अर्थ देश–समाज समाचार स्थानीय

वर्षाका कारण एसियन हाइवेको काममा ढिलासुस्ती

दमक/ वर्षाको समय अगाडी नै मौसममा आएको गडबडीले निर्माणाधिन अवस्थामा रहेको ‘एसियन हाइवे’को पूर्वी खण्ड निर्माण कार्यमा अवरोध भएको छ । वर्षायाम शुरुहुनु अगावै भएको वर्षाले निर्माण कार्यमा अवरोध भएको सडक निर्माणको जिम्मा लिएको दमकस्थित कार्यालयले जनाएको छ ।
सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’निर्माणले गति लिइरहेको बेला मौसममा आएको गडबडीले थप समस्या भएको आयोजनाका दमक कार्यालय प्रमुख सुनिलबाबु पन्तले बताए । निर्माण सम्झौता भएयता २० प्रतिशत काम सकिएको छ । एसियन राजमार्ग नम्बर २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ ।
पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ । काँकरभिट्टादेखि सीतापुरसम्मको ४५ किमी सडक दमकस्थित रहेको कार्यालयले र सीतापुरबाट इटहरी पश्चिम पचरूखीसम्मको सडक इटहरी कार्यालयले हेरिरहेको छ । यसै आर्थिक वर्षभित्र कम्तिमा २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको आयोजनाका दमक कार्यालय प्रमुख सुनिलबाबु पन्तले बताए ।
झापाको केर्खादेखि पश्चिम मोरङको गोठगाउँसम्मको ४० किलोमिटर सडक सिआरएफजी–टुन्डी जेभीले नौ अर्ब १३ करोडमा ठेक्का लिएको थियो । गोठगाउँदेखि इटहरीसम्मको १०.७६ किलोमिटर कोभेक–सिआरइजिसी–टुन्डी जेभीले चार अर्ब सात करोडमा निर्माणका लागि ठेक्का लिएको थियो । झापा खण्डमा पर्ने ठूला नदी रतुवा, बक्राह र लोहेन्द्र पुल निर्माणका लागि कोभेक–सिआरइजिसी–टुन्डी जेभीले पाँच अर्ब ६५ करोडमा ठेक्का लिएको काँकडभिट्टा–लौकही सडक योजना कार्यालयले जनाएको छ । यी सबै ठेक्का १९ अक्टोबर ०२३ मा लागेको हो । सबै ठेक्काको काम तीन वर्षभित्र सक्नुपर्ने भएपनि समयसीमाभित्र काम सकिने स्थिति देखिएको छैन । दमक बजार क्षेत्रभित्र भने रुख कटानको काम सकिएपनि निर्माण कार्य शुरु भएको छैन । बजार एरिया छाडेर अन्य क्षेत्रमा भने काम भइरहेको छ । नेपालबाट भारत हुँदै २७ किलोमिटरमै बङ्गलादेशसँग ‘एसियन हाइवे’ जोडिएकाले यसले अन्र्तराष्ट्रिय व्यापारको सम्भावना बोकेको छ । सडक सञ्चालनमा आएसँगै आयात तथा निर्यात सस्तो पर्नुका साथै ग्रामीण व्यवसाय अन्तर्राष्ट्रिय बजारसँग जोडिने छ ।
एसियन हाइवे थाइल्यान्डको बैंककबाट सुरू भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको
दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्ने आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताए । उनका अनुसार यसै आर्थिक वर्षभित्र कम्तिमा १० किलोमिटर सडकमा पहिलो चरणको कालोपत्र सक्ने लक्ष्य रहेकोले कामलाई तिव्रता दिइएको हो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एशियाली विकास बैंकको आर्थिक सहयोगमा गत माघ १९ गतेदेखि सडक निर्माण कार्य सुरूभएको उनले बताए ।
ठेक्का लागेको ९५ दशमलव ७६ किमी सडक क्षेत्रभित्र साना र ठूला गरी जम्मा ४८ वटा पुल, १० वटा ओभर पास बन्नेछन् । पूर्वी खण्डमा २१ वटा पुल निर्माण भइरहेका छन् भने एक सय ४० वटा बक्स कल्वर्टमध्ये ९२ वटा निर्माण भइरहेको आयोजनाको पूर्वी खण्ड प्रमुख पन्तले बताए ।
पश्चिम खण्डमा पर्ने ३ ठूला पुल रतुवा, बक्रहा र लोहन्द्राको फाउण्डेसनको काम सकिएको आयोजना पश्चिम खण्डका प्रमुख प्रजापतिले बताए । एक सय ६९ वटा बक्स कल्वर्ट मध्ये ४७ वटा निर्माण भइसकेको छ, उनका अनुसार माटो पुर्ने काम ५० प्रतिशत सकिएको छ । हालसम्म शहरी क्षेत्रभन्दा जङ्गल क्षेत्रमा भौतिक प्रगति धेरै भएको छ । झापाको चारआली, विर्तामोड, चारपाने, मोरङको बलिया र सुनसरीको इटहरी चोक पूर्व, इटहरी चोक र इटहरी चोक पश्चिममा ओभर पास बन्नेछन् ।
तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ । शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुनेछ । छ स्थानमा ‘सिग्नेचर’ पुल निर्माण हुनेछन् । यो आयोजना निर्माणमा ३० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको थियो । नेपालको कालिका र तुङ्गी कन्ट्रक्सनसँग चाइनिज कम्पनीले सडक निर्माण गरिरहेका छन् ।

Author

You may also like