दमक/ जङ्गली हात्ती किच्दा दमकको बेलडाँगीस्थित भूटानी शरणार्थी शिविर बेलडाँगीका एक बृद्धको ज्यान गएको छ ।
मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा ७२ वर्षीय पदमलाल तामाङलाई हात्तीले लखेटेर कुल्चिदा मृत्यु भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जनाए ।
शिविरको सेक्टर नं २ को हट नम्बर २५२ का तामाङ दिउँसो दाउरा खोज्न जङ्गल गएका थिए । साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई जङ्गलमै मृत भेटाएको डिभिजन वन कार्यालयका प्रमुख राईले बताए ।
यसैगरी मेचीनगर नगरपालिका–११ स्थित विशाल दाहालको एकतले पक्की घर जङ्गली हात्तीले भत्काएको छ ।
स्थानीय बाँसबारी सामुदायिक वनबाट गाउँ छिरेको एउटा हात्तीले पर्खाल भत्काएर घरभित्र पसी चार सय किलो धान र दुई सय किलो चामल खाएको पीडित दाहालले जानकारी दिनुभयो ।