गौरादह/ गौरादह नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि जनप्रतिनिधिले सक्रियता बढाउन थालेका छन् । पछिल्लो समयमा सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किएको जनमानसमा गुनासो आइरहेका बेला सुधारका लागि जनप्रतिनिधि अग्रसर भएका हुन् ।
सरकारी लगानीमा निःशुल्क शिक्षा भएपनि पछिल्लो समयमा अंग्रेजी शिक्षाको मोह कायमै रहेकाले यहाँका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ । गौरादह नगरपालिका वडा नं –३ का नवनिर्वाचित वडाध्यक्ष दिलिप भण्डारीले वडा भित्र रहेका सामुदायिक विद्यालयमा अभिभावकको माग बमोजिम सिकाइ पद्धतिमा सुधार गर्ने प्रतिवद्धता जनाएका मात्र छैनन्, स्थानीय सूर्योदय आधारभूत विद्यालयमा मन्टेश्वरी कक्षा संचालन गर्ने निर्णय समेत वडाबाट गराएका छन् । वडाध्यक्ष भण्डारीले सामुदायिक विद्यालयमा स्थानीय सरकारको समेत लगानी बढाई शैक्षिक गुणस्तर सुधार गरी विद्यार्थी संख्या बढाउन सकिने बताएका छन् । विद्यालयमा विद्यार्थीहरुका लागि शारीरिक, मानसिक, शैक्षिक क्षेत्रको विकास हुन सक्ने क्रियाकलाप गराउन स्थानीय सरकार लागी पर्ने भण्डारीले बताए ।
सो विद्यालयमा यसै शैक्षिक सत्रबाट नर्सरीदेखि कक्षा २ सम्म मन्टेश्वरी पद्धतिमा कक्षा संचालन गर्दै बालमैत्री शिक्षण गर्ने विद्यालयका प्रधानाध्यापक लिलानाथ गौतमले बताए । महंगो शुल्क तिरेर मन्टेश्वरी विधिमा पढाइ हुने निजी विद्यालयमा नानीहरू लानु नपर्ने गरी सामुदायिक विद्यालयमा मन्टेश्वरीमा आधारित कक्षा संचालन गर्दा अभिभावकहरुको ध्यानाकर्षण गर्न सकिने प्रधानाध्यापक गौतमले बताएका छन् । विद्यालयमा अध्ययनरत १० वर्षभन्दा माथिका विद्यार्थीहरुका लागि यसै शैक्षिक सत्रदेखि लागू हुने गरी मार्शल आर्ट्सका कक्षा समेत संचालनमा ल्याइएको प्रधानाध्यापक गौतमले बताए । पाठ्यक्रमले निर्देश गरे बमोजिम बर्तमान समय र परिस्थिति अनुसार शिक्षण गर्न सामुदायिक विद्यालय अब्बल रहेको बताउँदै अध्यक्ष भण्डारीले सामुदायिक विद्यालयमा निर्धक्क साथ विद्यार्थी भर्ना गराउन स्थानीय अभिभावकसंग अपिल गरेका छन् । सूर्योदय आधारभूत विद्यालयमा विद्यार्थीहरुका लागि आवश्यक क्रियाकलाप सहित शिक्षण कार्य प्रारम्भ भएको भन्दै वडाध्यक्ष भण्डारीले अभिभावकहरुको साथ सहयोगको लागि अनुरोध गरेका हुन् ।
स्वतन्त्र उमेदवारी दिएर वडाध्यक्षमा निर्वाचित भण्डारीले उम्मेदवारी दिएर निर्वाचन प्रचारप्रसारको समयमा सामुदायिक विद्यालयहरुलाई आधुनिक शैक्षिक गन्तब्यका रुपमा विकास गरिने प्रतिवद्धता जनाएका थिए । विद्यालयले हाल संचालनमा ल्याएका मन्टेश्वरी कक्षा र मार्शल आर्ट बाहेक सबै कक्षामा मल्टिमिडियाको प्रयोगबाट शिक्षण गराउने, विज्ञान विषयको प्रयोगशालाको व्यवस्था, इ–लाइब्रेरीको व्यवस्था तथा कमजोर विद्यार्थीका लागि विशेष कक्षाको व्यवस्था समेत गरिएको उनले जानकारी गराए । अंग्रेजी माध्यममा शिक्षण गराउन चाहने अभिभावकहरुका लागि अंग्रेजी माध्यमको थप पाठ्यपुस्तक मात्र अभिभावकले किनिदिए अन्य शुल्क नलाग्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुमार खतिवडाले प्रष्ट पारे । विद्यालयमा विद्यार्थी भर्ना चलिरहेको हुनाले विद्यालय जाने उमेरका नानीहरुलाई विद्यालयमा भर्ना गराउन अध्यक्ष खतिवडाले सम्बन्धित सबैसंग आग्रह गरेका छन् ।
सरकारीमा अंग्रेजी शिक्षा
पछिल्ला केही वर्षहरुदेखि कतिपय सरकारी विद्यालयहरुमा पनि बोर्डिङ स्कूलको जस्तै र उही खालका किताबहरु राखेर अध्ययन अध्यापन गराउन थालिएको हो । त्यसका लागि विद्यालयमा पुराना र लामो समयदेखि शिक्षण गर्दै आएका शिक्षकहरुलाई सहज हुनेगरी अंग्रेजी माध्यमको शिक्षाका लागि निजी स्रोतमा निजी विद्यालयकै अनुभव भएका शिक्षकहरु नियुक्त गरिएको पाइन्छ । यसबाट सरकारी विद्यालयमा विद्यार्थीहरुको संख्या बढ्नुका साथै अभिभावकहरु पनि उत्साहित बन्ने गरेका छन् । कतिपय न्यून विद्यार्थी संख्या भएर अन्य विद्यालयमा गाभिन लागेको विद्यालयहरुले पनि यसो गर्दा पुनर्जीवन पाएका छन् । स्थानीय तहको जिम्मामा भएकाले ति सरकारी विद्यालयहरुमा आवश्यक थप भवनहरु पनि धमाधम बनिरहेका छन् । अभिभावकहरु पनि कम शुल्कमा पढाउन पाइने भएकाले हर्षित देखिन्छन् । तर सरकारी विद्यालयको अनुशासन कडा बनाउनु पर्छ भने शिक्षकहरुले पनि थप मिहेनत गर्नुपर्ने हुन्छ । तबमात्र गुणस्तरमा सुधार आउनुका साथै विद्यार्थीहरुको नतिजा अब्बल आउने हुन्छ । अन्यथा शिक्षण सिकाईको माध्यम मात्र अंग्रेजी बनाउने तर विद्यार्थीलाई गृहकार्य नदिने र चेकजाँच पनि नगर्ने हो भने नयाँ अभियान चलाउनुले खासै अर्थ राख्दैन । मन्टेश्वरी कक्षाका हकमा पनि यही कुरा लागू हुन्छ ।