मुख्य

गाउँ–गाउँमा दलहरुको चुनावी अभियान

दमक/ आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदैछ । यसका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्नेदेखि लिएर स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कस्तो गर्ने भनेर आवश्यक तयारी समेत गरिरहेका छन् । देश चुनावी माहौलमा होमिँदै गएको छ भने त्यसका लागि प्रायःजसो राजनीतिक दलहरु गाउँबस्ती सम्म पुग्न थालेका छन् । शीर्षदेखि केन्द्रीय हुँदै जिल्ला र स्थानीय तहका नेता तथा कार्यकर्ताहरुको समेत सक्रियता बढेको छ । यही मेलोमेसोमा राजनीतिक दलहरु अब चुनावउन्मुख भएका छन् ।
टोल टोलमा समिति
सत्ता गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवाद र जनता समाजवादी पार्टी (जसपा) मात्र होइन, साढे तीन वर्ष शासन सत्तामा बसेर हाल प्रमुख प्रतिपक्ष बनेको नेकपा एमाले समेत यतिबेला गाउँबस्तीका टोल टोलमा पुगिरहेको छ । उनीहरु टोल टोलमा समिति गठन गर्ने, पार्टीका संगठित र साधारण सदस्यहरुलाई परिचालन गर्ने, राजनीतिक प्रशिक्षण दिने र मत आफ्नो पक्षमा पार्न जनताका बीचमा कसरी जाने भनेर रणनीति अख्तियार गरिरहेका छन् । दिनमा मात्र होइन, रातीको समयमा पनि कोठे बैठक, गाउँ भेला, टोल भेला, छलफल र अन्तरक्रियाहरु गरिरहेका छन् । यसबाट अब चुनाव आएछ भन्ने महशुस सर्वसाधारण मतदाताहरुले पनि गर्न थालेको पाइन्छ । त्यसक्रममा टोल टोलमा समिति गठन गर्ने र कार्यकर्तालाई क्रियाशिल बनाउने काम भइरहेको छ । त्यस्तै पार्टीका भ्रातृ तथा शुभेच्छकु संघ संस्थाहरुलाई परिचालन गर्ने र ति संस्थाहरुको पनि गठन पुनर्गठन गर्ने काम भइरहेको छ । चुनावी तयारीका लागि यो स्वाभाविक पनि हो ।
शीर्ष नेताहरुको दौडाहा
शनिबार मात्र नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले इलामको फिक्कलमा भएको वृहत आमसभालाई सम्बोधन गरे । उनले केही अघिदेखिनै अबको स्थानीय चुनावमा एमाले एक्लै चुनावी मैदानमा उत्रिन र अन्य दलहरुसंग प्रतिष्पर्धा गर्न सक्षम रहेको बताउँदै आएका छन्  । अध्यक्ष ओलीले चुनावमा सहकार्य गर्न आउँछौ भन्नेहरु संग सहकार्य पनि हुन सक्ने प्रष्ट पार्दै आएको जगजाहेरै छ । तर गठबन्धनका दलहरु अहिले एमालेलाई हराउन सक्छौं भनेर तालमेलको प्रयास गरिरहे पनि त्यसो भएमा पनि आफ्नो पार्टीलाई कुनै फरक नपर्ने उद्घोष गरिरहेका छन् । सूर्योदय नगरपालिका इलामको क्षेत्र नम्वर १ मा पर्ने र त्यो क्षेत्र नेकपा एमालेका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको क्षेत्रमा पर्दछ । खनाल भने अहिले नेकपा एसको वरिष्ठ नेताका रुमपा रहेका छन् ।
ओली मात्र होइन, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एसका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव तथा जसपाकै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई विभिन्न जिल्लामा हुने आमसभाहरुमा गएर चुनावी माहौल आफ्नो पक्षमा पार्ने कार्य गरिरहेका छन् । हुन त अहिले दलहरुले स्थानीय तहका पदाधिकारी तथा वडाध्यक्ष र वडा सदस्यहरुको उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन् । त्यसका लागि पालिका स्तरबाटै नाम सिफारिस गर्ने तयारी भइरहेको छ, किनकि आगामी वैशाखको ११ र १२ गते देशभरका निर्वाचन कार्यालयहरुमा उम्मेदवारहरु मनोनयन गर्ने कार्यक्रम रहेको छ । यसका लागि पनि वातावरण बनाउन र जनताले अधिकभन्दा अधिक विश्वास गरेका उम्मेदवारहरु उठाउन निर्देशन र सुझाव दिइरहेका छन् ।
गठबन्धनको प्रभाव
हाल देशमा चार दलीय गठबन्धनको सरकार छ । उनीहरु आगामी चुनावमा पनि समन्वय र सहकार्य गरेर जाने भन्ने मनस्थितिमा रहेपनि त्यसलाई मूर्त रुप दिन भने बाँकी छ । काँग्रेसले यही चैत्रको तेश्रो साता चुनावी तालमेलका बारेमा केन्द्रीय कार्यसमितिबाट अन्तिम निर्णय गर्ने जानकारी गराइरहेको छ । तर माओवादी केन्द्रका अध्यक्ष दाहाल भने काँग्रेस संगको गठबन्धन भत्काए काँग्रेस र माओवादी केन्द्र दुवैलाई असर पर्ने बताइरहेका छन् । चुनावमा पनि सहकार्य गर्नु सत्तारुढ गठबन्धनका दलहरुको हितमा हुने अध्यक्ष दाहाल र एसका अध्यक्ष माधव कुमार नेपालको निष्कर्ष छ । हुन त काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि गठबन्धनबीच सहकार्य र तालमेल गरेरै अघि बढ्ने बताइरहेका छन् । यसबाट आगामी चुनाव गठबन्धनका दल र एमालेबिच प्रतिष्पर्धा हुनसक्ने अहिलेसम्मको अवस्थाबाट अनुमान गर्न सकिन्छ । तर यो सबै कुरा नेपाली काँग्रेसको निर्णयमै भर पर्ने भने पक्का छ ।

Author

You may also like