समाचार

दमकमा विशेष आवासीय विद्यालय

पंकज दाहाल दमक/ दमकमा आगामी पाँच वर्ष भित्रमा विशेष आवासीय विद्यालय सञ्चालनमा ल्याइने भएको छ । फरक क्षमताका अपाङ्ग, बहिरालगायत बालबालिकाका लागि यस्तो विद्यालय सञ्चालनमा ल्याउन लागिएको हो । यसको पूर्वाधार निर्माणका लागि २ करोड रुपैयाँ निकासा भइसकेको दमक नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव दिनेशकुमार न्यौपानेले जानकारी दिए । दमक–९ को सरस्वती माध्यमिक विद्यालयमा विशेष शिक्षा आवासीय भवन बनाई यस्तो विद्यालय सञ्चालन गरिने छ ।
विद्यालय सरस्वती माविकै नाममा सञ्चालन हुने तर भवन भने छुट्टै अपाङ्गमैत्री बन्ने छ । सरकारले यसका लागि कुल १० करोड लगानी गर्ने भएको छ । न्यौपानेका अनुुसार हाल नगरपालिकाका नाममा १ करोड र सरस्वती माविका नाममा १ करोड रुपैयाँ प्राप्त भएको छ । भौतिक पूर्वाधार निर्माणको काम आगामी पुसदेखि सुरु गर्ने सरस्वती माविका प्रधानाध्यापक गणेश पौडेलले बताए ।
सो विद्यालय आवासीय हुने र सय जना विद्यार्थी तथा तिनका साथमा अभिभावक एक÷एक जना गरी दुई सय जनालाई बस्ने व्यवस्था गरिने छ । विद्यार्थीलाई फरक फरक मैत्रीपूर्ण कक्षा कोठामा राखेर शिक्षा दिइन्छ । प्रअ पौडेल भन्छन्, ‘खान, बस्न र पढ्न सबै व्यवस्था निःशुल्क हुने छ ।’ यस्ता विद्यालय झापाको दमकमा बाहेक बाँकी ६ प्रदेशमा पनि एक÷एक वटा हुने छन् । विद्यालय भवनको ड्रइङ, डिजाइन र विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम भइरहेको छ । यसका साथै आवश्यक गुरुयोजना बनाउने काम पनि भइरहेको पौडेलले बताए । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले यस योजनाका लागि केन्द्रमा आवश्यक समन्वय गर्ने छ ।
शारीरिक अपाङ्गता भएका, हेराइ, बोलाइ, सुनाइसम्बन्धी समस्या भएका बालबालिकाले अध्ययनको अवसर पाउने छन् । त्यस्तै मानसिक वा मनोसामाजिक, बौद्धिक अपाङ्गता, अनुवंशीय रक्तस्राव, अटिज्मको समस्या भएका र बहुअपाङ्गता गरी १० किसिमका अपाङ्गता भएकाहरुका लागि अत्याधुनिक भवन बनाइने योजना छ । जसमा पकाउने, खाने व्यवस्थाका साथै कक्षा कोठामा पनि १० प्रकारकै हुने छन् । ‘जसमा कोठाहरु साउन्ड प्रुफ, डार्क रुम लगायतका विशेषता भएका निर्माण गर्ने योजना छ,’ पौडेलले भने । यस योजनाका लागि सरकारले प्रदेश १ बाट सरस्वती मा.विलाई छनौट गरेको हो । हालै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को आङ्गिक क्याम्पसका रुपमा दमक बहुप्राविधिक शिक्षालय पनि सञ्चालमा आइसकेको छ ।

You may also like