मुख्य राजनीति सामाजिक सञ्जाल सुरक्षा

कडा सुरक्षाबीच युवासंघ र दुर्गा प्रसाईंको कार्यक्रम

दमक/ नेकपा एमालेको भातृ संगठन युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले अाजका लागि एकैदिन शक्ति प्रदर्शन गर्ने घोषणा गरेका छन् । संघीय राजधानी काठमाडौँमा गर्ने प्रदर्शनले राष्ट्रिय राजनीतिमा तरङ्ग पैदा हुने आँकलन पनि हुन थालेको छ । काठमाण्डौंमा के होला भन्ने प्रश्नले यति वेला सरकारदेखि गाउँघरका ससाना चियापसलसम्मका नागरिकको चासो बढेको छ ।
एकातिर दुर्गा प्रसाईंका समर्थनमा राजधानी जानेको ओइरो छ । स्रोतका अनुसार, प्रसाईंले पूर्वका जिल्ला झापा, मोरङ, सुनसरीदेखि पश्चिमका जिल्लाबाटसमेत युवा जमातलाई राजधानी केन्द्रीत गरिएको छ । सुरक्षा स्रोतका अनुसार, प्रसाईंले ७५३ वटै स्थानीय तहबाट मानिसहरु ल्याउने उदघोषसहित ८६ स्थानमा आफ्नो सम्पर्क व्यक्ति तोकेका छन् ।
यसैविच मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते काठमाडौंमा विरोध प्रदर्शन तयारीबारे जानकारी दिन बुधवार पत्रकार सम्मेलन गर्दै आफूहरुलाई जिस्काएमा काठमाडौंका मानिसले भात खान नपाउने गरी नाका ठप्प पारिदिने चेतावनी दिएका छन् । ‘हामीलाई जिस्काउने हो भने काठमाडौंका मान्छेले भात खान पाउँदैनन्,’ भक्तपुरस्थित आफ्नै घरमा पत्रकार सम्मलेन गर्दै बुधबार प्रसाईले भने, ‘ हामीलाई काठमाडौं छिर्न दिएनन् भने काठमाडौंका सबै नाका ठप्प पार्छौं ।’ आफ्ना समर्थकहरुको हुटिङ र होहल्लाका वीच प्रसाईंले भने,‘भोलिदेखि विद्रोहको विरुवा रोपिन्छ । साम्यवाद कस्तो हुन्छ भन्ने म देखाइदिन्छु ।’
मेडिकल व्यवसायी प्रसाईंले एक्लो मानिससँग राज्य हल्लिएको भन्दै गणतन्त्रमा बोल्ने अधिकार सबैको भएको बताए । पृथ्वीनारायण शाहले बनाएको जग भत्काएकाले गणतन्त्र हल्लिएको भन्दै अब यो व्यवस्था अन्त्य नभएसम्म घर नफर्किने उद्घोष गरे । कि जेल जाने कि मर्ने कसम खाएर आफु काठमाडौँ आएको प्रसाईंको भनाइ छ । काठमाडौंको कार्यक्रममा सहभागी हुन आएका महिला महिला बसेको ठाउँमा युवासंघका कार्यकर्ताले हातपात गर्न खोजेको उनले आरोप लगाए । उनले महिलामाथि अत्याचार गर्दासमेत महिला अधिकारकर्मी र राज्यप्रसाशन मौन भएकोमा आपत्ति समेत जनाए । ओली र बस्नेतलाई चेतावनी दिँदै उनले मित्रवत् व्यवहार गर्दा राम्रो हुने तर दुस्मनी गर्दा ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।
अर्कातिर आफ्ना बाहुबली नेता महेश बस्नेतका नेतृत्वमा सिङ्गो एमाले प्रसाईंको प्रदर्शनलाई काउनट गर्ने गरि प्रदर्शन गर्न खोजिरहेछ । एमालेले पनि यो कार्यक्रममा भेला हुन देशभर उर्दी गरेको छ ।
युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले शक्ति प्रदर्शन गर्न लागेपछि काठमाडौको जताततै निषेधाज्ञा जारी गरिएको छ । गृह प्रशासनको सक्रियता हेर्दा मुठभेड हुने सम्भवना छैन । तर अकस्मात् मुठभेडको सम्भावनालाई नकार्न सकिने अवस्था पनि छैन । पछिल्लो समय काठमाडौँ प्रशासनले राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको छ । प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) अनुसार, सो निषेधित क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने जारी निषेधाज्ञामा उल्लेख छ ।
