ्दै गएको वराहक्षेत्र नगर कृषि विकास शाखाका कृषि प्राविधिक निरबहादुर राईले जानकारी दिए ।

तोरी समशीतोष्ण जलवायु बाली भएकाले यसले धेरै चिसो र कुहिरो सहन सक्दैन । बढी चिसो र कुहिरो हुँदा उत्पादन कम हुन्छ । तोरीमा ४० देखि ४५ प्रतिशत तेल हुने गर्दछ भने पनि पशु आहाराको रुपमा र प्राङ्गारिक मलको रुपमा प्रयोग हुँदै आएको छ ।

You may also like