पथरी, १९ मंसिर
परोपकारी संस्था सेजल एण्ड सिस्टरले सोमबार पथरी शनिश्चरे शिविरका भूटानी शरणार्थीलाई न्यानो कम्बल वितरण गरेको छ ।
शिविरमा वस्ती व्यवस्थापन समिति (एसएमसी) को रोहबरमा सेजल एण्ड सिस्टरका सीईओ मेघराज सुवेदीसहितको टोलीले शिविरका सबै ५ सय घरपरिवारलाई कम्बल वितरण गरेको हो । भूटानी शरणार्थीका रुपमा तेस्रो मुलुक पुनर्वास भएका सुवेदीले स्थापना गरेको संस्थामार्फत झापाको बेलडाँगी र मोरङको पथरी शनिश्चरेका शरणार्थीलाई कम्बल वितरण भएको छ ।
अमेरिकाबाट झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविर आइपुगेका सेजल एण्ड सिस्टर अमेरिकाका तर्फबाट बिहीबार शिविरका मानिसहरुलाई न्यानो कम्बल वितरण गरेका थिए ।
एसएमसीको रोहबरमा सेजल एण्ड सिस्टरका सीईओ मेघराज सुवेदीसहितको टोलीले १५ सय घरपरिवारलाई जाडोबाट बच्न न्यायो कम्बल बितरण गरेको थियो । अमेरिकाको पेन्सिल्वेनियाको पिट्सबर्क बस्दै आएका सुवेदीका अनुसार ३० लाख बढीको लागतमा खरिद गरेर कम्बल वितरण गरेको हो । हाल ११ वर्ष भएकी छोरी सेजलले बिगत ६ वर्षदेखि जम्मा गरेको खुत्रुके बचतको समेत रकमबाट सहयोगको बजेट तयार गरिएको सुवेदीले जनाएका छन् । सेजल एण्ड सिस्टरको संस्थापक भने आफ्नी श्रीमती मोन सुवेदी रहेको उनले जानकारी दिए ।