देश–समाज शिक्षा समाचार स्थानीय

निजी स्कुलबाट पनि अवकासपछि मोटो रकम लिएर निस्कन्छन शिक्षकहरु

झापा, शैक्षिक अध्यापनमा अवकाशपछि पाउने सेवा सुविधाबाट सरकारी सेवामा आकर्षण बढ्दै गर्दा निजी स्तरबाट पनि उर्जाशिल समय विद्यालयमा बिताएका शिक्षक, शिक्षिकालाई मोटो रकम दिन सक्ने वातावरण बनाउन थालेका छन् । जसको उदाहरणीय विद्यालय हो बिर्तामोड–५ को न्युटन्स एजुकेशन एकेडेमी । जसले शिक्षिका मिनु शिवाकोटीलाई २० लाख बढी रकम दिएर अवकास दिएको छ । उनले २१ वर्ष सेवा पुरा गरेर स्वेच्छिक अवकाश लिएकी लिँदा विद्यालयले व्यवस्थापन गरिदिएका विभिन्न शीर्षकबाट रकम लिएकी हुन् । शिवाकोटीले अवकाश कोषबाट साढे ८ महिनाको तलब ३ लाख ४७ हजार ६५०, नागरिक लगानी कोषबाट ८ लाख ३५ हजार १८४, कर्मचारी संचय कोषबाट ७ लाख ५२ हजार र शिक्षक कल्याण कोषबाट ५१ हजार १०८ रुपैयाँ गरी जम्मा २०लाख ८ हजार २२१ रुपैयाँ पाएकी हुन् । सो विद्यालयबाट बिदा हुँदा मोटो रकम पाउने उनी एक मात्र पात्र भने होइनन् सोही विदालयका आइन्द्र सुब्बाले पनि दुई वर्षअघि अवकाश लिँदा साढे १० लाख रुपैयाँ पाएका थिए । शिक्षासेवी हरिकुमार प्रसाई संस्थापक रहेको बिर्तामोड ५ स्थित न्यूटन्स एजुकेशन एकेडेमीले आफ्नो ऊर्जाशील समय बिताएर अवकाश हुने शिक्षकहरुले खाली हात जान नपरोस् भनेर विभिन्न कोषहरुको व्यवस्था गरेको हो । कर्मचारी संचय कोष, नागरिक कल्याण कोष, शिक्षक कल्याण कोष र अवकाश कोषबाट प्राप्त हुने रकमले सामुदायिक विद्यालयका सरह न्यूटन्सका शिक्षकहरु आकर्षक रकम लिएर विदा हुने गरेका छन् ।
२०६० सालमा १५० जना विद्यार्थीबाट न्यूटन्स एजुकेशन एकेडेमी स्थापना भएको थियो । शुरुवाती समयमा केही अप्ठ्यारो भएपनि २०६५ सालदेखि संस्थापक हरिकुमार प्रसाईले विद्यालयका तर्फबाट संचय कोषको व्यवस्था गरेका थिए । त्यस्तै विद्यालयले कमाएको मुनाफाको केही प्रतिशत रकमबाट प्रसाईले अवकाश कोषको स्थापना गरेका थिए । सोही कोषमा प्रसाईले आफ्नो दुई वर्षको तलब सहयोग गरेका थिए ।
अवकाशका बेला त्यति धेरै रकम पाउँदा शिक्षक मिनु शिवाकोटी सन्तुष्ट छिन् । संस्थागत विद्यालयका शिक्षकहरुले खाली हात जानु नपरोस् भनेर शिक्षकको मनस्थिति बुझेर न्यूटन्सले गरेको यस किसिमको व्यवस्था अरु विद्यालयका लागि प्रेरणादायी भएको प्रतिक्रिया दिइन् ।
संस्थागत विद्यालयका शिक्षकको तलब भत्ता सामुदायिक विद्यालयका शिक्षकसरह अनिवार्य व्यवस्था गर्नुपर्ने माग हुँदै आएको छ । संस्थागत विद्यालयमा काम गर्ने शिक्षक कर्मचारीको रेकर्ड अद्यावधिक राख्नुपर्ने र सबै शिक्षक–कर्मचारीका लागि सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने माग हुँदै आएको हो । संस्थागत विद्यालय शिक्षक युनियन ९इस्टु० विभिन्न माग राखी आन्दोलित रहेको छ । शैक्षिक अगुवा रहेका हरिकुमार प्रसाईले तलदेखिका शिक्षकहरुको मर्मलाई बुझेर चार वटा कोषको व्यवस्था गरेको न्यूटन्सका प्रिन्सिपल देवेन्द्र हुमागाँईले बताए । उनले यस किसिमको व्यवस्थाले अन्तिम अवकाश लिने शिक्षकहरुलाई थारै भएपनि राहत मिलेको बताए ।
न्यूटन्सले यी कोषबाहेक शिक्षकहरुलाई पढाई खर्च, सुत्केरी खर्चलगायतका सुविधा पनि दिँदै आएको छ ।न्यूटन्समा १६२ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । त्यसमध्ये ५२ जना स्थायी हुन् । ४ वर्ष सेवा अवधि पूरा गरेपछि स्थायी नियुक्ति दिने गरिएको छ । राम्रो सेवा सुविधा भएकै कारण न्यूटन्सप्रति शिक्षक कर्मचारीहरु आकर्षित भएको बताइन्छ ।

Author

You may also like