नेपाल पनि वैश्विक भूगोलको एउटा अभिन्न अंग भएकोले विश्व वातावरणसंग जोडिएको मुद्दा र सवालमा नेपालको भूमिकाले पनि वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । अहिले सम्पूर्ण विश्वका मानव जातिले पृथ्वीलाई ठूलो हानि पुर्याई रहेका छन्, जुन कारणले पृथ्वी भित्रै भित्रै रिसाई रहेकी छिन् र पृथ्वीको रिस र कोपबाट अनेकौँ किसिमका नयाँ नयाँ प्रकोपहरू उत्पन्न हुन थालिसकेको छ ।
जलवायु परिवर्तनका बहुआयामिक प्रकोपको असरले संसारै भरिका मानिसहरुलाई सताउन थालिसकेको छ, जसलाई क्लाइमेट चेन्जको समस्याको रुपमा बुझ्न थालिएको छ । अहिले क्लाइमेट चेन्ज अर्थात् जलवायु परिवर्तन विश्वभरि नै विशेष चिन्ता र चासोको विषय बनेको छ र यो एउटा बहसको मुद्दा पनि बन्न थालेको छ ।
जलवायु परिवर्तनलाई हामीले साविकको हावापानी ऋतु र मौसम सबैलाई परिवर्तन गर्ने प्राकृतिक शक्तिको रुपमा बुझ्नु पर्दछ । जलवायु परिवर्तन एउटा यस्तो प्रकोप हो जुन मानिसहरू स्वार्थी भइदिँदा पृथ्वी संकटमा परेर पृथ्वीकै रिसाहा व्यवहारबाट अनेकौं प्रकोपहरु उत्पन्न भएर मानव जाति लगायत सम्पूर्ण जीवनचक्रलाई ठूलो संकटको सामना गर्नु परिरहेको छ ।
जलवायु परिवर्तनका कारणले सामुद्रिक आँधी, चक्रवात टोर्नाडो, अति वर्षा, अति सुक्खा वा खडेरी, हिउँ पग्लिएर पहाडहरु कालो देखिने, हिमतालहरु फुट्ने, नदीहरुमा अत्याधिक बाढी आउने जस्ता प्राकृतिक संकट र अनिष्टकारी घटनाहरू हाम्रो आँखा अगाडि नै घट्ने गर्दछन् । विश्व परिवेशमा जलवायु परिवर्तनको संकट प्रत्यक्ष रुपमा देखा पर्न थालिसकेको छ ।
नेपालको हिमाली क्षेत्रमा २०७१ सालतिर उड्हुड नाम गरेको सामुद्रिक आधीले अन्नपूर्ण क्षेत्रमा ठूलो विपत्ति निम्त्याएको थियो, बारा र पर्सा जिल्लामा टोर्नाडो चक्रवातबाट उठेको हावाहुरीले ठूलो क्षति पुर्याएको थियो । नेपालमा परेको वर्षातको अविरल झरीले नेपालका ठूला साना गरी जम्मा ६ हजार जति नदीहरुमा जम्मा भएको पानी भारततिर बाढी बगेर जाँदा भारतको बिहार, उत्तर प्रदेश, उत्तराखण्ड लगायतका राज्यहरुमा ठूलो धनजनको अपूरणीय क्षति पुर्याउने गरेको घटना अहिले हामीलाई सामान्य जस्तो लाग्न थालेको छ । तर यस्तो संकट निरन्तर रुपमा आइरहँदा मानव सभ्यताको विनाश पनि हुन सक्छ र यो संसार नै संकटमा पर्न सक्छ भन्ने कुरामा हामीले चासो राख्नु जरुरी छ । विश्वका वातावरणीय अवस्थालाई नियालिरहेका जलवायु वैज्ञानिकहरुले जलवायु परिवर्तनका सम्बन्धमा अहिलेसम्म धेरै कुराहरू पत्ता लगाइसकेका छन् ।
