इटहरी / सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनापछि आन्दोलन थप जटिल बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा बजार र पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गतका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । आन्दोलन सुनसरीबाट मोरङ हुँदै सिरहा र वीरगञ्जसम्म फैलिन थालेपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।
जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ अनुसार मंगलबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु आदेश लागू गरेको हो । प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार कफ्र्यु अवधिमा तोकिएको क्षेत्रमा कुनै पनि व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाउने छैन ।
प्रशासनले पूर्वमा पकली चोक, पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणमा महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्मको भाग र इनरुवा बजार क्षेत्रलाई कफ्र्यु क्षेत्र घोषणा गरेको छ । सम्भावित अप्रिय घटना रोक्न र शान्ति–सुरक्षा कायम राख्न यो निर्णय गरिएको प्रशासनले जनाएको छ । नागरिकलाई कफ्र्यु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै सुरक्षाकर्मीलाई संवेदनशील क्षेत्रमा व्यापक रूपमा परिचालन गरिएको छ ।
कप्तानगञ्ज गोलीकाण्डको विरोधमा मंगलबार पनि सुनसरीका विभिन्न स्थानमा प्रदर्शन जारी रहेको बताइएको छ । इटहरी उपमहानगरपालिका–२० स्थित पकलीमा प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै टायर बालेर प्रदर्शन गरे । दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीय सडकमा उत्रिएपछि लामो दूरीका सवारीसाधन सञ्चालन प्रभावित भए भने यात्रुहरू घण्टौँ अलपत्र परेका थिए । सुरक्षा अवस्थालाई मध्यनजर गर्दै इटहरीबाट पश्चिमतर्फ जाने सवारीसाधनसमेत रोकिएको थियो ।
यता, हिंसात्मक घटनापछि सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले दुहवीमा सामाजिक एकता ¥याली निकालिएको छ । विभिन्न सामाजिक संस्था, नागरिक समाज र स्थानीय अगुवाको सहभागितामा निकालिएको ¥यालीले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी सम्मान कायम राख्न सबै पक्षसँग आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सर्वपक्षीय बैठकले गरेको निर्णयअनुसार आयोजित ¥यालीमा देवानगञ्ज घटनाका दोषीलाई कानुनी कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरिएको थियो ।
घटनाको प्रभाव सुनसरीमा मात्रै सीमित नरही कोशी प्रदेशको राजधानी विराटनगर र मधेश प्रदेशका विभिन्न जिल्लामा समेत फैलिएको छ । विराटनगरमा आन्दोलनकारीहरूले हनुमान मन्दिरबाट प्रदर्शन सुरु गर्दै ट्राफिक चोक, महेन्द्र चोकलगायतका मुख्य बजार क्षेत्र परिक्रमा गरेका थिए । प्रदर्शनका क्रममा व्यापारीलाई पसल बन्द गर्न आग्रह गरिएपछि अधिकांश बजार बन्द भए र जनजीवन प्रभावित बन्यो । आन्दोलनकारीले बुधहाट चोकमा श्रद्धाञ्जली सभासमेत आयोजना गर्ने कार्यक्रम तय गरेका छन् । सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई बजार क्षेत्र, प्रदर्शनस्थल तथा संवेदनशील स्थानमा बाक्लो रूपमा परिचालन गरिएको छ ।
मधेश प्रदेशको सिरहामा पनि आन्दोलनले प्रभाव पारेको छ । गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वामा प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै निष्पक्ष छानबिन, गोली चलाउने सुरक्षाकर्मीमाथि कारबाही तथा प्रहरी दमन अन्त्यको माग गरेका छन् । उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामासमेत माग गरेका छन् । सोमबार पनि सिरहाका कर्जन्हा, गोलबजार र धनगढीमाई क्षेत्रमा प्रदर्शन भएको थियो । प्रहरी र आन्दोलनकारीबीच छलफल भएपछि केही समयपछि राजमार्ग सञ्चालनमा आएको थियो ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम गर्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।
पार्टी सभापति रवि लामिछानेले विज्ञप्ति जारी गर्दै घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
रास्वपाले कुनै पनि समस्या वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने स्पष्ट गर्दै नेपाली समाजको बहुलवादी संस्कृति, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ ।
