मुख्य

क्रिकेटर सन्दीपलाई आठ वर्ष कैद सजाय

दमक, पुस २५ गते । जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैदसहित तीन लाख जरिवाना र पिडितलाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउनु पर्ने आदेश गरेको छ । 

न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपविरुद्धको रिटमा उक्त सजाय सुनाएको काठमाडौँ जिल्ला अदालतका वैतनिक वकिल बुनु भण्डारीले जानकारी दिनुभयो । यता काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका सन्दीप उच्च अदालत जाने हुनुभएको छ ।

क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आउनुभएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायका लागि उच्च अदालत जान लागिएको बताउनुभएको हो ।

बुधबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपलाई न्यूनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि उहाँले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलिल पेश गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरुलाई सुरक्षित रहेको तर्कसमेत गर्नुभएको थियो ।

अधिवक्ता घिमिरेले सो सम्बन्धी जिल्ला अदालतको फैसलालाई आफूहरुले मान्नुपर्ने बाध्यता भएकाले कम सजायको माग गर्दै सजाय निर्धारण सम्बन्धी बहसमा आफूहरुले भाग लिएको स्पष्ट पार्नुभयो । सन्दीप लामिछानेको व्यक्तित्व, उनले खेल जगतमा पारेको एउटा प्रभाव र उनका असल चरित्रलाई हेरेर र उनको सामाजिक दायित्वलाई हेरेर न्यूनतम सजाय होस भन्ने आफूहरुको भनाइ रहेको उहाँले बताउनुभयो ।

Author

You may also like