देश–समाज सम्पादकीय

अस्तव्यस्त तार व्यवस्थापन गरौं

दमक क्षेत्र लगायत देशभरका सहरहरुलाई कुरुप बनाएको अव्यवस्थित तारहरुको व्यवस्थापन गर्न जरुरी देखिएको छ । एकातिर सौन्दर्यकरणका हिसाबले यसले सहरको गरिमालाई गिज्याईरहेको छ भने अर्कोतिर मानवीय क्षतिको कारक बन्दै गएको छ ।
गत सोमबार पाथीभरा दर्शन गर्ने यात्रु बाकेर जाँदै गरेको जीपमा पोलबाट लत्रिएको तारले करेन्ट लाग्दा जलेर चार जनाको ज्यान गयो । झापा भद्रपुरका विनोद पौडेल, सरिता पौडेल र उनीहरुकी नातिनी ललितपुर निवासी आध्या आचार्य र जीप चालक ताप्लेजुङ फुङलिङ निवासी दुर्गा भट्टराईको छिनभरमै लापरवाहीबाट ज्यान गयो । यता, मोरङको विराटचोकमा इन्टरनेटको तार विस्तार गर्ने क्रममा करेन्ट लागेर बुधबार चुलाचुली गाउँपालिका ३ का २८ वर्षिया राजन लावतीको मृत्यु भयो । विराटचोकमा बिजुलीको पोलमा चढेर इन्टरनेटको तार विस्तार गर्ने क्रममा करेन्ट लागेपछि उपचारका क्रममा मृत्यु भएको छ । यी प्रतिनिधिमूलक घटना मात्र हुन यस्ता घटना दर्जनौं घटिसकेका छन ।
अव्यवस्थित तारको कारणले मानवीय क्षति मात्र नभएर भौतिक क्षति समेत उत्तिकै भएका छन् । कतिपय ठाउँमा पोलमा एक अर्कामा तारको तारतम्य नमिल्दा पोलमै आगलागीका घटनाहरु धेरै ठाउँमा भएका छन् । केही समयअघि उर्लाबारी–६ मा विद्युतको पोलमै आगलागी भयो। नगर, गल्ली सबैतिर विद्युतका अव्यवस्थित तारका कारण कहिले ठूलो दुर्घटना हुने हो भन्ने चिन्तामा स्थानीय बासिन्दा रहने गरेका छन् ।
हामी विकास गर्छौ तर मानविय जोखिमका विषयलाई व्यवस्थापनमा ध्यान दिँदैनौं यो नै विडम्बना हो । अनेकथरीको काम गर्न भुइँ पटक पटक खोतल्छौं तर ति मानविय जोखिममा रहेका सहरलाई कुरुप बनाइरहेका तारको व्यवस्थापनमा चाहि लापरवाही भनौ वा ध्यान पु¥याउँदैनौं। विद्युत प्राधिकरणले विद्युत प्रवाहकालागि गाडेको पोलमा इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सहितका तारमाथि तार जोड्ने दिने सरकारी नीति नै गलत देखिन्छ। सबैलाई अण्डरग्राउण्ड प्रणालीमा लानुपर्नेमा ध्यान कसैको त्यति गईरहेको देखिँदैन।
कुन तार के को हो भनेर छुट्याउन कठिन। अनि पोलमा थपिएको भारले पोल लड्ला, किच्ला। अर्कातर्फ विजुली प्रवाह भइरहेको पोल लड्यो भनें त्यसबाट उत्पन्न हुने निकै खतरापूर्ण अवस्थाको जोखिममा छन सहरहरु। दमकको पेराफेरीमा गतवर्ष यस जोखिमपूर्ण अवस्थापनका लागि नेपाल विद्युत प्राधिकरण दमकले आफ्नो स्वामित्वमा रहेका दमक बजार क्षेत्रका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्नटरनेट, टेलिफोनका तार हटाउने काम गरेपनि त्यसले पुर्णता पाउन सकिरहेको छैन। थालनी गरेपछि टुंग्याउने गरी गरिएको वा परिणाम दिन सकेको भए उत्तम हुने थियो।
साना पोल हटाएर ठूला पोल गाड्ने कार्य निरन्तरता अहिले पनि छँदैछ । साना पोलमा भएका तारहरुलाई ती ठूलो पोलहरुमा व्यवस्थापन गरिएको प्राधिकरणको भनाई छ । प्राधिकरणको तारमा अन्य विभिन्न किसिमका तारहरु लगाउन नदिइने नीति हुनुपर्ने ? जोजसले जे तार लगाए पनि ति सबै अण्डरग्राउण्ड हुनुपर्नेमा त्यस्तो गरिएको छैन । भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र सहरी सुन्दरतासमेत कायम राख्न दूरसञ्चार, केबल टीभी र इन्टरनेट सेवा प्रदायकलाई आफ्नो संरचना निर्माण÷व्यवस्थापन गर्न समयसीमा सहित विद्युत प्राधिकरणले सार्वजनिक रुपमा आग्रह गरेको भए पनि कार्यान्वयन जसरी हुनपर्ने हो त्यसरी हुन सकिरहेको देखिँदैन ।
विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभावी झुण्डयाइएका उपकरणका कारण सहरलाई कुरुप बनाएको अवस्था अब सहरबजारमा रहनुहुन्न, पोलमा जथाभावी राखिएका अव्यवस्थित तारबाट कुनै क्षति हुने हो कि भन्ने आशंकामा र त्रासमा स्थानीयबासी बस्नु हुन्न । कोही यात्रा गरिरहँदा अव्यवस्थित तारको कारणले ज्यान जाने हो कि भन्ने डर र त्रासमा हिंड्नु हुन्न भन्नेमा सम्बन्धित सरोकारवाला, स्थानीय सरकार सजग र सर्तक रहन आवश्यक छ । साथै सबै सरोकारवाला नियकासँगको समन्वय र सहकार्यमा यो कामले अब गति लिनु पर्दछ ।

Author

You may also like