यसैविच राजधानीमा हुने जनप्रदर्शनको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने भएको छ भने इन्सेकलेपनि काठमाडौँमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकहरूलाई संविधानप्रदत्त अधिकार अनुकूल शान्तिपूर्ण रूपमा आ–आफ्नो कार्यक्रम सम्पन्न गर्न आह्वान गरेको छ
विवादास्पद मेडिकल व्यवसायी प्रसाईं कुनै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल
राजनीतिले….प्रचण्डसँगै निकट थिए । द्वन्द्वका बेला माओवादीलाई सेल्टर दिएको बताउँदै उनी प्रचण्डसँग नजिकिएका थिए । पछि नेकपा एमाले र माओवादी मिलेर नेकपा बनेका बेला प्रसाईं केपी शर्मा ओलीतिर निकट भए । एमालेमा प्रवेश गरेर उनी केन्द्रीय सदस्यसम्म बने । तर, पछिल्लो समय सामाजिक सञ्जाल युट्युबमा उग्र अभिव्यक्ति दिँदै प्रसाईंले झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई बोलाएर कार्यक्रम गरेपछि ओली प्रसाईंसँग चिढिएका थिए । पछि एमालेले उनलाई कारबाही समेत गर्यो ।
२०७३ सालमा प्रधानमन्त्री भएका बेला दाहालले प्रसाईंको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन जोडबल समेत गरेका थिए । तर, डा. गोविन्द केसीको अनशन र विरोधका बीच बीएण्डसीले सम्बन्धन पाउन सकेन ।
ओलीविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आएका प्रसाईंको प्रतिवाद एमाले नेता महेश बस्नेतले गरिरहेका थिए । २२ असोजमा उनलाई युवा संघका कार्यकर्ताहरुले काठमाडौंको जमलमा उनलाई कालोमोसो समेत दलेका थिए । त्यसो त प्रसाईं स्वयंले एक वर्षअघि बैंक तथा वित्तीय संस्थाको ऋण मिनाहा, लघुवित्त लगायतका विषयलाई लिएर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए । जमलमा कालोमोसो दलिएको प्रतिवादमा प्रसाईंनिकट समूहले झापामा बस्नेत गएका बेला कार्यक्रम विथोल्ने प्रयास गरेको थियो । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, त्यसबेला अज्ञात समूहले कार्यस्थलबाहिर रहेको गाडीहरुमा तोडफोड गरेको थियो । उनको समूहको नामबाट ३ मंसिरमा जारी विज्ञप्तिमा ७ मंसिरदेखि ‘शान्तिपूर्ण नागरिक मुक्ति आन्दोलन’ थालिने भनिएको छ । यसमा प्रसाईंले हिन्दुवादी संगठन, अभियन्तादेखि विदेशमा रहेका नेपालीलाई समेत प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।
यही समयमा युवा संघले पनि भ्रष्टाचार र अराजकताविरुद्ध भन्दै प्रदर्शन गर्ने घोषणा गरेको छ । गएको शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि यो पार्टीकै कार्यक्रम भएको बताएका छन् । तर, कतिपयले बस्नेत र प्रसाईंबीचको तिक्ततामा एमाले प्रवेश गरेको टिप्पणी गरेका छन् ।

Author

You may also like