दमक/ कारितास इन्टरनेसनलको आर्थिक सहयोगमा कारितास नेपालले दमक नगरपालिका मातहतको दमक अस्पताललाई ब्लड एनलाईजर मेसिन हस्तान्तरण गरेको छ । दमक अस्पताल परिसरमा शुक्रबार एक कार्यक्रम गरी दमक अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष तथा उपमेयर गिता अधिकारी र अस्पतालका मेसु डा. खड्ग लिम्बूलाई सो मेसिन हस्तान्तरण गरिएको हो । कोभिड तथा अन्य बिरामीलाई रगतमा सोडियम, पोटासियम, क्याल्सियम लगायत अन्यकुराहरूको अवस्था पत्ता लगाउन सहयोगी हुने मेसिन तथा त्यसमा लाग्ने केमिकल र अक्सिमिटर, थर्मोमिटर, सेनिटाईजर मास्क लगायतको कोरोना कीट २० थान पनि हस्तान्तरण गरिएको छ । सहयोग समाग्री हस्तान्तरणमा बोल्दै कारितास नेपाल दमकका कार्यालय प्रमुख देवेन्द्र पोख्रेलले कारितासले विपद् तथा महामारीमा विभिन्न सहयोग गरिरहेको र हाल कोरोनाको महामारीमा नेपालभरिनै विभिन्न जिल्लाहरूमा विभिन्न स्वास्थ्य सामाग्री तथा खाद्यान्न सहयोग गरिरहेकोमा सोही अभियान अन्तर्गतनै ब्लड एनलाईजर मेसिन र कोरोना कीट दमक अस्पताललाई उपलब्ध गराइएको बताए । कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले प्राप्त मेसिनले अस्पतालको सेवा प्रवाहमा थप मद्धत पुग्ने तथा दमक र आसपासका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नमा सहज हुने भन्दै धन्यवाद दिए । कार्यकममा दमक जेसिजका अध्यक्ष जेसि सुयोग खरेल, लायन्स क्लव अफ माउन्ट एभरेस्ट दमकका निवर्तमान अध्यक्ष दिनेश अग्रवाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कारितास नेपालका गोविन्दराज कट्टेलले संचालन गरेका थिए ।