नेपालमा पछिल्ला वर्षहरूमा अनाहकमा ज्यान गुमाउने नेपालीहरूको संख्या निरन्तर बढ्दो छ। कुनै प्राकृतिक कारण नभई मानव निर्मित गतिविधिहरू हत्या, हिंसा, लुटपाट, मानव तस्करी, बलात्कार, दुर्घटना, विद्युत् करेन्ट, आगलागी जस्ता घटनाले दैनिक रूपमा दर्जनौं मानिसले अकालमै प्राण गुमाइरहेका छन्। यसले हाम्रो समाजमा विद्यमान सुरक्षा, कानुनी व्यवस्था, र जनचेतनाको स्तरलाई गम्भीर प्रश्नमा उभ्याएको छ ।
प्रशासन र सरकारले यी घटनाहरू रोकथाम गर्न पर्याप्त गम्भीरता देखाउन सकेको छैन भन्ने आलोचना सर्वसाधारणको मुखबाट निरन्तर सुनिन्छ । कानुनी कारबाही ढिलो हुने, दोषी सजिलै उन्मुक्ति पाउने, पीडित न्याय नपाउने परिपाटीले अपराधीको मनोबल बढाइदिएको छ । त्यही भएर हत्या, बलात्कार वा लुटपाटजस्ता घटनामा संलग्न हुने जोखिम धेरैका लागि सजायभन्दा अवसर बढी जस्तो देखिन थालेको छ । काममा हुने लापरवाहीले हरेक दिन कामदार मरिरहेका छन् । दक्षताको कमी वा लापरवाही नै यसको कारण बनेको छ ।
सामान्य विवादका कारण श्रीमानश्रीमतिबीचको झगडाले हत्या भएका थुप्रै घटना भईसकेका छन । यस्तै यस्तै विवादले साथीभाईबीचका हत्या पनि धेरै भईसकेका छन । समाजमा बलात्कार र दुइपक्षबीचको विवादले सामाजिक अपराध बढाईरहेको छ । त्यसैको शृंखलाका रुपमा आत्महत्या पनि थपिएको छ । हरेक दिन आत्महत्या गर्नेको संख्या पनि कमी छैन ।
यता, दुर्घटना वा विद्युत् करेन्ट, आगलागीजस्ता घटनाहरू पनि योजना, पूर्वतयारी र सचेतनाको अभावमा भइरहेका छन्। सुरक्षाको न्यूनतम मापदण्ड पालना नगर्ने प्रवृत्ति, प्राविधिक कमजोरी, र निगरानी अभावले यस्तो अवस्थालाई झन् गम्भीर बनाएको छ ।
यस समस्याको समाधानका लागि राज्यले सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउनु जरुरी छ । अपराध नियन्त्रणका लागि कडा कानुनी व्यवस्था, दोषीलाई छिटो कारबाही गर्ने न्याय प्रणाली, र नागरिकस्तरमा चेतना अभिवृद्धि अपरिहार्य छन् । साथै, दुर्घटना र आगलागी जस्ता घटनाबाट ज्यान जाने क्रम रोक्न पूर्वतयारी, प्राविधिक मापदण्डको कठोर पालना, र स्थानीय तहदेखि संघीय सरकारसम्मको साझा जिम्मेवारी सुनिश्चित गर्नुपर्छ ।
नागरिकको ज्यान जोगाउनु राज्यको पहिलो दायित्व हो । जबसम्म अनाहकमा ज्यान गुमाउने क्रम रोकिँदैन, तबसम्म विकास, सुशासन र समृद्धिको सपना केवल नारामा सीमित हुन्छ । आजैबाट सरकार र नागरिक समाजले मिलेर “मानव जीवनको मूल्य“ लाई केन्द्रमा राख्दै ठोस कदम चाल्नु अपरिहार्य छ । यस्ता अपराधिक घटनामा दोषि ठहरिएका व्यक्तिहरु राज्यको सत्ता र शक्तिको पहुँचको आधारमा न्याय पाउने र छिटै उन्मुक्ति दिलाउने अभ्यासबाट पीडितमा सिर्जित हतोत्साहित अर्को मृत्युको कारक नबनोस् । न्याय सबैका लागि बराबरी भन्ने न्यायको तराजुलाई सहि ढंगबाट प्रयोग गर्न र त्यसको परिणामबाट आम मानिसमा न्यायप्रतिको आस्था, भरोसा र विश्वास बढाउने काम गर्न पनि उत्तिकै आवश्यक देखिन्छ ।