पार्टीले साम्प्रदायिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन, अफवाह र उत्तेजनाको पछि नलाग्न तथा शान्ति कायम गर्न आम नागरिक, धार्मिक तथा सामाजिक अगुवा र सरोकारवालासँग अपिल गरेको छ ।
विज्ञप्तिमा सरकारले तत्काल शान्ति–सुरक्षाको अवस्था सुदृढ बनाउन, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ । साथै पीडित पक्षलाई उचित न्याय, क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरिएको छ । रास्वपाले शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा आफू सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थितिलाई सामान्य बनाउन संवादमार्फत समाधान खोज्न आवश्यक सकारात्मक भूमिका निर्वाह गर्ने जनाएको छ । साथै घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल र सम्बन्धित पक्षसँग आग्रह गर्दै आफ्ना स्थानीय समिति र कार्यकर्तालाई पनि शान्ति र सद्भाव कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन दिएको छ ।
गत आइतबार राति देवानगञ्ज–३ कप्तानगञ्जमा बोलबम यात्राका क्रममा दुई समूहबीचको विवाद हिंसात्मक झडपमा परिणत भएको थियो । स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले गोली चलाउँदा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने अन्य नौ जना सर्वसाधारण घाइते भएका थिए । घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।
घटनापछि गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको छ भने सुनसरीका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्तरीय प्रमुखहरूको सरुवा गरिसकेको छ । यद्यपि आन्दोलनकारीहरूले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।
सुरक्षा निकायले अवस्था नियन्त्रणमा लिन थप जनशक्ति परिचालन गरेको जनाएको छ भने स्थानीय प्रशासनले सबै पक्षलाई संयमित हुन, सामाजिक सद्भाव कायम राख्न र कानुनी प्रक्रियामा सहयोग गर्न अपिल गरेको छ । हाल सुनसरीसहित पूर्वी नेपालका केही जिल्लामा सुरक्षा सतर्कता उच्च पारिएको छ ।
मानव अधिकार संगठनको अपिल
इटहरी । नेपाल मानव अधिकार संगठनले सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच भएको विवादका क्रममा गोली चल्दा ओमप्रकाश मेहताको मृत्यु हुनुका साथै २३ जना सर्वसाधारण र सुरक्षाकर्मी घाइते भएको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ ।
संगठनले नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनले धार्मिक स्वतन्त्रताको ग्यारेन्टी गरेको स्मरण गराउँदै सबै समुदायले एकअर्काको आस्था र अधिकारको सम्मान गर्नुपर्ने जनाएको छ । विगतदेखि भइरहेका धार्मिक विवाद, विभेद र निषेधका घटनाप्रति राज्य पर्याप्त संवेदनशील हुन नसक्दा यस्तो अवस्था सिर्जना भएको संगठनको ठहर छ । संगठनले धार्मिक कटुताले देशमा आन्तरिक द्वन्द्व निम्त्याउन सक्ने भन्दै सरकार, राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक अगुवा, सञ्चारमाध्यम र आम नागरिकलाई संयमता अपनाउन, भ्रामक सूचना नफैलाउन तथा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न सहयोग गर्न आग्रह गरेको छ । साथै, मृतक ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारलाई क्षतिपूर्ति, घाइतेहरूको उचित उपचार र घटनामा संलग्न दोषीमाथि तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
स्थानीय तहमा शोक बिदा
इनरुवा÷ सुनसरीका छ वटा स्थानीय तहले शोक बिदा दिएका छन् । आइतबार राति जिल्लाको सीमावर्ती देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गोली लागेर एक जनाको मृत्यु भएपछि उत्पन्न परिस्थितिका कारण इनरुवा नगरपालिकासहित हरिनगर, कोशी, बर्जु, भोक्राहा नर्सिङ र देवानगञ्ज गाउँपालिकाले शोक बिदा दिएका हुन् । देवानगञ्ज गाउँपालिका र इनरुवा नगरपालिकाले दुई दिन तथा हरिनगर, कोशी, बर्जु र भोक्राहा नर्सिङ गाउँपालिकाले एक÷एक दिन स्थानीय शोक बिदा दिएको सूचना जारी गरी जानकारी गराएका छन् । सम्बन्धित स्थानीय तहहरूले जारी गरेको सूचनामा साउन १० गते कप्तानगञ्ज बजारमा भएको दुःखद घटनाप्रति गहरा दुःख व्यक्त गर्दै शोक बिदा दिइएको उल्लेख छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ ।