हिजोआज संघीय संसदमा अनेक हर्कत देख्न पाइन्छ । संसदीय मर्यादाको कुनै ख्याल नगरी सांसदहरु एक अर्कामा आरोप प्रत्यारोपमा उत्रिने गरेका छन् । व्यक्तिगत इगोका विषय पनि संसदमा प्रकट हुने गरेका छन् । आफू सत्तामा हुँदा सबै कुरा राम्रो अनि सत्ता बाहिर पुग्ने बित्तिकै सबै नासियो, सकियो भन्ने खालका प्रवृत्ति सबै पार्टीका नेतृत्व वर्गमा पाइन्छ । स्वार्थका कारण संसद धेरै पटक अवरुद्ध हुँदै आएका छन् तर जनताका जनजीविकाका सवालमा खासै चर्चा हुने गरेको छैन ।
संसदीय पद्धतिमा सबैचिजको मर्यादाको ख्यालगर्ने नियम बनाइएको हुन्छ । संसद बैठकमा बोल्ने, बस्ने, विरोध गर्ने, हिड्ने सबै विषयको पद्धति हुन्छ । त्यही पद्धति र सीमाभित्र सांसदहरुको आचरण व्यवहार र कार्यशैली निर्धारित हुन्छ । सांसदहरुको आचरण व्यवहार र प्रस्तुतीलाई संसदीय पद्धतिमा विशेष ध्यान दिने गरिन्छ । एउटा सांसदले बोलिरहेका बेला अर्कोले बीचमा उठेर बोल्न मिल्दैन । सांसद बोलिरहेका बेला बीचबाट बाटो काट्नु पनि संसदीय मर्यादा विपरीत हुन्छ । तर यी मर्यादाको ख्याल प्रमुख नेताहरुले नै गरेका छैनन्, अन्य सांसदको के कुरा गर्नु । यसो भन्नुको अर्थ सबै सांसद र नेता त्यस्ता छन् भन्न खोजेको भने होइन । संसद बैठक चलिरहँदा यस्ता उल्लंघनका घटना भएपछि सभामुखले पटक पटक ठाडो निर्देशन दिएको हामीले देखेका छौं ।
प्रधानमन्त्रीले जवाफ दिँदादिँदै बिचैमा रोक्ने, देशको प्रधानमन्त्रीलाई नै अपमानित गर्ने, जथाभावी भाषा र शब्द प्रयोग गर्ने, बोल्नै नदिने जस्ता मर्यादाहीन काम सदनमा भए, हुँदैछन् । एउटै व्यक्ति दुई घण्टासम्म बोले । त्यो बोलाइमा जनसरोकारका विषयमा कहिलै छलफल हुन्न, नीति निर्माणका कुरा सधैँ गौण र छायाँमा पर्छन्, कानुन नबनेर जताततै अव्यवस्था सिर्जना हुँदा त्यता ध्यान पुग्दैन । खाली आफ्नो दुनो सोझ्याउने र विपक्षीलाई सत्तो सराप गर्ने शिवाय केही हुन्न ।
व्यक्तिगत लाभ स्वार्थ, सुविधामा सदन अवरुद्ध गरिन्छ तर बाढी, पहिरो, सुकुम्बासी, गरिब, विपन्न वर्गका समस्यामा कहिल्यै सदन अवरुद्ध हुँदैन । निःशुल्क स्वास्थ्य, निःशुल्क शिक्षा, विकास–निर्माण आदिबारे अहिलेसम्म सदन अवरुद्ध भएको इतिहास छैन । दुर्गम, सुदूर क्षेत्रको विकास र त्यहाँका जनताका समस्याबारेमा, उनका दुःख–दर्द निराकरण गर्न सदन अवरुद्ध कहिल्यै गरिँदैन । यसरी संसदलाई सधैँ झगडियाको लज्जाहीन थलो बनाउने कुरा जनताको करबाट सांसदलाई दिएको सुविधाकै अपमान पनि हो । सदनमा राष्ट्रिय चिन्तनका, देशको समृद्धीकरण, नयाँ आर्थिक रूपान्तरण बारेका बहस हुँदैन । समग्र राष्ट्र, राष्ट्रिय योजना, समग्र देशको विकास, समग्र जनताका समस्या समाधानबारे कहिल्यै चर्चा हुँदैन । यसकारण झगडिया झगडा गरेर दिन बिताउने ठाउँ सदनलाई बनाउनु हुन्न । संसद्मा बोल्ने विषय र एजेन्डामा विशेष ध्यान दिने र तयारी गर्ने, सार्वजनिक महत्वका विषयहरूमा प्रष्ट दृष्टिकोण राख्ने, विधेयकहरूको गम्भीरतापूर्वक अध्ययन–मनन र गृहकार्य गर्ने, समितिका बैठकमा अध्ययनशील, लचिलो र बौद्धिक प्रस्तुति गर्ने, सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय अनुभव र अभ्यासको विचरण एवं विवेचना गर्ने, विवादका विषयहरूको निरूपण र समाधानका लागि आवश्यक सन्दर्भ–सामग्रीको खोज, संकलन र अध्ययन गर्ने अनि उत्कृष्ट नीति निर्माणकर्ताको छवि निर्माण गर्न लागिपर्ने काममा हरेक सांसदले ध्यान दिनैपर्छ । संसद केबल दोहोरो बहस, भनाभन, क्रियाप्रतिक्रिया, प्रश्न जवाफ, हानाहान, घोचपेच, व्यङ्ग्य अपमानका रूपमा होइन शालीन र शिष्ट विचार राख्ने थलोका रूपमा रहनु पर्छ । क्षुद्र शब्द र भाषा होइन, सभ्यभाषा हुनु पर्छ । २१ औँ शताब्दीका सांसद तथ्यहीन, तर्कहीन, अप्रामाणिक र कपोलकल्पित विवादमा ओर्लेर भ्रम सिर्जना गर्नु उचित हुँदैन ।