देश–समाज राजनीति राष्ट्रिय समाचार स्थानीय

रास्वपा बागमती अधिवेशनमा नेतृत्व चयन प्रक्रिया अवरुद्ध, प्रतिनिधि घर फर्कन थाले

दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयन प्रक्रिया ढिलाइ हुँदा प्रतिनिधिहरू घर फर्कन थालेका छन्।
मंगलबारदेखि सुरु भएको अधिवेशन बुधबारसम्म पनि मतदान प्रक्रिया सुरु हुन नसकेपछि ७० प्रतिशतभन्दा बढी प्रतिनिधि फर्किसकेको अधिवेशनमा सहभागी एक प्रतिनिधिले बताएका छन्। अधिवेशनको कार्यतालिका अनुसार नेतृत्व चयनको प्रक्रिया मंगलबार नै सम्पन्न गर्ने लक्ष्य थियो।
सभापति पदका लागि अच्युत्तम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर क्षेत्रीले उम्मेदवारी दिएका छन्। तर निर्वाचन समितिले समयमै मतदान प्रक्रिया अघि बढाउन नसक्दा अधिवेशन प्रभावित भएको प्रतिनिधिहरूको गुनासो छ।
अधिवेशनमा सहभागी एक प्रतिनिधिका अनुसार निर्वाचन समितिको ढिलासुस्तीका कारण मतदान हुन नसकेको हो। उनका अनुसार मंगलबार मतदान नहुँदा अधिकांश प्रतिनिधि घर फर्किएका छन्।
यता संगठन विभागका सचिव शंकर श्रेष्ठले धेरै उम्मेदवारका लागि मतपत्र छपाउन समय लागेकाले मतदान प्रक्रिया ढिलो भएको बताएका छन्। उनका अनुसार नेतृत्व चयन निर्वाचनमार्फत नै हुनेछ र मतदानको समयबारे छलफल भइरहेको छ।
उनले मतदान बुधबार सम्भव नभए अर्को दिन भए पनि निर्वाचन प्रक्रिया पूरा गरी नयाँ नेतृत्व चयन गरिने जानकारी दिए।
रास्वपाको बागमती प्रदेश अधिवेशनमा १,३०० भन्दा बढी प्रतिनिधि सहभागी छन्। यो रास्वपाले प्रदेश तहमा आयोजना गरेको पहिलो अधिवेशन हो।

Author

You may also like