इलाका प्रहरी कार्यालय दमकमा यतिबेला प्रमुख भएर आएका छन्, प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डित । कास्कीको पोखरा घर भएका पण्डित धनकुटाबाट सरुवा भएर दमक आएका उनी प्रहरी निरीक्षकबाट बढुवा भएर प्रहरी नायव उपरीक्षक भएका हुन् । सुरक्षा व्यवस्था सधैँको चुनौती हो । यस्तो अवस्थामा दमकको शान्ति सुरक्षाको स्थिति कस्तो छ र प्रहरीले कसरी काम गरिरहेको छ भन्ने बारेमा डीएसपी पण्डितसँगको जम्काभेटमा गरिएको कुराकानी ः
दमक आउँदा कस्तो महसुस भएको छ ?
खुसी नै लागेको छ । प्रहरीले जहाँ गए पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । सोहीअनुसार मेरो दमक आगमनलाई पनि लिएको छु । प्रधानमन्त्रीको गृहनगर र क्षेत्र भएकाले पनि यहाँ आउन र जिम्मेवारी सम्हाल्न पाउनु सौभाग्यकै कुरा हो । यो अवसरलाई भरपूर उपयोग गरी काम गर्ने छु ।
दमक र यस क्षेत्रमा के कस्ता समस्या छन् ?
त्यस्तो ठूलो समस्या त देखेको छैन । नियमित गर्ने कामहरु मात्र देखिएका छन् । अपराधहरु पनि नियमित भइरहने घटना र समस्याहरु छन् । तिनको निदान र समस्या समाधानका लागि दमक प्रहरी अहोरात्र खटिएको छ ।
चाडपर्वको बेला कसरी शान्ति सुरक्षा व्यवस्थापन गर्नुभयो ?
भर्खरै मात्र दसैँ, तिहार र छठ पर्व समापन भएका छन् । त्यस क्रममा मानिसहरुको आवागमन र भिडभाड बढेकै हो । यो सधैँको अवस्था नै हो । त्यसकारण हामीले आत्तिने कुरा भएन । सामान्य ढङ्गबाट शान्ति सुरक्षाको स्थिति कायम राख्न हामी सफल भयौँ । प्रहरीले हरेक वर्ष नै यस्तो अवस्थामा शान्ति सुरक्षाको उचित व्यवस्थापन गर्दै आएको छ । यो कुनै नयाँ र नौलो अभ्यास भने होइन ।
प्रहरी कार्यालयमा के कस्ता अपराधका घटना आउँछन् ?
समय समयमा भइरहने अपराधका घटनाहरु नै छन् । त्यस्तो कुनै नौलो र एकदमै ठूलो र जटिल केस त आएको छैन । तर हाम्रो रेकर्डमा भए अनुसार केही सार्वजनिक अपराध, चोरी, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग, लागुऔषधको ओसारपसार तथा प्रयोग, सवारी दुर्घटना, ठगी लगायतका केसहरु नै आएको पाइएको छ । त्यसमा अपराध गरेको ठहर भए कानुन अनुसार कारबाही हुन्छ ।
यस क्षेत्रमा शान्ति सुरक्षाका के कस्ता चुनौतीहरु छन् ?
शान्ति सुरक्षाको अवस्था सामान्य नै छ । त्यस्तो ठुलो चुनौती छैन जसलाई हल गर्न नसकियोस् । यसर्थ दमक र आसपासका क्षेत्रको शान्ति सुरक्षा कायम गर्न प्रहरी सफल नै छ । सामान्य किसिमका झैझगडा र हिंसाका केसहरु आउँछन् । तिनलाई कुशलतापूर्वक व्यवस्थापन र समस्याको समाधान गरिएको छ । यो प्रहरीको नियमित काम भित्रै पर्छ ।
अन्त्यमा, केही भन्नु छ कि ?
झापा सचेत नागरिकहरु बस्ने जिल्ला पनि हो । त्यसकारण पनि यहाँका मानिसहरु आफ्नो कर्तव्य र दायित्वप्रति पनि त्यत्तिकै सचेत र जागरुक छन् । उनीहरुलाई सुरक्षा दिन र शान्ति कायम गर्न नेपाल प्रहरी सक्षम छ । यसमा समुदायको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण छ । समुदायमा आपसी सद्भाव, प्रेम र भाइचारा रहेको पाइएको छ । यो नेपाली समाजको विशेषता पनि हो । यस अर्थमा प्रहरीलाई समुदायको पनि सहयोगको आवश्यकता पर्दछ । त्यो मिलेकै छ । तसर्थ प्रहरी सत्य सेवा सुरक्षणम्को आफ्नो मूल मन्त्रअनुसार काम गर्न सधैँ तत्पर छ ।