उर्लाबारी, २१ कार्तिक
उर्लाबारी २ र ३ हुँदै बग्ने तेली खोलामा तटबन्धनको कार्य सुरु भएको छ ।
सोमबार एक कार्यक्रमकाबीच उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल र उपप्रमुख मीना खतिवडा पौडेलले तटबन्धनको शिलान्यास गरेका छन् ।
२ नम्बरको सुनझोडा तिनघरेदेखि ३ को बक्राहा खोलासम्म ७ दशमलव २ किलोमिटर मध्ये पहिलो चरणमा साढे तीन किलोमिटर क्षेत्रमा तटबन्धन गरिने भएको हो ।
खोलाका दायाँ वायाँ दुवैतर्फ माटोको ड्याम, ग्याविङ बक्स र रिटर्निङ वाल निर्माणका लागि २ करोड ३२ लाख ७१ हजार रुपैयाँमा पूणर् विनायक रामेछाप जेभीले ठेक्का लिएको छ । एनआरएन जापानको सहयोगमा तटबन्धन कार्य अघि बढाइएको हो । यो ठेक्का अनुरुपको कार्य तीन महिनाभित्र सम्पन्न हुने जनाइएको छ ।
उर्लाबारी -२ का वडाध्यक्ष राजन कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्ष कँडेल, ठेकेदार लीला बस्नेतलगायतले मन्तव्य राखेका थिए ।