
दमक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजधानीमा आयोजना गरेको एक कार्यक्रमले कमल थापा र राजेन्द्र लिङदेनलाई नजिक बनाएको छ ।
सोमबार काठमाडौँको शान्तिबाटिकामा राप्रपा, नेपालले आयोजना गरेको सभा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई देखेपछि कार्यकर्तामा उत्साह थपेको थियो । २०७८ मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनमा अप्रत्यासित रुपमा पराजित भएपछि राप्रपा नेपाल ब्यूँताएका कमल थापाको राजनीतिक कार्यक्रममा सम्भवतः पहिलो पटक राजेन्द्र लिङ्देन सहभागी भएका हुन । यि दुई नेता छुट्टिएको साढे तीन वर्षपछि कमल थापा र राजेन्द्र लिङ्देन नजिकिए पछि राजावादीको पंक्ति उत्साहित देखिएको छ ।
सडकमै राखिएको कुर्सीमा एकसाथ यी दुई नेता बसेपछि राजा र हिन्दुवादी खुसी भए । कमल थापा सँगैको कुर्सीमा बस्न पुग्दा लिङ्देनले दाजु भनेर सम्बोधन गरेका थिए । लिङ्देनको उपस्थितिले थापा पनि हँसिलो मुद्रामा देखिए । २०७८ मंसिरको महाधिवेशनपछि लामो समय बोलचाल नै बन्द भएका यी दुई नेताबीच पहिलो पटक यो तहको सौहार्दता देखिएको हो ।

खासगरी गत वर्ष फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किँदा स्वागतमा नाममा जुटेका राजावादीको संख्या देखेर यी दुई नेता उत्साहित छन् । हजारौँ सहभागी भएपछि दुई नेताले एक हुँदाको शक्ति बुझे पनि अझै एकतातिर अघि बढ्न सकेका छैनन् ।
खासगरी चैत १५ गते दुर्गा प्रसाईं र नवराज सुवेदीको शक्ति प्रदर्शन हिंसात्मक बनेपछि यी नेता झस्किएका छन् । राजावादी आन्दोलनलाई प्रसाईंको हातमा सुम्पेको भन्दै लिङ्देनले त निर्मल निवासमा पुगेर पूर्वराजासँग असन्तुष्टि पनि जाहेर गरिसकेका छन् । यद्यपि पूर्वराजाले प्रसाईंलाई आफूले जनकमान्डर नबनाएको जवाफ दिएका थिए । राप्रपाले बल्खुमा गत २६ चैतमा गरेको कार्यक्रममा पनि राजावादी यसरी जुटेका थिएनन् । तर राप्रपा नेपालको मञ्चमा पुगेर राजावादीले एकताको सन्देश दिएका छन् । थापा र लिङ्देनबीचको यो सौहार्दताले अब उनीहरूमाथि कार्यकर्ता पंक्तिबाट एकताको दबाब बढ्न सक्नेछ । चैत १५ को तीनकुने प्रदर्शनबाट धक्का व्यहोरेको राजावादी आन्दोलनलाई उठाउन यी दुई नेतालाई एक ठाउँमा ल्याउने कोसिस पनि भइरहेको छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले सबै देशभक्त र राष्ट्रवादी समूहलाई एकजुट हुन आह्वान गरेका छन् । उनले देशको समस्याबाट मुक्ति पाउनका लागि पूर्वाग्रह त्यागेर एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए । उनले– ‘सबै देशभक्त शक्तिहरूलाई सबै प्रकारका आग्रह र पूर्वाग्रह त्यागेर देशलाई निकास दिन अघि बढ्नुपर्ने छ । यस कार्यका लागि राप्रपा सधैँ तयार रहेको बताए ।’
लिङ्देनले राप्रपामा एकजुट हुनका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै थप भने, ‘हामी सबैसँग मिलेर काम गर्न तयार छौँ । यसमा कुनै द्विविधा छैन । अहिले सिङ्गो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ ।’
लिङ्देनले अहिले देश सबैभन्दा अप्ठेरो परिस्थितिबाट गुज्रिरहेको बताए । उनले देहलाई भ्रष्टाचार र कुशासनले आक्रान्त बनाएको र भावी सन्ततिको भविष्य समेत संकटमा परेको बताए । उनले प्रजातन्त्र र लोकतन्त्रको नाममा देशमा लुटतन्त्र र निरंकुशता बढ्दै गएको दाबी गरे। ‘यसको अन्त्यका लागि हामी बाहेक अर्को कुनै विकल्प र शक्ति छैन,’ लिङ्देनले भने ।
कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष थापाले पहिलो पटक राजेद्र लिङ्देनको नेतृत्वको स्वीकारेका छन् । थापाले शान्ति बाटिकामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधनका क्रममा लिङ्देनको नेतृत्वलाई स्वीकारेका हुन् । उनले आफूहरू अलग अलग पार्टीमा रहे पनि एजेन्डामा एकै ठाउँ रहेको टिप्पणीसमेत गरेका छन् ।
थापाले मञ्चमा सँगै उभिएका लिङ्देनको हात समातेर उनलाई नेता मान्न तयार भएका हुन् । त्यसपछि थापा र लिङ्देनसँगै केशरबहादुर विष्ट र राजावादी आन्दोलनका संयोजक नवराज सुवेदी पनि हात समात्न आइपुगे ।
‘हामी एक ठाउँमा छौँ, एक भएर रहन्छौँ । एउटा कुरा प्रष्ट छ, राप्रपा देशको अहिलेको सबैभन्दा ठूलो र बलियो राष्ट्रवादी शक्ति हो’, उनले भने, ‘राप्रपाले नै सबैलाएै समेट्ने गरी अघि बढ्नुपर्छ ।
यो पहलकदमी लिनका लागि राजेन्द्र लिङ्देनलाई आग्रह गर्छु । लिङ्देनले पहलकदमी लिएर सबै राष्ट्रवादी÷राजावादी शक्तिहरूलाई एकै ठाउँमा ल्याउनुपर्छ ।’
यसैगरी सो कार्यक्रममा राजतन्त्र र हिन्दु राष्ट्र फर्काउने उद्देश्यले गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक महिनाअघि काठमाडौंको तीनकुनेमा भएको घटनालाई सरकारको तानशाही कदम भएको बताएका छन् । उनले तीनकुनेमा सरकारले निर्दयी, क्रूर, तानशाही कदम चालेको बताए । सुवेदीले राजावादी टुटफुट नभएको दाबी पनि गरे । राजवादी र हिन्दुवादी सबै एक भएको उनले जनाए ।