अहिले हाम्रो यो धर्ती उन्नाइसौँ शताब्दीको वर्षहरूभन्दा एक्काइसौँ शताब्दीमा औसत रूपमा एक डिग्री सेल्सियसभन्दा बढी तातिन थालिसकेको छ । धर्ती तातिँदा हिमालमा रहेको हिउँ पग्लिने र सेता देखिने हिमाल कालो पहाड मात्र देखिने र हिमतालहरू निरन्तर फुट्दै जाने खतराहरू बढ्दै गइरहेको छ । वातावरण वैज्ञानिकहरुले वर्तमान शताब्दीको अन्त्य हुँदासम्म यस पृथ्वीको तापक्रम १ डिग्री सेल्सियस बाट बढेर ४ डिग्रीभन्दा बढी हुन सक्ने सम्भावना हरूलाई औल्याउन थालेको छ । यस्तो विकराल अवस्थामा नेपालको प्राकृतिक भूबनोट र भू धरातलीय अवस्थामा ठूलो संकट निम्तिन सक्छ । हिमालमा हिउँ रहेन भने, हिम तालहरू विस्फोट भयो भने, सुकेर गए भने हिमाल पहाड र तराई क्षेत्र बन्जर मरुभूमिको रुपमा परिणत हुन सक्छ। त्यस्ता कुराहरूमा हामीले विचार पु¥याउनु जरुरी छ ।
धरतीको तापक्रम निरन्तर बढ्दै गयो भने धर्ती तातिँदै जाने र धर्ती मुनि रहेका पानीको मुहानहरू सुक्दै जाने तथा भू गर्भमा रहेको जलभण्डार सुक्ने खतरा बढ्दै जान्छ । पृथ्वीको तापक्रममा भइरहेको परिवर्तनले पानीमा भन्दा जमिन र जमिनमा भन्दा हिउँले छोपेर रहेको ध्रुवीय एवं हिमाली प्रदेशहरू लाई अझ जोखिममा पार्न सक्ने सम्भावना रहेको देखिन्छ । त्यति मात्र होइन हालका वर्षहरूमा समुद्रका सतहहरूमा पनि लगातार परिवर्तनहरू आउन थालेको छ । समुद्र तातिँदै जानाले समुद्रका सतहहरूमा पानीको सतह अत्याधिक रुपमा बढ्न थालेको र सामुद्रिक टापुहरू तथा समुद्र तटमा रहेका बन्दरगाहहरु तथा भूभागहरू जलमग्न हुने सम्भावनाहरू बढ्न थालेको छ । समुद्र भएका देशहरू भित्रका ठूला भूभागहरू समुद्रमा विलीन हुन सक्दछन् । बाङ्गलादेशको ढाका, माल्दिब्स, जापान लगायतका मुलुकहरूको अस्तित्व नै गुम्ने र ठूलो भूभाग समुद्रमुनि पर्न सक्ने खतरा विद्यमान रहेको छ । त्यति मात्र होइन पृथ्वीको वायुमण्डलमा कार्बन डाइअक्साइड र अन्य केही हरित गृह वायुको मात्रा अप्रत्यासित रूपले बढ्न सक्छ ।
पृथ्वीको वायुमण्डलमा कार्बन डाइअक्साइडको सन्तुलन हरियो वनस्पतिले कायम गर्न मद्दत पु¥याउँदछन् । जीवजन्तु तथा मानिसहरूले सास फेर्दा अक्सिजन लिएर कार्बन डाइअक्साइड बाहिर फ्याँक्छन् । यही लेनदेनको आधारमा धरतीको वातावरणनीय सन्तुलन कायम हुनुपर्ने हो । तर मानिसले आगो बाल्ने कामदेखि लिएर उद्योग धन्दा, यातायात, ढुवानी, विकास निर्माण, विलासिताका लागि कोइला, पेट्रोल, डिजेल, ग्यास लगायतका इन्धनहरूको बढी मात्रामा प्रयोग गरेर कार्बनको बढी उत्सर्जन गर्न थालेको देखिन्छ । त्यस कारणले जलवायु परिवर्तन झन् झन् उग्र रूप लिँदै गएको देखिन्छ ।
