दमक/ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित तुल्याउने आँकलन गरिएको भए पनि अहिलेसम्म झापा दमक क्षेत्रका विद्यालयलाई खासै असर नगरेको प्राधानाध्यापकहरुले बताएका छन् ।
सरकारले यही वैशाख २ देखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक झण्डै १ महिना लामो आन्दोलनले नयाँ भर्ना प्रभावित बनेको आँकलन गरिएको थियो ।
सरकार र आन्दोलनरत शिक्षकबीच वैशाख १८ मा समझदारी भएपछि शिक्षकहरु विद्यालय फर्केका थिए । करिब आधा भर्ना अभियानको समय सकिँदा विद्यालय सुनसान थिए भने निजी विद्यालयमा विद्यार्थी भर्नाको रौनकता छाएको छ । यस्तो अवस्थामा सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित भएको भन्ने आम जनमानसको अपेक्षालाई दमकले प्रभावित तुल्याएको ति प्रधानाध्यापकहरु बताउँछन् ।
दमक–५ मा रहेको दीपिनी आधारभुत विद्यालयमा गतवर्षकै हाराहारीमा विद्यार्थी रहेको बताए पनि तथ्याङ्कले भने घटेको देखाएको छ । गतवर्ष ३७५ विद्यार्थी रहेको सो विद्यालयमा यो वर्ष २५४ जनामात्र पुगेका छन् । जसमा ५० जना नयाँ विद्यार्थी थपिएको प्राधानाध्यापक शेष कुमार निरौलाले बताए । सो विद्यालयमा रिपोटिङका लागि पुग्दै गर्दा भर्ना अभियानका लागि विद्यार्थीसहित केही अभिभावकहरु पनि भेटिनु भएको थियो । उनीहरुले पनि गतसालकै जस्तो देखिएको प्रतिक्रिया दिए । त्यसो त विद्यालयका प्रधानाध्यापक निरौला अझै सय जना विद्यार्थी बढ्न सक्ने अपेक्षा लिईरहेको बताउँछन । उनले गरेको अपेक्षा पुरा भयो भने गतवर्षको हाराहारीमा विद्यार्थी पुग्ने देखिन्छ । उनले सरकारले पूर्ण निःशुल्क भर्ना गर्नु भन्ने निर्देशन दिएपछि कसैबाट रकम नलिएको हुँदा विद्यालयको प्रशासनिक खर्च, मर्मतसभ्भार, पानीविजुली, कम्युटर मर्मतलगायतको खर्च बढी हुने हुँदा अलि गाह्रो हुने तर यसमा नगरपालिकाले हेर्ने अपेक्षा लिएको समेत बताए । विद्यालयलाई आवश्यक पुस्तकसहित अध्यापनका सामग्री सबै भईसकेको र केही सामाजिक संस्थाहरुले पनि आएर वितरण गरिरहेको उनले सुनाए । घरदैलो गर्ने समय आन्दोलनले गर्दा नमिलेपनि विद्यार्थीको आकर्षण रहेको प्रतिक्रिया उनको थियो ।
यसैगरी, दमक–४ मा सञ्चालित विद्योलय आधारभुत विद्यालयकी प्राधानाध्यापिका जयन्ती पौडेलले केही विद्यार्थी गाउँबाट नफर्किएको केही नयाँ थपिएको हुँदा विगतकै हाराहारीमा विद्यार्थी भर्ना भएको सुनाईन । अहिलेसम्म २६ जना नयाँ विद्यार्थी आएका र त्यसको आधा जति पुराना विद्यार्थी नआएको उनले सुनाईन । पौडेलका अनुसार साना कक्षामा विगतको जस्तो नदेखिए पनि ठूला कक्षाले त्यसलाई समेटेको सुनाईन । उनले पनि घरदैलो कार्यक्रम गर्न नभ्याएको बताईन । खर्चका हिसाबले विद्यालय सञ्चालनमा नगरपालिकाले दिएको रकम पुगिरहेको उनले सुनाईन ।
यस्तै दमक–५ कै अर्को विद्यालय जनज्योति आमाविले भने आन्दोलनमा उपस्थिति पनि देखाउने र एक टोली भित्रभित्र खटाएर भर्ना अभियानको काम पनि गरेको हुँदा आन्दोलनको समयमा परेको भर्ना अभियान प्रभावित नभएको विद्यालयका प्रधानाध्यापक धर्मसुन्दर भट्टराई बताउँछन । उनले सय जनाको हाराहारीमा नयाँ विद्यार्थी थपिएको र सरकारको तथ्याङ्कमा देखाउन ७ गतेसम्म डाटा पाठउनुपर्ने प्रावधान भएपनि भर्ना बाह्रै महिना चलिरहने उनले सुनाए । तर ७ गतेपछाडिको भर्ना भएका विद्यार्थीको तथ्याङ्क सरकारी टाटामा नदेखिए पनि त्यसलाई व्यवस्थापन गरिने उनले सुनाए ।
दमक–३ मा सञ्चालित चुलाचुली माध्यमिक विद्यालयमा पनि गतवर्षकै हाराहारीमा विद्यार्थी पुगेको प्रधानाध्यापक खुरहरी आचार्य बताउँछन् । यस्तै दमक ९ मा सञ्चालित महालक्ष्मी आधारभुत विद्यालयमा पनि विद्यार्थीको चाप खासै कम नभएको प्रधानाध्यापक प्रेम बहादुर खड्का बताउँछन् । उनले भने पुराना विद्यार्थी ९ जना नआएका भए पनि नयाँ विद्यार्थी थपिएर गतवर्षकै हाराहारीमा विद्यार्थी भएको उनले सुनाए । विद्यार्थीको आम्दानीको अर्को कुनै स्रोत नभए पनि नगरपालिकाले दिने गरेको रकमले पुग्दै आएको पनि प्रधानाध्यापक खड्काले बताए ।
शिक्षा युवा तथा खेलकुद शाखा दमकका प्रमुख प्रविण खड्काले पनि यो वर्षको भर्ना अभियान गतवर्षको तुलनामा निकै प्रभावित हुने आँकलन गरिएपनि खासै प्रभावित नभएको बताए । विद्यालयको अवस्था बुझ्दा गतवर्षकै हाराहारीमा विद्यार्थीहरु भर्ना भएको विद्यालयले जानकारी गराएको पनि उनले सुनाए ।