अझै पनि मानिसहरूले आफ्नो आवश्यकता र व्यवहारलाई नियन्त्रण गर्न सकेन भने धर्तीका समस्त प्राणीहरू विनाश भएर जाने निश्चित छ । आजको विश्वमा विकासको बाटोमा तीव्ररूपमा अगाडि बढिरहेको भारत र चीनले कोइला परित्याग गर्ने अवस्था छैन । विश्व उष्नीकरण इतिहासमा कार्बन उत्सर्जनमा अहिले सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाले २५ दशमलव ५, पश्चिमेली युरोपले २६ दशमलव ९, चीनले २७ प्रतिशत उत्सर्जन गरी अग्रपंक्तिमा रहेका छन् । २०१६ को तथ्यांक अनुसार एकजना नेपालीले प्रतिवर्ष ० दशमलव २९ मेट्रिक टन कार्बन डाइअक्साइड उत्सर्जन गर्दछ, भने अमेरिकामा १५ दशमलव ५२ मेट्रिक टन उत्सर्जन हुन्छ । उत्सर्जनको तराजुमा एकजना अमेरिकी बराबर ५३ जना नेपाली हुन आउँछ । त्यसलाई कार्बन फुटप्रिन्ट भनिन्छ त्यस अर्थमा चीनको ७ दशमलव ३८ भारतको १ दशमलव ९१ मेट्रिक टन जापानको ९ दशमलव ७० मेट्रिक टन र जर्मनीको ९ दशमलव ४ मेट्रिक टन कार्बन उत्सर्जन भइरहेको देखिएको छ । अहिले हाम्रो वायुमण्डलमा प्रतिवर्ष थपिने कार्बनको मात्रा ५ अर्ब २० करोड मेट्रिक टन भन्दा बढी पुगिसकेको छ । जसमा चीनले १४ दशमलव १ प्रतिशत अमेरिकाले ५ दशमलव ७ प्रतिशत, भारतले ३ दशमलव ४ प्रतिशत युरोपले ३ दशमलव ३९ प्रतिशत कार्बनको उत्सर्जन गरेको छ । अमेरिका, क्यानाडा र जापानले कार्बन उत्सर्जनको ५० प्रतिशत भन्दा बढी कार्बन उत्सर्जन गरिरहेको छ र जलवायु परिवर्तनको दायित्व पनि सोही अनुरुप उनीहरुले बेहोर्नुपर्ने अपेक्षा गर्न सकिन्छ । सन् १९२१ मा बेलायतको ग्लासगो सहरमा २६ औँ वातावरणीय सम्मेलन सम्पन्न भएको थियो, जसमा संसारका २०० मुलुकका २५ हजार व्यक्तिले सहभागिता जनाएका थिए । कार्यक्रमका आयोजक राष्ट्रका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पृथ्वीलाई जोगाउन यो अन्तिम अवसर हो भनेर चेतावनी पनि दिएका थिए ।
युक्त राष्ट्र संघका सेक्रेटरी जनरलले विश्वलाई सचेत बनाउँदै हामी आफ्नो चिहान आफै खन्दैछौं भनेर चिन्ता व्यक्त गरेका थिए । सम्मेलनमा सयभन्दा बढी देशहरूले २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले घटाउने प्रतिबद्धता पनि जनाएका थिए । वन फडानीलाई पूर्णरुपमा अन्त्य गर्ने घोषणा पनि गरेका थिए तर उक्त घोषणाहरू कार्यान्वयन गर्न कुनै पनि देश पूर्णरुपमा लागेको देखिएको छैन ।
विश्व ऊर्जा संक्रमणको अवस्थाबाट गुज्रिरहेको छ । ऊर्जा संकट निकै चुनौतीपूर्ण र बाध्यात्मक पनि हुँदैछ । इरान अमेरिका युद्ध र रूस युक्रेन युद्धले ऊर्जा संकटको अवस्थालाई अझ चिन्ताजनक अवस्थामा पुर्याइदिएको छ । ऊर्जा संकटको अवस्थाबाट सबैभन्दा बढी प्रभावित युरोप र एसियाका मुलुकहरु छन् । बाढी, पहिरो, सुक्खा, डढेलो, अनिकाल जस्ता विश्वव्यापी जलवायु परिवर्तनका आक्रमणहरू नेपालमा पनि प्रारम्भ भइसकेको छ र यसको असरबाट जोगिन नेपाल सरकारले पूर्ण रुपमा प्रयत्न गर्नु र पूर्व सतर्कता अपनाउनु आवश्यक छ ।